१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ओरालो लाग्दै भन्सार असुली

शंकर आचार्य

पर्सा — राजस्व संकलनको दृष्टिले मुलुककै अग्रणी वीरगन्ज/आईसीपी भन्सार कार्यालयले चैत महिनामा लक्ष्यअनुरूपको राजस्व संकलन गर्न सकेन । अन्य महिनाको तुलनामा चैत महिनामा झन् कम राजस्व यो भन्सारले संकलन गरेको छ ।

ओरालो लाग्दै भन्सार असुली

भन्सार कार्यालयको तथ्यांकअनुसार, चैत महिनामा १५ अर्ब ४४ करोड ४५ लाख २७ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा १० अर्ब १ करोड ३ लाख ७८ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ । जुन लक्ष्यको ६४ दशमलव ८२ प्रतिशत मात्र हो ।

संकलित राजस्वमा भन्सार शुल्कबाट ३ अर्ब ६७ करोड, मूल्य अभिवृद्धि करबाट ४ अर्ब ५४ करोड, अन्तःशुल्कबाट १ अर्ब १८ करोड, पूर्वाधार करबाट ६९ करोड ३० लाख, अग्रिम आयकरबाट ५३ लाख ७६ हजार र स्वास्थ्य जोखिम करबाट १९ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

गत आवको यसै अवधिमा यो भन्सारले १० अर्ब ४६ करोड २१ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । जुन लक्ष्यको ८६ दशमलव ५० प्रतिशत थियो । उक्त महिनामा १२ अर्ब ९ करोड ५३ लाख १८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य यो भन्सारले पाएको थियो । यसरी चालु आवको चैत महिनामा गत आवको चैतभन्दा पनि कम राजस्व संकलन भएको देखिन्छ ।

कार्यालयका सूचना अधिकृत मनीष महतोका अनुसार, चालु आवको चैत महिनामा गत आवको चैत महिनाको तुलनामा ३० प्रतिशतले आयात घटेको छ । ‘तुलनात्मक रुपमा १९ अर्ब रुपैयाँ कमको मालबस्तु आयात भएका छन्,’ उनले भने, ‘चालु आवमा समग्रमा आयात बढेपनि चैत महिनामा भने आयातनै कम भएको देखिन्छ ।’

भारतमा चुनाव परेको, चीनमा एक महिना नया वर्ष परेको, इसिटिएस प्रणाली लागु भएपछि नाका परिवर्तन भएर सिर्सिया सुक्खा बन्दरगाह तर्फ आयात डाइभर्ट भएको लगायतका कारण हुन सक्ने उनले बताए । ‘चैत महिनामा कूल आयातनै घटेको छ, मोटरसाइकल, जिप,कार,भ्यान, फलाम आदिको आयात क्रमशः घटेको छ,’ उनले भने, ‘यी बस्तुले राजस्वमा ठूलो भूमिका खेल्छन्, यिनकै आयात घटेपछि राजस्व घट्नु स्वाभाविक हो ।’

चालु आर्थिक बर्षमा चैत महिना सम्ममा राजस्व संकलन भने मासिक राजस्वभन्दा केही सन्तोषजनक रहेको उनले बताए । चैत महिना सम्ममा १ खर्ब २३ अर्ब ५५ करोड ६२ लाख ११ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको यो भन्सारले १ खर्ब ११ अर्ब ३० करोड १८ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । जुन लक्ष्यको ९० दशमलव ८ प्रतिशत हो ।

प्रकाशित : वैशाख ८, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?