कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

फोहर व्यवस्थापन माग्दै नगरपालिका घेराउ

फोहरमैला व्यवस्थापन कार्यालयले दुर्गन्ध बढाएको विरोधमा हातमा झाडु लिएर प्रदर्शन
भरत जर्घामगर

सिरहा — लहान नगरपालिका ४ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा नियमित फाल्दै आएको फोहरले दुर्गन्ध बढाएको भन्दै स्थानीयले सोमबार झाडुसहित नाराबाजी गर्दै नगरपालिका कार्यालय घेराउ गरेका छन्  । विहान १० बजेदेखि हातमा झाडु लिएका महिला–पुरुषले अपराह्नसम्म कार्यालय घेरेका थिए  ।

फोहर व्यवस्थापन माग्दै नगरपालिका घेराउ

नगरपालिकाले नगरक्षेत्रबाट दैनिक रूपमा संकलित फोहर ४ नं. वडास्थित खुट्टिखोला किनारको १२ बिघा जग्गामा निर्मित फोहरमैला व्यवस्थापन केन्द्रमा फाल्दै आएको थियो । तर, वडावासीले बिहीबार फोहरमैला केन्द्रको मूलगेटमा ताला लगाएपछि कर्मचारीले गेटमै फोहर फालिदिएका थिए ।

उनीहरूले आइतबार फोहर लिएर गएको ५ वटा ट्रयाक्टरमा समेत फोहोर फाल्न अवरोध गरेपछि चालक र सरसफाइ कर्मचारीले ट्रयाक्टर त्यही छाडिदिएका थिए । फोहरमैला व्यवस्थापन केन्द्रको गेटमा फालिएको फोहरले मानव बस्तीमा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले सोमबार झाडुसहित नगरपालिका कार्यालय घेराउ गरेका हुन् ।

‘फोहरको दुर्गन्धले बसिनसक्नुभयो,’ झाडुसहित घेराउमा उत्रिएकी लहान नगरपालिका ४ की उर्मिलादेवी पण्डितले भनिन्, ‘कुकुरले समेत फोहर बोकेर बस्ती छिर्दा बस्ती नै दुर्गन्धित भएको छ ।’ बस्तीकैं ६० वर्षीया सुकमैर मण्डलले ५ दिनदेखि गेटमै फालिएको फोहरको दुर्गन्धले बस्तीमा बसिनसक्नु भएको बताइन् । ‘बजारभरिको फोहर हाम्रो ठाउँमा फाल्ने,’ उनले भनिन्, ‘अनि बजारभरिको फोहरको दुर्गन्ध हामीले सहनुपर्ने, अब फोहर फाल्न दिदैनौं ।’

नगरक्षेत्रबाट दैनिक रूपमा १० क्विन्टल फोहर संकलित हुन्छ । वडा ४ स्थित फोहरमैला व्यवस्थापन केन्द्र निर्माण नहुँदा बजारको पूर्वी छेउमा अवस्थित बलान र खुट्टी नदी वरपर नगरपालिकाले फाल्दै आएको थियो । तर, तारबार घेरासहित नगरपालिकाले लगानी गरी फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरेपछि नियमित रुपमा सोही केन्द्रमा फोहर व्यवस्थापन गर्दै आएको थियो ।

केन्द्र परिसरमा लहान नगरपालिकाको ४ नम्बर वडाको कार्यालयसमेत छ । ४ वडावासीले केन्द्रमा फोहरमैला फाल्न नदिने र फाले संघर्षमा उत्रिने चेतावनी दिएका छन् । वडाध्यक्ष रामनाथ पण्डितले दुर्गन्ध बढेपछि स्थानीय अवरोधमा उत्रिन बाध्य भएको बताए ।

प्रकाशित : वैशाख १०, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?