कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीपले आत्मनिर्भर बन्दै किशोरी

पर्सा — छठी कुमारी मंडल १७ वर्षकी भइन । जय किशोरी संवाद किशोरी टेलर्स चलाई रहेकी उनी अन्य किशोरीलाई पनि आफ्नो सीप सिकाएर आत्मनिर्भर बनाउने प्रयास गर्दै छिन् । 

घरायसी कारणले कक्षा ८ सम्म पढेर पढाई छाड्नु परेका उनको हातमा कपडा सिलाइ गर्ने सीपले आत्मविश्वास बढाएको छ । ७ जना दिदी बहिनी मध्ये पाचौ नम्बरकी उनले मजदुरी गरेर परिवार चलाउने बुवालाई पनि सघाई रहेकी छन् । कुर्ता सलवार, पेटिकोट, ब्लाउज, पाइन्ट, सर्ट, कट्टु, जामा आदि सहजै सिउन सक्ने उनी अन्य किशोरीहरूलाई निःशुल्क यो शिप सिकाई रहेकी छन् ।


उनलाई आत्मनिर्भर बनाउने भूमिका खेल्यो उनको टोलमै संचालित किशोरी संवाद कार्यक्रमले । समूहमा २५ जना स्थानीय किशोरीहरू सहभागी भएर आआफ्ना अनुभव, भोगाई, समस्या आदिबारे छलफल गर्न थालेपछि उनलाई संवादका सदस्यहरूले कपडा सिलाउने टेलर्स चलाउन सुझाव दिए ।


छठी पनि आत्मनिर्भरताले आफ्नो आत्मविश्वास पलाएको बताउछिन् । ‘मेरो पढाई पनि छुटेको थियो, घरको आर्थिक अवस्था पनि कमजोर थियो,’ उनले भनिन्, ‘अहिले कमाएर बुवालाई पनि सघाउने भएकी छु आशा छ आउदा दिन अझै राम्रो हुँदै जानेछन् ।’ किशोरी संवाद कार्यक्रम संचालन गरेको संस्था नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले छठीलाई टेलर चलाउन सिलाई मेसिन, आइरन, कैंची, स्केल, कुर्सी आदि सहयोग स्वरुप उपलब्ध गराई दिएको छ ।

संस्थाकी पर्सा बारा कार्यक्रम संयोजक भगवती शर्मा भण्डारीले १ बर्षको प्रयास पछि किशोरीहरूको सोंच र व्यवहारमा निक्कै परिवर्तन आएको बताइन् । संवादको माध्यमबाट पनि धेरै समस्या र कुरीतिहरू बिरुद्ध संघर्ष गर्न र समस्याहरूको समाधान गर्न सकिने र किशोरी र उनीहरूका परिवारका सदस्यको सोच र मानसिकता परिवर्तन गरी उनीहरूलाई स्थानीय सरकारले उपलब्ध गराउने सेवा सुविधा बारे जानकार बनाउने देखि आफ्नो हकअधिकार खोज्न सक्षम बनाउने प्रयास संस्थाले गरी रहेको उनले बताइन् ।


‘संवादको माध्यमबाट बाल विवाह न्यूनीकरण गर्ने, विद्यालय जान छाडेका किशोरीहरूलाई पुनः विद्यालयसँग जोड्ने, घरेलु हिंसा न्युनिकरण, दाइजो लगायत बिभिन्न कुरीति बिरुद्ध सचेत गर्ने र तीनै किशोरी मार्फत उनीहरूका अभिभावकहरूलाई पनि सचेत गर्ने प्रयास गरिदैं छ,’ उनले भनिन्, ‘छठीमा आत्मविश्वास र समर्पण दुबै भएकाले उनी छिट्टै आत्मनिर्भरता तर्फ उन्मुख भएकी हुन् ।’

प्रकाशित : वैशाख ८, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?