१२ फिट लामो टुपी

भरत जर्घामगर

सिरहा — मानिक दहका त्यागी विष्णु दास बाबाको सय वर्ष पूरा गरेको बताउँछन् । उनको टुपी भने १२ फिट लामो छ । उनी बाबा सूर्यदेव यादवबाट त्याग, तपस्यापछि ‘विष्णु बाबा’ मा दरिएका हुन् ।

१२ फिट लामो टुपी

धनुषा, कलुवामारका उनी २५ वर्षको उमेरदेखि त्याग, तपस्या, आरधनामा हिँड्दै पछिल्लो ४० वर्षदेखि मानिक दह महादेव मन्दिरमा सहयोगीका साथ बस्दै आएका छन् । पौराणिक मानिक दहको डिलमा पाका वृक्षले घेरिएको महादेव मन्दिर परिसरमा उनको आश्रम छ । विभिन्न प्रजातिका वनस्पतिको वृक्ष ४० वर्षअघि उनैले रोपेर हुर्काएका हुन् ।


बिहान ३ बजे प्रातकालमा ब्युझेपछि उनको अध्यात्मिक कर्म सुरु हुन्छ । एक घण्टा नित्य कर्मपछि उनी बिहान ६ बजेसम्म ध्यानमा हुन्छन् । बिहान ९ बजेसम्म मन्दिरमा पूजापाठपछि उनी बुढ्यौली शरीरलाई भजनकीर्तनमा लगाउँछन् । जाडो होस वा गर्मी, हरेक बिहान उनी मानिक दहमा डुबुल्की मार्छन् । दिनमा भोजनपछि उनै सहयोगी शिष्यहरूसँग गफिन्छन् । साझ ३ घण्टा भजनकीर्तनमा रमाउँछन् । राति २ घण्टा ध्यानमग्न पछि उनी विश्राम लिन्छन् । ११५ वर्षे उमेरसम्म पनि उनी कहिल्यै बिरामी परेका छैनन् । उनी भन्छन्, ‘यो ध्यान, तपस्या र आरधनाको प्रतिफल हो ।’ अहिलेसम्म उनी ठमठमी हिड्छन् ।


त्यसो त उनको तपस्या लीलाको अनौठो कहानी छ । आफु बालकै छदा बुबा अनुप अधिकारी यादव र आमा गिरिजादेवीको निधन भयो । उनका बुबाको डेढ बिघा जग्गा थियो । बालकैमा बुबाआमाको निधनपछि काका खटरले हुर्काए । पछि जग्गा जमिन उनै काका छोरालाई छाडेर उनी तपस्यामा निस्किए ।

‘सानैदेखि मन्दिर, कुटीमा साधुसन्तकोमा गएर रमाउथेँ,’ उनले भने, ‘भागेर कुटी जान्थे“, काकाहरू आएर घर लैजान्थे ।’ यो क्रम धेरै वर्षसम्म चल्यो । २५ वर्षको भएपछि बिहेको कुरा चल्न थाल्दा घर छाडेर तपस्याका लागि भागेको उनी बताउँछन् । उनी सिरहाको उत्तरवर्ती घना चुरे जंगल क्षेत्रको चिसापानीमा भालु बाबाको शरणमा पुगेका थिए । चिसापानीमा भालु बाबा तपस्यामा बसेका थिए ।

पछि त्यो ठाउँको नाम भालु खोला रहन गयो । उनी ७ वर्षसम्म भालु खोलाको चिसोपानीमा बाबासँगै तपस्यामा बसे । त्यसपछि तपस्वी क्रम अझ बढेको उनी सुनाउँछन् । भारतको त्रिशुला पुगेर दुई वर्ष अग्नि तपस्या गरे । गर्मी महिनामा चारैतिर आगो बालेर बीचमा बसी उनी तपस्या गर्थे । भारतकै हाजिपुरमा १२ वर्षसम्म पानीमा टाड बनाएर ध्यानमा लीन भए ।

अग्नि र चिसोपानीको कठोर तपस्यापछि शिष्य र भक्तजनलाई उनले १२ सय मन चामलको भण्डारा खुवाए । भारतको त्रिशुला, ललमनिया, लदनियालगायत नेपालको पत्थगाढा, खप्टेडाडा, विष्णपुरा ७ स्थानमा उनका कुटी छन् । पछिल्लो ४० वर्षदेखि मानिक दह आश्रममा बस्दै आएका उनका अनगिन्ती शिष्य छन् ।


तिनै शिष्यले पठाएको अन्न पानी अहिले पनि उनका आश्रम पुग्ने भक्तजन, तीर्थयात्रीलाई निःशुल्क भोजन गराउँछन् । हरेक वर्ष चैत ३० देखि वैशाख १ गतेसम्म उनी मानिक दह मेला आउने भक्तजनलाई भोजन गराउँछन् । त्यसैगरी गरिब, असहायलाई आश्रममा लक्ष्मीपूजालगायतका पर्वहरूमा भोजन गराउँछन् । गरिब, असहाय र तीर्थयात्रीलार्ई भोजन गराउन पाउँदा खुसी लाग्ने उनले बताए ।


अध्यात्ममा लागेदेखि अयोध्या, बद्रीनारायण, रामेश्वर आश्रममा बसिसकेका उनी अध्यात्मले समाजलाई विखण्डन हुनबाट जोगाउने र सामाजिक मर्यादा कायम गराउन सहयोग पुग्ने बताउँछन् । ‘ध्यान र तपस्या हरेक मानवका लागि अत्यावश्यक छ,’ उनी भन्छन्, ‘नियमित ध्यान र तपस्याले अलौंकिक संसारमा पुर्‍याउँछ ।’ नागरिकताको प्रमाणपत्रहरूसमेत नबनाएका उनले पाको उमेरको प्रमाण १२ फिट लामो टुप्पी र बुढ्यौली शरीर भएको बताए ।

२५ को हुँदा टुप्पी पाल्न थालेका उनले कपाल खौरिए पनि टुप्पी राखेका छन् । उनी टुप्पीलाई मर्यादा गर्छन् । गुजुल्टो पारेको टुप्पीलाई उनका सहयो रामपरीक्षण महतो, कप्लेश्वर दासलगायत पाँच सहयोगीले खोलेर देखाए । १०८ विष्णु दास बाबा नाम कहलिएका उनले तपस्वी, साधु सन्तलाई नागरिकता, शैक्षिक प्रमाणपत्र आवश्यक नभएको बताए ।

प्रकाशित : वैशाख ११, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?