कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

हुरीहुन्डरी पीडित : मनाङको राहत बारामा 

पूर्णक्षति भएको परिचयपत्र प्राप्त गाउँका १ सय १० पीडित परिवारले १५ सय नगदै हात पारे
पवन यादव

सिमरा — हुरी प्रभावित गाउ बाराको फेटा ६ पुरैनियामा राहत नपाउने कोही छैन । धेरथोर गरेर सबैले राहतस्वरूप चामल, दाल, नुन, तेल, लत्तकपडा, भाँडाकुँडा, ओत लाग्ने टेन्ट, त्रिपाल सबैले पाएका छन् ।

हुरीहुन्डरी पीडित : मनाङको राहत बारामा 

यसअघि पाएको राहत खानका लागि पर्याप्त छ । तरकारी, औषधिलगायत दैनिक उपभोग्य वस्तु किन्ने पैसाको भने खाँचो छ । पाएको राहतलाई जोगाउनै मुस्किल भएको स्थानीय पीडितले बताए ।


हवाहुन्डरीपीडित सोवायब खातुनले आइतबार भने फरक खाले राहत पाइन् । प्रायः सबैले जिन्सी राहत दिने गरेकामा आइतबार नगदै वितरण गरिएको थियो । हावाहुन्डरीले पूर्ण रूपमा क्षति व्यहोरोका पीडितले गाउँपालिकाबाट पाएको परिचयपत्रको आधारमा प्रतिपरिवारले १ हजार ५ सय रुपैयाँ नगद पाएका छन् ।


पूर्णक्षति भएको परिचयपत्र प्राप्त गाउँका एक सय १० पीडित परिवारले नगद हात पारेका हुन् । यस्तो नगद राहत लिएर आए, हिमालपारिको जिल्ला मनाङवासी । बाराका हावाहुन्डरी पीडितका लागि आइतबार नगद राहत लिएर मनाङबासीको एउटा टोली पुरैनियामा आइपुगेको थियो ।


मनाङवासीले खोलेको सामाजिक संस्था मनाङ समाज सेवा, मनाङ मर्स्याङग्दी क्लब, ङिश्याङ मनाङ ओमेन सोसाइटीले संकलन गरेको नगद वितरण गर्न उनीहरू गाउँमै पुगेका हुन् । भूकम्पपीडितले तत्कालीन अवस्थामा झेलेको आर्थिक समस्यालाई स्मरण गर्दै मनाङवासीले बाराका हावाहुन्डरीपीडितको तत्कालीन आवश्यकतालाई महसुस गर्दै नगद उपलब्ध गराएको बताइएको छ ।


राहतको नाममा अधिकांश संघसंस्थाले त्रिपाल, चाउचाउ, बिस्कुट, पानी, चामल, भाँडाकुँडा दिन्छन् । ‘दैनिक आवश्यकता पूरा गर्न पीडितलाई थोरै नगद पनि सहयोग गर्नुपर्छ भनी कसैले सोची दिएनन्,’ गाउँकै अर्का पीडित जोहरा खातुनले भनिन्, ‘नगद अभावले हामीलाई धेरै पिरोल्यो ।’ आँखाअगाडि खानेकुरा बिक्री हुन्छ । मनले खाउखाउ लाग्छ र त्यसलाई किन्न गोजीमा सुको हुँदैन । त्यो बेलाको पीडा कसरी बखान गर्ने ? नराम्ररी चित्त दुख्छ ।


तर त्यो दुःखमा मनाङबासीले महलम लगाइदिएको उनले बताइन् । घटनाको २१ औं दिनमा मनाङ टोली नगद पुर्‍याउन आफ्नै घरदैलो आइपुगेकामा उनले खुसी व्यक्त गरिन् । नगद सहयोग गर्ने सहयोगी हातलाई उनले पूरै गाउँलेको तर्फबाट धन्यवादसमेत दिइन् ।


५२ वर्षीया जोहराका पत्ति बोबारक मिया अहिले पनि अस्पतालमा उपचार गराइरहेका छन् । उनी अहिलेसम्म घर फर्किन सकेका छैनन् । उनको बाया खुट्टा काटिएको छ । घरले थिचिएर जोहराको पनि बाया हातको हड्डी टुटेको छ । उनी पनि उपचारकै क्रममा छिन् ।


हावाहुन्डरीका बेलामा तयार गरिएको तथ्यांक गडबड रहेकाले राहत वितरणमा समस्या भएको फेटा ६ पुरैनियाका अध्यक्ष जाकिर हुसेन मियाले बताए । ‘पहिलाको तथ्यांकमा पूर्णक्षति भएका परिवारलाई आंशिक भनेर परिचयपत्र दिइएको छ,’ उनले भने, ‘केही आंशिक क्षति भएकालाई पूर्ण भनिएको छ ।’


यसले राहत वितरण गर्ने बेला सामान्य विवाद उत्पन्न गर्ने गरेको छ । अर्कोतिर राहत पाउनुपर्ने व्यक्तिले पाउँदैन । नपाउनेले पाइराख्ने गरेको उनले बताए । स्थानीय प्रशासन, केन्द्र र प्रदेश सरकारका प्रतिनिधि, कृषि कार्यालयका प्रतिनिधि, पालिका प्रमुखसहितको टोलीले निष्पक्ष रूपले तथ्यांक संकलन गरिनुपर्ने आवश्यकता उनले औल्याए ।


वडा कार्यालयको तर्फबाट स्थानीय शिक्षकलाई खटाएर नयाँ तथ्यांक संकलन गर्न तयारी गरिएको उनले जनाए ।

हिमालपारिको जिल्लाबाट हावाहुन्डरी प्रभावित गाउँमा पीडितलाई राहतको मल्हम लगाउन आइपुगेको टोलीलाई उनले हृदयदेखि धन्यवाद दिए । पीडितलाई भएको नगदको खाँचोलाई हटाउन मनाङबासीले ठूलो सहयोग गरेको उनी बताउँछन् ।


जिल्ला तथा राजधानी काठमाडौंमा जिल्लावासीबाटै राहत सहयोग संकलन गरेर ल्याएको मनाङ समाज सेवा समितिका विनोद थपलियाले जानकारी दिए । प्रभावित क्षेत्र फेटाका १, ३ र ६ नम्बर वडाका पूर्ण क्षति भएका ५ सय परिवारलाई पुग्ने गरी नगद ल्याएर वितरण गरिएको उनले जनाए । मृतक परिवारलाई प्रतिमृतक ५ हजारका दरले नगद उपलब्ध गराइएको छ ।


हर्दियामा हितेरी फाउन्डेसन

पर्सा (कास)– हितेरी फाउन्डेसनको सहयोगमा गैरसरकारी संस्था भोलेन्टियर कोर नेपालले हावाहुरी प्रभावित बाराको सुवर्ण गाउँपालिका ४ हर्दियाको राम टोलमा राहत वितरण गरेको छ । संस्थाका पदाधिकारीसहितको टोलीले शनिबार रामटोलस्थित ६४ घरधुरीलाई लत्ता कपडा वितरण गरेको हो ।


हावाहुरी अत्यन्त प्रभावित तथा राहत कम पुगेको बस्ती छनोट गरी संस्थाले यो पहल गरेको जनाइएको छ । ‘यहाँ राहत कम पुगेको र प्रभावितको आर्थिक तथा सामाजिक अवस्था पनि कमजोर रहेको छ,’ संस्था अध्यक्षले भने, ‘त्यस कारण हामीले राहत वितरण गर्न यो बस्ती छानेका हौं ।’


बस्तीमा खानेपानीको स्रोत चापाकल पनि अभाव रहेको र अधिकांश बस्तीको चापाकल हावाहुरीले क्षति पुर्‍याएको थियो । यस्तो खबर थाहा पाएपछि बस्तीलाई लक्षित गरी तत्काललाई एउटा चापाकलसमेत संस्थाले निर्माण गर्ने भएको छ ।


बस्तीमा रहेको शिक्षा, स्वास्थ्यका समस्या समाधान गर्ने तथा स्थानीयलाई सीप र आयमूलक तालिम दिई आत्मनिर्भर बनाउने गरी दिगो राहत दिने योजना लिएर आएको एक पदाधिकारीले बताए । बस्तीको जीवनयापनमा सहयोग गर्ने र उनीहरूको समग्रमै जीवनस्तर उकास्ने खालका दीर्घकालीन कार्ययोजना गर्ने घोषणासमेत गरिएको छ ।

प्रकाशित : वैशाख ९, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?