क्रसिङ सकियो, भुक्तानीमा ढिलाइ

रवीन्द्र उप्रेती

महोत्तरी — रामनगरस्थित एभरेस्ट सुगर मिलले ०७५/७६ को उखु क्रसिङ सम्पन्न भएको जनाएको छ । कारखानको उखु महाशाखाका आनुसार वैशाख ६ गते राति साढे १२ बजेपछि क्रसिङ समाप्त भएको हो । यो पटक मिल ९५ दिन चले पनि पटक–पटक गरि १५ दिन ‘नो केन’ हुँदा क्रसिङ ८० दिन मात्र भएको जनाइएको छ ।

यो वर्ष किसानसँग उखुको मूल्य र भुक्तानी विवादले निर्धारित समयभन्दा एक महिनापछि अर्थात माघ १ गतेदेखि क्रसिङ सुरु भएको थियो । यस अवधिमा ३३ लाख ६४ हजार २ सय क्विन्टल उखु क्रसिङ गरेको जनाइएको छ । यो परिमाण लक्ष्यको करिव १ लाख ५० हजार क्विन्टल घटी हो । यसपाला चिनिको ‘रिकभरी’ ९ प्रतिशतभन्दाबढी रहेको जनाइएको छ । तर कति चिनि उत्तपादन भयो ५ दिनपछि मात्र एकिन हुने उखु महाशाखाले जनाएको छ ।


कारखानाका उखु महाफ्रबन्धक युगलकिशोर चौरसियाका अनुसार यो वर्ष ३५ लाख क्वि क्रसिङको लक्ष्य लिएको छ । गत वर्ष (०७४/७५) ४५ लाख क्वि त्रसिङ भएको थियो । यो वर्ष अन्य जिल्लाका मिल सञ्चालकबीच क्षेत्र बाँडफाँड भएपछि उखु आपूर्ति कम भएकाले लक्ष्य पनि घटेको चौरसियाले जनाए ।


अघिल्लो वर्षसम्म प्रतिस्पर्धामा एभरेस्टले महोत्तरीलगायत सर्लाही, रौतहट, धनुषा, सिरहा र बारासम्मबाट उखु आपूर्ति गर्दै आएको थियो । बाँडफाँडमा भने एभरेस्टको भागमा महोत्तरी र सलाहीको फूलजोरदेखिको पूर्वि क्षेत्र मात्र परेकाले गत वर्षको तुलनामा क्रसिङ लक्ष्य घटेको चौरसियाले जनाए ।


यो वर्ष मिला ढिलो सञ्चालन भएको कारण कतिपय किसानले अन्यत्र उखु खपत गरिसकेका थिए । उत्तरार्द्धमा आएर प्रतिकूल मौसमका कारण उखु आपूर्तिमा थप समस्या पर्‍यो । पटकपटक ‘नो केन‘ को स्थिति आयो । यी सब कारणले घटेको लक्ष्यबमोजिम पनि क्रसिङ हुन नसकेको उनले जनाए ।


यता क्रसिङ सिजन समाप्त भए पनि कारखानाले खरिद गरेको उखुको भुक्तानी नदिएको भन्दै अगुवा कृषकले असन्तुष्टि पोखन थालेका छन् । कारखानाले प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँको दरले अहिलेसम्म २ लाख १५ हजार क्विन्टल उखुको मात्र झुक्तानी दिएको छ । यो माघ ९ गतेसम्म त्रसिङ गरेको उखुको भुक्तानी हो ।


उखु उत्पादक महासंघका केन्द्रीय सदस्य महाशंकर थिङले ढिलो भुक्तानीले किसान अधैर्य हुँदै गएको बताए । कान्तिपुरसँग शनिबार अपराह्न कुरा गर्दै उनले निर्धारित समयमा भुक्तानी नदिनु समझौताको उल्लंघन भएको प्रतिक्रया दिए । महासंघ र चिनी उत्पादकवीच गत वर्ष नै उखु खरिद गरेको ४५ दिनभित्र किसानलाई भुक्तानी दिनुपर्ने सम्झौता भएको छ ।


तर चिनी मिलहरूले विभिन्न समस्या निकालेर समझौताअनुसार भुक्तानीमा आलटाल गर्दै आएको थिङको आरोप छ ।

‘भुक्तानीमा ढिलाइ राम्रो संकेत हैन’ उनले भने ‘समस्याग्रस्त किसानको असन्तुष्टिलाई धेरै बेर थेग्न सकिंदैन ।’

प्रकाशित : वैशाख ८, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?