कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विस्थापित हुँदै टाँगा मजदुर

ई–रिक्सा र टेम्पो बजारमा छ्यासछ्यास्ती पाएपछि यात्रुले टाँगातिर आँखै लगाउँदैनन्
शिव पुरी

रौतहट — दुई दशकअघिसम्म जिल्लामा एउटै ई–रिक्सा र टेम्पो थिएन । त्यतिबेला छोटो दूरीमा आउजाउको मुख्य साधन टाँगा थियो । टाँगा मजदुरको सवारीमा एकछत्र हालिमुहाली हुन्थ्यो । यात्रुको चापसँगै आम्दानी पनि मस्त थियो । एउटा मजदुरलाई दिनभरि टाँगा चलाएर जीविका चलाउन कुनै समस्या थिएन । 

विस्थापित हुँदै टाँगा मजदुर

अब समय बदलियो । जिल्लाभरि ई–रिक्सा र टेम्पो बिगबिगी छ । छोटो यात्राका लागि अहिले यिनको हालिमुहाली देखिन्छ । टाँगा प्रायः विस्थापित भए । यसका व्यवसायी पलायन हुनै लागे । तर २० वर्षदेखि यही पेसा अँगालेका शेख जमिनले भने टाँगा दौडाउन छाडेका छैनन् । घोडासित उनको दोस्ती अझै हटेको छैन ।


गौर नगरपालिका ५ का जमिन अहिले पनि सदरमुकाममा टाँगा दौडाइरहेको भेटिन्छन् । दिनभरि यात्रु यताउता गर्छन् । त्यसका लागि घन्टौंसम्म कुर्नुपर्छ । टेम्पो र ई–रिक्सा नपाएपछि मात्र यात्रु टाँगातिर आँखा लगाउने उनले बताए । मानिसहरू टेम्पो र ई–रिक्साप्रति आकर्षित भएका छन् । घोडाको मद्दतले चल्ने टाँगामा चढ्न मान्दैनन् ।


२० वर्षअघि गौर, गरुडा, शिवनगरलगायत जिल्लाभरि झन्डै ३ सयको हाराहारीमा टाँगा चल्थे । अहिले १२ वटामात्र छन् । सबै विस्थापित भएको जमिनले सुनाए । उनले ०५५ सालमा एउटा घोडा किनेर टाँगा चलाउन सुरु गरेका हुन् । त्यसबेला दिनमा २/३ हजारसम्म कमाई भएको जमिनले बताए । ‘अहिले दिनभर हजार कमाउनै मुस्किल छ,’ उनले भने, ‘ई–रिक्सा र टेम्पोका कारण सबै टाँगा मजदुर विस्थापित भए ।’


पेसाको साथै व्यवसायीको जीवन पनि संकटमा परेको छ । सबैले पेसा छाडे पनि उनले हिम्मत हारेका छैनन् । एउटा टाँगामा ६ जना यात्रु बस्छन् । गौरबाट भारतको बैरगनियासम्म पुग्न टाँगा चल्तीको सवारी हुन्थ्यो । त्यस बेला ३ रुपैयाँ भारु (४ रुपैयाँ ८० पैसा नेपाली) भाडा थियो ।


अहिले एक जना यात्रुलाई २० रुपैयाँ भारु (३२ रुपैयाँ नेपाली) पर्छ । पहिला १० हजारमा एक जोडा घोडा आउँथ्यो । अहिले ३० हजारभन्दा बढी पर्ने जमिनले सुनाए । बैरगनिया बजार पुग्न टाँगाको लाइन बाटाभरि हुन्थ्यो । सबै विस्थापित भए । त्यसबेलाका झन्डै ३ सय मजदुर विस्थापित छन् । उनीहरू सबैले घोडा बेचे । काठबाट बनेको टाँगा त्यत्तिकै घरछेउ अडिएका छन् ।


लामो समयदेखि टाँगा चलाएका जमिनका ८ छोरा छन् । ३ छोरा विवाह गरेर अलग बसेका छन् । अहिले घरमा ५ छोरा श्रीमती र नाति गरी १० जनाको परिबार छ । टाँगा व्यवसायले उनको परिवारको जीवन धानेको छ । सम्पत्तिका नाममा २ कठ्ठा घडेरी मात्र छ उनको । पछिल्लो समय जिल्लाभरि ई–रिक्सा र टेम्पोको दबदबा छ ।


यसलाई व्यवस्थित गर्न नसके समस्या हुने अर्का व्यवसायी राम एकवाल साहले बताए । ‘हामी त लगभग विस्थापित भइसक्यौं,’ उनले भने, ‘बढ्दो ई–रिक्सा र टेम्पोमाथि अंकुश लगाउन सकिएन भने ठूलो समस्या निम्त्याउन सक्छ ।’ टाँगाभन्दा छिटो र आरामदायी यात्रा हुने हुँदा यात्रु यतै लाग्छन् । पछिल्लो समय पाइडल रिक्सा र टाँगा व्यवसायी मारमा परेको उनले बताए ।


भारतीय टेम्पोको रजगज

सदरमुकाम गौरमा चल्ने भारतीय टेम्पोले नेपाली व्यवसायी मारमा परेका छन् । भन्सार राजस्व नतिरी नेपाली भूमिमा यात्रु ओहोरदोहोर गराउने भारतीय टेम्पुका कारण नेपाली मजदुर थप मारमा परेका हुन् । स्थानीय प्रशासनले पटकपटक रोक लगाउन खोजे पनि सकेको छैन । गौरमा ५० भन्दा बढी यस्ता टेम्पो सञ्चालित छन् । उनीहरू भारतको बैरगनिया बजारबाट यात्रु ओसारपसार गर्छन् । यही कारण नेपाली मजदुर मारमा परेका हुन् ।


भारतीय सवारीभन्दा महँगोमा नेपाली नम्बरका टेम्पु तथा ई–रिक्सा किनेका यातायात व्यवसायी यात्रु अभावमा दैनिक गुजारा गर्नसमेत अप्ठ्यारोमा परेका छन् । सदरमुकाममा निर्वाध चलिरहेका भारतीय टेम्पुलाई कानुनी दायरामा ल्याउन सके दैनिक ३० हजारभन्दा बढी राजस्व उठ्छ ।


भन्सार नियमअनुसार एक भारतीय टेम्पुले नेपाल प्रवेशका लागि ३ सय ३९ रुपैयाँ प्रत्येक दिन भन्सार तिर्नुपर्छ । दैनिक १० पटकसम्म यात्रु र सामान बोकेर बैरगनियाबाट गौर ओहोरदोहर गर्ने टेम्पुलाई कानुनी दायरामा ल्याउन सकिएको छैन । यातायात व्यवस्था ऐन २०४९ बमोजिम विदेशी नम्बरका सवारीले भन्सार राजस्व नतिरी नेपालमा

यात्रु ओसार्न पाउँदैनन् ।

प्रकाशित : वैशाख ९, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?