कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खेतमै खेल मैदान

ओमप्रकाश ठाकुर

सर्लाही — बालबालिकाका लागि पढाइ र खेलकुद दुवै उत्तिकै महत्वपूर्ण हुन्छ । बेलाबेला ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा आउँछ । तर जिल्लाको दक्षिणी क्षेत्रका बालबालिका लागि यो नारामै सीमित छ । उनीहरू खेल मैदान नभएर अहिले खेतमै खेल्न बाध्य छन् । बालबालिकाका लागि बाझो खेत खेल मैदान बनेको छ ।

खेतमै खेल मैदान

उनीहरू किसानको निजी जग्गामा लगाइएको गहुँ काटेपछि खाली खेतमा फुटबल, क्रिकेटलगायत खेल खेल्छन् । खेलप्रति मोह, जोस जागर भए पनि मैदान नहुुँदा खेल्नबाट वञ्चित हुनुपरेको उनीहरूले गुनासो गरे । खेत बाँझो रहेसम्म खेल्ने मौका पाउँछन् ।


किसानले जब बाली लगाउँछन् अनि उनीहरूको खेल पनि सकिन्छ । खेल्नका लागि अर्को सिजनको खाली खेत नै कुर्नुपर्छ । ‘खेलले शरीर स्फूर्त हुन्छ भनेर सरले पढाउनु हुन्छ, तर हामी घरमा फुर्सदको बेला मैदान अभावले खेल्न पाउँदैनौं,’ युनिभर्सल एकेडेमीमा कक्षा ५ मा का छात्र कृष्ण यादवले भने, ‘अहिले खेत बाझो भएको बेला खेलिरहेका छौं, अरू बेला त पाउँदैनौं, त्यही भएर सरले भने जस्तै
स्फूर्त हुन सकेका छैनौं ।’


स्वस्थ्य रहनका लागि खेलकुद अनिवार्य मानिन्छ, तर मैदान अभावले बालबालिका खेतमै खेल्दा जोखिम पनि उत्तिकै छ । खेत सम्म नभएका कारण उनीहरू लड्ने र घाइते हुने गरेका छन् । ‘विद्यालयमा शिक्षकले पढाइसगै स्वस्थ रहन खेलकुद अनिवार्य भन्नु हुन्छ, तर मैदान अभावले खेतमा खेल खेल्न जादा लडेर उल्टै घाइते बन्नु परेको छ,’ सिर्सियाका १३ वर्षीय ज्ञानेन्द्र माझीले भने, ‘हामीलाई खेलकुदका लागि न अभिभावकले ध्यान दिन्छन्, नत जनप्रतिनिधिले ।’

पैसा अभावमा खेल सामग्री नभएर बालबालिका बाजी थापेर खेल खेल्ने गरेको बताए । ‘खेल सामग्रीका लागि पैसा चाहिन्छ, अभिभावकले पैसा दिदैन, कतैबाट नपाएपछि हामी बाजी रखेर खेल खेल्छौं,’ स्थानीय सुवोधकुमार यादवले भने, ‘बाजीबाट जितेको पैसाले खेल सामग्री किन्छौं ।’


स्थानीय बालबालिकालाई खेलप्रति मोह भए पनि उनीहरू मैदान र खेल सामग्रीबाट वञ्चित छन् । उनीहरू अभिभावकसँग लुकिछिपी केही पैसा जम्मा गरेर भए पनि खेल सामग्री ल्याएर खेल्ने गरेका छन् । बालबालिकालाई खेल खेलाउनुपर्छ भन्ने अभिभावकको मानसिकता देखिदैन बरु उनीहरूले पढोस्मात्र भन्ने चाहना राख्छन् ।


जिल्लाको उत्तरी क्षेत्रको स्थानीय तहले खेलकुद पनि प्राथमिकतामा राखेका छन् । कतिपयले खेल मैदान बनाइसकेका छन् । उनीहरू ग्रासरुटमा बालबालिकालाई खेलप्रति भावना जगाउने र खेलाडी तयार पार्नेदेखि लिएर ठूलठूला प्रतियोगितासमेत गराउने गरेका छन् ।

तर दक्षिण क्षेत्रका प्रायः सवै स्थानीय तहले खेलकुदलाई प्राथमिकतामा राखेको पाइदैन । जसका कारण ग्रँसरुटमा खेलाडी उत्पादन त परै जाओस् स्थानीय बालबालिका समेत खेलकुदबाट बञ्चित हुन पुगेका छन् ।

प्रकाशित : वैशाख ११, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?