कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गाउँलेकै नागरिकता छैन

वृद्धवृद्धासमेत सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको छ
भरत जर्घामगर

सिरहा — नागरिकको पहिचानका लागि नागरिकता प्रमाणपत्र अनिवार्य छ । नागरिकता बिना राज्यको सेवासुविधा प्राप्तिबाट वञ्चित हुनुपर्ने मात्र होइन, जग्गा जमिन लिनसमेत सकिँदैन । तर त्यही नागरिकताविहीन छन् सिरहा शोभापुरका दलित मुसहर ।

गाउँलेकै नागरिकता छैन

४० घरधुरी मुसहर समुदाय बसोबास रहेको बस्तीमा ५० जनाभन्दा बढीको नागरिकता छन् । बस्तीका ४५ वर्षीय शंकर सदाय मुसहर परिवारमा कसैको नागरिकता छैन । उनकी पत्नी, छोरी, छोरा, बुहारी सबै नागरिकताविहीन छन् तर उनीहरू सबै बालिक भइसकेका छन् ।


बुवा शंकरको नागरिकता नभएकै कारण छोराछोरी शिक्षाबाट वञ्चित हुनुपरेको छ । त्यत्तिमात्र होइन, छोरा मैनकाकी श्रीमती परमेश्वरीबाट जन्मिने बच्चाको पनि नागरिकता नहुने पीरलो शंकर परिवारमा परेको छ । गाउँ ब्लक जग्गामा बस्दै आएका उनीहरू ज्याला मजदुरी गरी गुजारा गरिरहेका छन् । नागरिकता नभएकै कारण वैदेशिक रोजगारीमा जानबाट वञ्चित भएको शंकरले सुनाए ।

‘नागरिकता बनाउन धेरैपटक गाउँपालिका कार्यालय र जिल्ला प्रशासन धाएँ,’ शंकरले भने, ‘बुवाको नागरिकता हराएकै कारण मेरो नागरिकता बन्न सकेन, मेरो नबनेपछि सिंगो परिवार नागरिकताविहीन बन्यो ।’


धेरै खर्च भए पनि नागरिकता पाउन झण्झटिलो भएपछि प्रशासन धाउनै छाडिदिएको उनले सुनाए । शंकरको परिवारमात्र होइन बस्तीका ६१ वर्षीय वृद्धवृद्धाको समेत नागरिकता छैन । दलित वृद्ध भत्ता पाउने उमेर पुगेकी ६१ वर्षीया सोमनी मुसहर सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुनु परेको छ । उनी भन्छिन्, ‘नागरिकताका लागि धेरै धाएँ, माइती गाउँ सिन्धुली दुधौलीबाट समेत सिफारिस ल्याए पनि यो मिलेन, त्यो मिलेन भनेर दिएनन् ।’


बस्तीकै ५० वर्षीय सिल्टु सदायको परिवार पनि नागरिकताविहीन छ । ४५ वर्षीया सोनावतीसहित छोरा राजेश, अजय, छोरी रीना नागरिकताविहीन छन् । ‘नागरिकता नभएकै कारण दुवै छोरा भारतको पन्जावमा मजदुरी गर्छन्,’ सोनावतीले भनिन्, ‘छोरी रिना विहैभएर पराया घर गइसकिन् ।’ ससुराको नागरिकता हराएकै कारण आफूहरूको नागरिकता नबनेको सोनावतीले सुनाइन् ।

‘प्रशासन कार्यालय धाउँदा ससुराको नागरिकता रेकर्डमै छैन भन्छन्,’ उनले भनिन्, ‘त्यसपछि कसैको नागरिकता बनेन ।’


शोभापुरमात्र होइन, लहान नगरपालिका १८ भदैयाका ६१ वर्षीय सीताराम सदायको पनि नागरिकताको प्रमाणपत्र छैन ।

२ छोरा लक्ष्मण र राम, छोरी आशाबाट ४ नातिनातिना हुर्किसके पनि उनी नागरिकताविहीन छन् । सीतारामले पटकपटक गापा र प्रशासन धाए तर बन्न नसकेको उनले सुनाए ।


‘हामी पढे लेखेका छैनौं, कर्मचारीले यो कागज पुगेन, त्यो पुगेन भन्छन्,’ ०५९ सालमा पाएको मतदाता परिचयपत्र देखाउँदै सीतारामले भने, ‘मजदुरी नगरी गुजारा चल्दैन, त्यसपछि प्रशासन धाउनै छाडिदिएँ ।’ सिरहाको शोभापुर र भदैयामात्र नागरिकताविहीन दलित मुसहर समुदायको तथ्यांक संकलन गरिरहेको दलित जनकल्याण युवा क्लबका अनुसार जिल्लाको मानिक दह, खपटे डाँडा, सिसवनी, तरेगना, नैनपुरलगायत स्थानका ४ सय मुसहर समुदाय नागरिकताविहीन छन् ।


दलित अधिकारकर्मी उमेश विसुन्के नागरिकता नै नभएपछि ती ठाउँका मुसहर सपनाविहीन, भविष्यविहीन र विगतविहीन बनेको बताउँछन् । ‘बाबु बाजेको नागरिकता सुरक्षित नराखेकै कारण कतिपय वञ्चित छन्,’ उनले भने, ‘हामीले उनीहरूलाई नागरिकता कसरी उपलब्ध गराउन सकिन्छ भन्नेबारे सरोकारवाला निकायसँग पहल सुरु गरेका छौं ।’ उनले जिल्लाभरिमा धेरै मुसहर समुदाय नागरिकताविहीन हुनसक्ने बताए ।


लहान नगरपालिका १५ का अध्यक्ष तेजनारायण चौधरीले आफ्नो वडाअन्तर्गतका शोभापुरलगायत मुसहर बस्तीका धेरैजसो नागरिकताविहीन रहेको बताए । चरम गरिबीको मारमा रहेका मुसहर समुदायलाई सहज नागरिकता प्राप्तिका लागि वडा कार्यालयले पहल गरिरहेको उनले जनाए । नागरिकताविहीन ६१ वर्षीय सीताराम सदाय मुसहर भन्छन्, ‘नागरिकता छैन, हामी भोलिका लागि केही सोच्दैनौं, न पैसा, जे गर्छौ आजै गर्छौ खान्छौ, पिउछौं, आनन्दले बस्छौं ।’

प्रकाशित : वैशाख ७, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?