२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नागरिकता लिनेको भीड थामिनसक्नु

शंकर आचार्य

पर्सा — जिल्ला प्रशासनमा नागरिकता लिन आउनेको भीड अत्यधिक बढेको छ । ०६३/६४ मा जन्मको आधारमा नागरिकता लिएकाका छोराछोरीले वंशजका आधारमा नागरिकता लिन आउने क्रम बढेपछि कार्यालयमा ठूलो भीड देखिएको हो ।

नागरिकता लिन आउनेको अत्यधिक भीडले कार्यालयलाई व्यवस्थापनमै हम्मेहम्मे परेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं कार्यालयका सूचना अधिकृत नेत्रप्रसाद शर्माले चैत १९ यता ६९ वटा वंशजको आधारमा नागरिकता वितरण भइसकेको छ । ‘बिगतमा जन्मको आधारमा नागरिकता पाएकाहरूका ६९ जना छोराछोरीले हाल वंशजको आधारमा नागरिकता पाएका हुन्,’ उनले भने, ‘२०७० चैत २० यता यसरी जन्मको आधारमा नागरिकता पाएकाहरूका सन्तानले वंशज नागरिकता पाएका थिएनन् ।’


२०७० चैत २० गते २०६३/०६४ मा जन्मको आधारमा नागरिकता पाएकाहरूको सन्तान आफ्ना बाबु आमाले नागरिकता पाउनु अघि जन्मिएको पाइए उनीहरूको हकमा सरकारले नागरिकता रोक्ने निर्णय गरेको थियो । यसरी ५ बर्ष नागरिकता वितरण रोक्का रहेकोमा चैत २५ बाट उनीहरूलाई नागरिकता वितरण सुरु गरिएको थियो । पहिलो दिन ४ जनाले नागरिकता पाएका थिए ।


चैत २५ गतेनै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटको कारण रोकिएको नागरिकता वितरण कार्य वैशाख ३ को सर्वोच्चको आदेशले न्यौपानको रिटको हमा नागरिकता वितरण कार्य रोक्का गर्नु नपर्ने देखिएपछि नागरिकता वितरण पुनः सुरु गरिएको हो ।


तर जिल्ला प्रशासन कार्यालयले नागरिकता बितरण कार्य व्यवस्थित रुपमा गर्न नसकेको गुनासो नागरिकता लिन आउनेहरू तथा तिनका अभिभावक समेतले गरेका छन् । विशेष गरी दर्ता फाँटमा दर्ता भएका निवेदनहरू व्यवस्थित रुपमा नराखिएको र सेवाग्राहीहरू फाटमा प्रवेश गरी जथाभावी अभिलेखहरू चलाउने, निवेदन आफूखुशी तलमाथि गर्ने गरेपछि काम ढिला भएको धेरै सेवाग्राहीको गुनासो छ ।


सहायक प्रजिक शर्माले सेवाग्राहीको गुनासो आएको कुरा स्वीकार्दै नागरिकता बितरण कार्यलाई व्यवस्थित बनाउने सक्दो प्रयास भई रहेको दाबी गरे । ‘भीड बढ्दो छ, हाल नागरिकता लिन आउने र सामान्य अवस्थामा नागरिकता लिन आउने तथा अन्य सेवाग्राहीलाई समेत सेवाको पहुँच होस् भनेर नागरिकता वितरण तथा भीडलाई व्यवस्थित गर्ने सक्दो प्रयास हामी गर्दै छौं,’ उनले भने, ‘नागरिकताका लागि परेका निवेदनहरूउपर पर्याप्त अध्ययन र छानबिन पनि आवश्यक छ, त्यस कारणले ढिलो भए जस्तो लागेपनि हामी पूर्ण रूपले छानबिन गरेर विश्वस्त भएर मात्र नागरिकता बितरण गरी रहेका छौं, नागरिकता बितरण कार्य व्यवस्थित होस् र सेवाग्राहीले पनि कष्ट झेल्नु नपरोस् भनेर हामी भुगोलका आधारमा दिन तोकेर नागरिकता बनाउने योजना अघि सार्दै छौ, सदरमुकाम वा वीरगन्ज महानगरपालिकाका सेवाग्राही मात्र नभई जिल्लाका अन्य भेगका सेवाग्राहीले पनि उत्तिक्कै सहजताका साथ

सेवा पाउन भनी व्यवस्थानमा लागेका छौं, एक दुई दिन भित्रै नतिजा पनि आउँछ ।’

प्रकाशित : वैशाख १२, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?