१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

नेकपामा असन्तुष्टि चुलियो

सर्लाही — नेकपाको जिल्ला तहको नेतृत्व चयनप्रति असन्तुष्टि जनाउँदै जिल्ला सचिव डाचाराज वाग्लेले राजीनामा दिने घोषणा गरेका छन्  । उनले नेतृत्व चयन प्रक्रियामा गम्भिर त्रुटि भएको भन्दै निर्णय नसच्याए समानान्तर कमिटी बनाउने चेतावनी दिए  ।

वागमतीको सीता प्यालेसमा सोमबार पत्रकार सम्मेलन गरी वाग्लेले स्थायी कमिटीको मनोयनप्रति असन्तुष्टि जनाएका हुन् । पार्टी केन्द्रीय सदस्य भइसकेको आफूलाई प्रदेश कमिटी मातहतमा जिल्लाकोे सचिवमा मनोनयन गरेर उपहास नै हुनेगरी राखिएको गुनासो गरे ।


उनले आफ्नो साविकको पद उपहास गरिएको भन्दै जिल्ला सचिवबाट राजीनामा दिने घोषणा गरेका छन् । प्रदेश कमिटीका नेता रेवती पन्तलाई अध्यक्षको जिम्मेवारी र केन्द्रीय सदस्य भइसकेको आफूलाई सचिवमा मनोयन गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । ‘पार्टीले सार्वजनिक गरेको सूचीअनुसार मलाई सचिवको जिम्मेवारी दिइएको छ, पार्टीको केन्द्रीय सदस्य भइसकेको व्यक्ति जिल्ला सचिवमा कसरी बस्नु, यो केन्द्रीय कमिटीकै उपहास हो, उनले भने, ‘यसैकारण मैले सचिव पद अस्वीकार गर्ने निर्णय लिएको छु ।’


केन्द्रीय सदस्यबाट जिल्ला सचिवमा घटुवा भएपछि वाग्ले निकटका नेता कार्यकर्ताले व्यापक असन्तुष्टि जनाएका छन् । पार्टीले एकदम गलत निर्णय गरेको भन्दै उनीहरू निर्णय सच्याउन नेतृत्वसँग माग गरेका छन् ।


पत्रकार सम्मेलनमा तत्कालीन एनेकपा माओवादी स्थायी कमिटी सदस्यसमेत रहेका वाग्लेसहित तत्कालीन एमालेबाट निर्वाचित प्रदेश सांसदद्वय डिल्लीप्रसाद उप्रेती र बेची लुंगेली तथा नेतहरू हरि उप्रेती, सुरेन्द्र लामा, उत्तरकुमार मैनाली तथा तत्कालीन माओवादीबाट निर्वाचित बागमती नगरपालिका प्रमुख भरतकुमार थापा, जिल्ला अध्यक्ष कमल बुढाथोकीलगायत उपस्थिति थिए । नेतृत्वले तत्काल निर्णय नसच्याए नेकपाको समानान्तर कमिटी गठन गर्ने उनीहरूको चेतावनी छ ।


नेकपा केन्द्रीय नेतृत्व तहले सोमबारमात्र सर्लाहीको अध्यक्षमा रेवती पन्त र सचिवमा डाचाराज वाग्लेलाई चयन गरेको छ । सचिवको असन्तुष्टि र समानान्तर कमिटी घोषणाको हल्लाले जिल्लाभित्र नेकपा राजनीति एकाएक तातिन पुगेको छ ।

प्रकाशित : वैशाख ११, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?