१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

ज्युँदो सहिदलाई जीवनयापनकै समस्या

शंकर आचार्य

पर्सा — तेस्रो मधेस आन्दोलनका ज्युँदा सहिद मुन्सी राउत खुट्टाले नहिडेको ४ वर्ष पुग्न लाग्यो । वीरगन्ज २८ बगहीका ३२ वर्षीय राउतका लागि घरको आँगनमा बनाइएको बाँसको मचान र हिलचियर सहारा बनेको छ । २०७२ असोज ३ गते मुलुकले पहिलो गणतान्त्रिक संविधान पाएको ऐतिहासिक दिनमै उनलाई वीरगन्जमा गोली लागेको थियो ।

ज्युँदो सहिदलाई जीवनयापनकै समस्या

त्यस दिन तत्कालीन मधेसी मोर्चाको आह्वानमा संविधानको विरोध गर्दै मधेस आन्दोलनमा उनी होमिएका थिए । वीरगन्जको गीता मन्दिर रोडमा प्रहरीले चलाएको गोली उनको मेरुदण्डमा लाग्यो । अचेत अवस्थामा उनलाई आधा घन्टा भित्रै हेलिकप्टरबाट राजधानी लगियो । सुरुमा वीर अस्पताल अनि जनगालको अर्थोपेडिक अस्पताल र त्यसपछि सुषमा कोइराला मेमोरियल अस्पताल गरी उनको ६ महिना उपचार भयो । मधेसी मोर्चाले उनको उपचारमा करिब १ लाख ५० हजार रुपैयाँ खर्च गर्‍यो ।

सँगै गोली लागेका शत्रुधन पटेलको ज्यान गयो । मुन्सी आधा शरीर नचल्ने स्पाइनल कर्ड इन्जुरीको उपचारै नहुने पीडा भोगेर बाँचिरहेका छन् । उनको कम्मर मुनिको शरीरको भाग चल्दैन । दिसापिसाब चुहिएको भेउ पाउँदैनन् । कम्मर छेउ ४ वर्षअघि लगाइएको पिसाब जम्मा हुने प्लाष्टिकको थैलीले साथ छोडेको छैन । १२/१२ दिनमा यो थैली फेर्नुपर्छ । हिलचियर उनको जीवनसाथी बनेको छ । ओछ्यानबाट ह्विलचेयरमा बसाउन कम्तीमा २ जना बलिया मानिस चाहिन्छ । आफ्नै हातको भरले मुस्किलले घर वरपर ह्विलचियर चलाउँछन् । परसम्म जान ज्यानमा ताकत छैन ।


मुन्सी र शान्ति दम्पती सन्तानविहीन छन् । उनका ३ दाजुभाइ छुट्टभिन्न भइसकेका छन् । ७६ वर्षीय वृद्ध बुवा रामचन्द्र र ७१ वर्षीया आमाको जिम्मेवारी मुन्सी दम्पतीलाई छ । मुन्सीकी पत्नी शान्ति कुमारीले १ वर्षअघि स्थानीय स्वास्थ्य चौकीमा करारमा कार्यालय सहयोगीको जागिर पाएकी छन् । गोली लाग्नुअघि मुन्सी पर्सा बारा औद्योगिक करिडोरको सनराइज प्लास्टिक उद्योगमा सामान्य मजदुरी गर्थे ।

हातमुख जोर्न र मेरो सेवा टहल गर्ने वृद्ध बुवाआमाको गुजाराका लागि सरकारले मासिक १०/१५ हजार रुपैया“को अपांग भत्ताको व्यवस्था गरिदिए बाकी जीवन काट्न सहज हुने उनको भनाइ छ । पत्नी शान्ति कुमारीले पति, सासुससुराको सेवा टहलदेखि घर चलाउने रकम पनि आफ्नै जागिरको भरले गर्नु परेकाले घर चलाउन गाह्रो भएको बताइन् । ‘मेरो सानोतिनो अस्थायी जागिरको भर छ,’ उनले भनिन्, ‘त्यतिले मलाई घर खर्च चलाउन अत्यन्त कठिन भएको छ ।’


गोली लागेको ६ महिनापछि वीरगन्ज फर्के लगत्तै मधेस रिलिफ फन्डको सौजन्यमा मुन्सीको दिल्लीस्थित इन्डियिन स्पाइनल कर्ड इन्जुरी सेन्टर र दिल्लीकै एम्स अस्पतालमा पनि उपचार भएको थियो । त्यहा“ पनि उनको उपचार सम्भव नभएपछि घर फर्काइएको हो ।


चुनाव आउँदा नेताहरू आफूलाई भेट्न घर आउने गरे तापनि चुनावपछि आफ्नो फोन समेत नउठाउने मुन्सीको गुनासो छ । उनले भने, ‘मुख्यमन्त्री लालबाबु राउतसँग हिजो कुरो भएको थियो, उहाँले केही समय कुर्न आश्वासन दिनुभएको छ, हेरौं के हुन्छ ।’

प्रकाशित : वैशाख ११, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?