३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

निर्वाचनले सीमा क्षेत्रमा कडाइ

दशगजा क्षेत्रमा रातको समयमा नेपाली सुरक्षाकर्मी र एसएसबीको संयुक्त रुपमा नियमितजसो एम्बुसिङ र सर्च अभियान 
शिव पुरी

रौतहट — छिमेकी मुलुक भारतमा सुरु भएको लोकसभा निर्वाचनलाई ध्यान दिँदै नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यसै क्रममा नेपाल प्रहरी टोलीले सीमाक्षेत्रबाट एकथान हतियार र गोली बरामद गरेको छ । गौरबाट बंकुल नाकासम्मको क्षेत्रमा सुरक्षा अधिकारीले उच्चसतर्कता अपनाएका छन् ।

निर्वाचनले सीमा क्षेत्रमा कडाइ

भारतमा जारी निर्वाचनको समयमा सीमा क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधिलाई दृष्टिगत गर्दै जिल्ला प्रहरीले रातको समय सुरक्षा सतर्कता बढाएको हो ।


सोही क्रममा जिल्लाबाट प्रहरी निरीक्षक पप्पु नायकको कमाण्डमा प्रहरी चौकी नरकटियासहितको गस्ती टोलीले नेपाल–भारतको सीमाक्षेत्रमा पर्ने परोहा नगरपालिका ८ स्थित नरकटिया क्षेत्रको दशगजानजिक कटुवा पेस्तोल र गोली बरामद गरेको हो । प्रहरीले दशगजा क्षेत्रमा राति नियमित एम्बुसिङ तथा सर्च अभियान चलाएको छ ।


प्रनि नायकको टोली एम्बुसिङमा बसेको बेला २ अपरिचित व्यक्ति प्रहरी देख्नासाथ दशगजा पारि भागेपछि उक्त स्थानमा जाँच गर्दा गम्छाले पोको पारिएको अवस्थामा एक थान पेस्तोल र १ थान गोली फेला पारेको जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खक्रीले बताए । ‘सीमाक्षेत्रमा कडाइ गर्ने सिलसिलामा गौडा कुरेर बस्ने त्रममा हतियार फेला परेको हो,’ उनले भने, ‘केही मानिस पैदल आएका थिए । प्रहरीलाई देख्नासाथ भारततिर भागे । उनीहरू कुनै योजना बनाएर आएका हुन सक्छन् ।’


प्रहरीले उनीहरूलाई केही परसम्म पछ्याएको थियो । तर फेला परेनन् । भारतमा साना हतियार सस्तोमा पाइन्छ । त्यही हतियार निर्वाचनका बेला दुबै देशमा प्रयोग हुने गरेको छ । यही बेला आपराधिक घटना गराएर लुक्न नेपाली भूमि प्रवेश गर्छन् । यसैलाई रोक्न भारतीय सुरक्षा अधिकारीले नेपालसित सहयोग माग्ने गर्छ । निर्वाचनलाई मध्यनजर गर्दै सशस्त्र र नेपाल प्रहरीले सीमाक्षेत्रको मातहतलाई जाँच र निगरानी कडा बनाउन निर्देशन दिएको थियो ।


निर्वाचनको मौका छोपी विभिन्न समूह सक्रिय हुने हुँदा यस्तो बेला सहयोगको अपेक्षासहित भारतीय सुरक्षा अधिकारीले रौतहट स्थानीय प्रशासनलाई अनुरोध गरेको थियो । अहिले सीमाक्षेत्रमा कडाइ गरिएको छ । एक महिनाअघि सशस्त्र प्रहरीले भारतीय सीमासुरक्षा बल (एसएसबी) सित संयुक्त गस्ती गर्दै आएको छ । अहिले पनि दुवैतिर सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेका छन् ।


दुई दिनअघि प्रमुख जिल्ला अधिकारी किरण थापा, एसपी खत्री, सशस्त्रका एसपी कृष्ण ढकाल, नेपाली सेनाका कर्णेल सुजन शाक्य, राष्ट्रिय अनुसन्धानका रौतहट निर्देशक अभिनय सिंहसहितले सीमाको सुरक्षा अवस्था, सुरक्षा चौकीलगायत हेरेका थिए । भारतमा हुँदै गरेको निर्वाचनको बेला कुनै पनि समूहले फाइदा उठाउन सक्ने भन्दै सतर्कता अपनाउँदै आएको हो ।


प्रजिअ थापाले सीमाक्षेत्रमा विशेष निगरानी राख्न निर्देशन दिएको बताए । ‘खुला सीमा भएकाले आपराधिक प्रवृत्तिका मानिसको चलेखेल रोक्न सुरक्षा व्यवस्था कडा बनाएको छ,’ उनले भने, ‘सीमामा हुने कुनै पनि गतिविधि सह्य हुँदैन् । यसलाई निस्तेज पार्छौ ।’


निर्वाचनका बेला खासगरी आपराधिक मनोबृत्तका मानिस घटना घटाइ वारपार गर्ने र सेल्टर लिई बस्ने आशंका गर्दै भारतीय सुरक्षा अधिकारीले सीमामा विशेष कडाइ गर्न अनुरोध गरेको थियो । केही दिनअघि नेपाल भारतका सुरक्षा अधिकारीको सितामाढी र मोतीहारीमा बसेको बैठकमा भारतीय अधिकारीले निर्वाचनका बेला विशेष सहयोगको अपेक्षा गरेका थिए । एक सुरक्षा अधिकारी भन्छन्, ‘भारतमा निर्वाचनका बेला सीमाक्षेत्रमा गडबड हुन नदिन निकै सतर्कताकासाथ गस्ती गर्छन् । नेपाली सुरक्षाकर्मीको साथ र सहयोग माग्छन् ।’


नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमाक्षेत्रमा रहेको आफ्नो पोष्टलाई गस्ती र जाँचमा कडाइ गर्न भनेको छ । रातिको समयमा आपराधिक गतिविधि हुन सक्ने भन्दै चनाखो र उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । सीमा क्षेत्रमा नेपाल प्रहरीको ११ र सशस्त्रको ५ सीमा चौकी, बोर्डर पोष्ट छन् । तिनमा २० देखि ४० जनासम्म सुरक्षाकर्मी तैनाथ छन् । गौरको पूर्वी नाकादेखि पश्चिम बकुलसम्मका प्रहरी इकाइलाई सुरक्षा जाँच कडा पार्न भनेको एसपी खत्रीले बताए ।


भारतको निर्वाचनका बेला आपराधिक प्रवृत्तिका मानिसको सीमाक्षेत्रमा घूसपैठ र चलखेल हुने भारतीय सुरक्षा अधिकारीको ठम्याई छ । प्रहरीले सीमा वारपार गर्ने मानिसको कडा निगरानी र जाँच सुरु गरेको छ । सीमामा चेकप्वाइन्ट थापेर कडाई गर्न थालिएको छ । ‘सीमामा कुनै किसिमको अवाञ्छनीय गतिविधि हुन दिँदैनौं,’ सशस्त्रका एसपी ढकालले भने, ‘यस्ता गतिविधि रोक्न सुरक्षाकर्मी सक्षम छ ।’


सुरक्षाकर्मीले सीमाक्षेत्रको शंकास्पद नाकामा दिनहुँ जाँचलाई कडाइ गरेको छ । निर्वाचनको मौका छोपेर भारतबाट अवैध हतियार ओसारपसार र घूसपैठ हुन सक्ने भन्दै कडाइ गरिएको हो । भारतमा चरणबद्ध रुपमा लोकसभा निर्वाचन भइरहेको छ । खुल्ला सीमाको फाइदा उठाउँदै विगतमा भारत र नेपालबाट विभिन्न खाले घटना गरी एकअर्को देशमा

लुक्ने गरेको पाइएको छ ।

प्रकाशित : वैशाख १२, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?