कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

दलालको आँखा गाउँले युवतीमा

ओमप्रकाश ठाकुर

सर्लाही — बागमती नगरपालिका १ डुमाजोरवासी १६ वर्ष नपुगेकी रविना कोइराला दुई सातायता निकै तनावमा छिन् । नागरिकतासमेत नबनेकी उनलाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई केही अपरिचित व्यक्ति पछि लागेपछि उनी दोधारमा परेकी हुन् ।

केही दिनअघि उनी बजारबाट घर जाने क्रममा स्थानीय एक खाजा पसलका साहुले बोलाए । खाजा पसलमा दुई अपरिचित व्यक्तिसमेत थिए । साहुले रिचार्जकार्ड दिँदै ती अपरिचित व्यक्तिको मोबाइलमा रिचार्ज गर्न भने ।


उनले ती व्यक्तिको मोबाइलमा रिचार्ज गरिदिए । त्यसपछि बालिका घरतिर लागिन् । अपरिचित व्यक्तिले मोवाइल रिचार्ज कार्डको रकम फटाफट जम्मा गरिदिएको भन्दै बालिकालाई एक सयको नोट थमाए । तर उनले रकम लिन मानिन् । त्यति सहयोगका लागि किन पैसा दिनु पर्‍यो भन्ने प्रश्न गरिन् ।


छेउमै रहेको पसलेले समेत पैसा लिन आग्रह गरे तर पैसा लिइनन् । मोवाइलमा रिचार्ज गर्दैगर्दा ती पुरुषले वैदेशिक रोजगारीको प्रलोभन देखाए । उनले महिनामा ५० देखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने सुनाए । कोइरालाले नागरिकता नै नभई कोही विदेश जान सक्छ भनेर प्रतिप्रश्न गरिन् । त्यसलगत्तै ती व्यत्तिले काठमाडौंमै २० हजार तलब दिने आश्वासन जनाए । त्यतिबेलासम्म ती केटीले ती दुई व्यक्ति प्रलोभन देखाएर बालबालिकालाई ठग्ने मानिस रहेको भेउ पाइसकेकी थिइन् । उनीले ती व्यक्तिलाई आफू कहीं पनि नजाने भन्दै घरतिर लागिन् ।


त्यसपछि ती व्यक्ति उनको पछि लागे । मोबाइल रिचार्ज गरिदिएको भरमा उनीहरू पछि लागेपछि उनी बाटो परिवर्तन गरेर बजार तथा विद्यालय जान थालिन् । एक दिन ती दुई गाउँमा बालिकाको घर सोद्धै पुगे । घरमा अभिभावक नभएको मौका छोपी उनीहरू पुग्दा गाउँले जम्मा भए । त्यति बेलै प्रहरी बोलाएर ती दुईलाई गाउँलेले जिम्मा लगाए ।


प्रहरीले समातेर लगेपछि पीडितलाई जाहेरी दिन भने । तर जाहेरीका लागि वकिलले दरखास्त लेख्न मानेनन् । कुनै घटना नभएकाले कुन मुद्दा लगाउने भन्दै वकिलले दरखास्त लेख्न नमानेको पीडितका आफन्त भुवन कोइरालाले बताए । उनले वकिलको चर्को शुल्कका कारण पनि आफूपछि हटेको बताए । पीडकविरुद्ध जाहेरी नपरेपछि प्रहरीले सामान्य मिलापत्र गराएर फर्काइदिएको छ ।


‘मोबाइल रिचार्ज गरिदिएकै भरमा बहिनीको पछि दुई अपरिचित व्यक्ति परे, उनलाई पसलका साहुले नै सहयोग गरे, वैदेशिक रोजगारीको प्रलोभन देखाएर घरमै पुगेपछि हामीले प्रहरी बोलायौं,’ कोइरालाले भने, ‘प्रहरीको नियन्त्रणमा पुगेको व्यक्तिविरुद्धमा वकिलले दरखास्त लेखेनन्, चर्को शुल्क मागे । जाहेरी नपरेपछि प्रहरीले दुवैलाई मिलापत्र गराइदियो ।’ यसरी घरमै आएर तनाव दिनेविरुद्ध कानुनी उपचार पाउन नसकेको उनीहरूको गुनासो छ ।


उनीहरूले अर्काले दुःख दिएकोमा न्याय पाउन पनि वकिललाई दरखास्त लेखेबापत चर्को शुल्क तिर्नुपर्ने बताए । इलाका प्रहरी हरिवनका निरीक्षक पुरुषोत्तम कार्कीले कार्यालयमा जाहेरी नपरेपछि छोड्नुपरेको बताए । ‘उहाँहरूले जाहेरी दिनु भएन, जाहेरी नपरेपछि पक्राउ परेकालाई छोड्नु पर्‍यो,’ उनले भने, ‘मुद्दा नचल्ने भएपछि दुवै पक्षलाई राखेर मिलापत्र गराइदिएको हो ।’


विभिन्न प्रलोभन देखाएर महिलालाई वैदेशिक रोजगारसहित मुलुकमै रोजगारी लगाइदिने गिरोह सर्लाहीमा सक्रिय छ । पछिल्लो समय जिल्लाको उक्तरी क्षेत्रमा त्यस्ता गिरोह सत्रिय भएका छन् । यस क्षेत्रका महिलालाई कहिले महिला समूह त कहिले पुरुषको समूह रोजगारी दिने बहानामा फकाउने गरेको पाइएको छ ।


यस्ता गिरोहविरुद्धमा कानुनी उपचार नभएकाले उनीहरूको मनोवल उच्च बनेको छ । ‘पछिल्लो समय वैदेशिक रोजगारीमा पुर्‍याउने भन्दै गिरोह नै सक्रिय छ, यस्ता गिरोहमा कतै पुरुष देखिन्छन् त कतै महिला पनि,’ हरिवनका अच्युत सापकोटाले भने, ‘घरमा पुरुष नभएको मौका छोपेर गाउँघरका महिलालाई विभिन्न प्रलोभन दिइरहेका छन् ।’

प्रकाशित : वैशाख १२, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?