३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जाँचको सट्टा रकम असुली

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीमा सीमा तथा चेकप्वाइन्टमा जाँचको नाममा प्रहरीले रकम असुलिरहेका छन् । प्रहरीद्वारा माग गरिएको रकम नपाए जाँचको नाममा जन्तीको गाडीसमेत घण्टौं रोक्ने गरेका छन् ।

भारतीय नम्बरका गाडीहरूबाट प्रहरीले रकम असुल्न थालेका हुन् । इन्ट्रीका नाममा सदरमुकाम मलंगवामा रहेको सशस्त्र तथा नेपाल प्रहरीका गोरखकाली चौकीमा रकम तिर्नुपरेको स्थानीयको गुनासो छ । बिहेबारीमा आएको जन्तीको गाडीहरूबाट प्रहरीले रकम असुल्ने गरेको छ ।


रकम नतिर्दा घण्टौंसम्म जन्तीको गाडी राती बोर्डरमै रोकिदिने गरेका कारण स्थानीयले पैसा तिर्नुपर्ने बाध्यता छ । जन्ती आएको गाडी समयमै बेहुलीको घर जानुपर्ने ठाउँमा प्रहरीलाई रकम नदिएकै कारण घण्टौं बोर्डरमा रोकिनुभन्दा कतिपयले सहजै रकम तिरेर जाने गरेका छन् ।


नेपाल भारत सम्बन्ध रोटीबेटीको भएका कारण याहाँको छोरी चेलीको विहे भारतमा पनि हुने गरेको छ । भारतबाट जन्ती आउँदा भारतिय पक्षले नेपालको नियम कानुन नजान्दा सहजै रकम तिर्ने गरेका छन् । यसरी सुरक्षामा खटिएका प्रहरीले रकम असुल्दा नेपालकै बैजती हुने गरेको छ । कतिपय जन्तीले रकम तिर्न नमान्दा सुरक्षा जाँचमा खटिएका प्रहरीले बिहेको भोजबापत भनेर पनि रकम माग्ने गरेका छन् ।


भारतीय नम्बरका गाडी नेपाल आए भन्सार तिर्नुपर्छ । जन्तीमा आएका भारतीय नम्बरका गाडी भन्सार तिरे पनि प्रहरीले रकम असुल्ने गरेको स्थानीय उपेन्द्र झाले बताए । ‘हाम्रोमा बेहुला लिन जानुपर्छ, बेहुला लिएर आउँदा जन्ती आएको भारतीय नम्बरको गाडीको भन्सार कटाएँ तर पनि प्रहरीले मानेन, प्रहरीलाई रकम तिर्नैपर्छ भने,’ झाले भने, ‘रकम नदिंदा प्रहरीले घन्टौंसम्म रोकिदिने धम्की दिए, म पनि आनो अडानमा बसे, अन्त्यमा भोज खानबापत पैसा माग गरे, राति जन्ती सहित बोर्डरमा बस्नुभन्दा केही पैसा तिरेर गन्तव्यतिर लागें ।’ उनले तराईमा डाँकाले डँकैती गर्न छोडे पनि बर्दीमा बसेका प्रहरीले नै डँकैती शैली अपनाएको बताए ।


यता कविलासीस्थित गैर चोकमा रहेको सशस्त्र प्रहरीले पनि जाँचको नाममा स्थानीयसहित जन्तीमा आएको गाडीलाई दुःख दिने गरेको छ । सदरमुकाम मलंगवाबाट दैनिक उपभोग्य वस्तु ल्याए पनि सुरक्षामा खटिएका प्रहरीले सिधै रकम माग्ने गरेको स्थानीयको आरोप छ ।


बिहीबार राति भारतबाट जन्तीको गाडीलाई सशस्त्रको गैर चेकप्वाइन्टको टोलीले रोकेर रकम माग गरेका थिए । जन्तीमा आएका भारतीय गाडीका चालकले रकम तिर्न मानेन । चालकले पैसा नदिएपछि उनलाई डिउटीमा खटिएको टोलीले जान दिएन । घन्टौं जन्तीको गाडी रोकेपछि स्थानीय महिलाहरू प्रहरीप्रति आक्रोशित भएका थिए । त्यसपछि मात्र जन्तीको गाडी छोडिएको थियो ।


भारतबाट आएको गाडीलाई इन्ट्री गरेबापत प्रहरीले पैसा उठाएको पाए कडा कारबाही गरिने प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले बताए । उनले आफू मातहतका निकायलाई कडा निर्देशन दिंदै आएको बताए । ‘प्रहरीले गाडी इन्ट्री गरेबापत रकम उठाएको मलाई खबर आएको छैन, कसैले प्रहरीलाई रकम तिर्नु पर्दैन,’ उनले भने, ‘रकम उठाएको पाए कडा कारबाही गर्नेछु ।’


यता सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठले डिउटीमा खटिएको प्रहरीले गलत काम गरे तुरुन्त करबाही गर्ने जनाए । ‘म स्थानीयहरूलाई पनि भन्दै आएको छु, सशस्त्र प्रहरीको काम कर्तव्य ठीक भएन भने तुरुन्त जानकारी गराउनुस्, म आफैं पनि जागरुक छु,’ उनले भने, ‘गलत काम गरेको थाहा पाए गलत गर्नेलाई तुरुन्त कारबाही हुन्छ ।’

प्रकाशित : वैशाख ८, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?