कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्वदेशी अगरबत्ती उद्योग संकटमा

शंकर आचार्य

पर्सा — भारतबाट न्यून भन्सार शुल्कमा भित्रिने अगरबत्तीसँग प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी अगरबत्ती उद्योग संकटमा परेका छन्  । स्वदेशी उद्योगले भारतबाट प्लास्टिक, डब्बा, कम्पाउन्ड, रेपर, टेप आदि आयात गर्दा १० देखि २५ प्रतिशत भन्सार शुल्क लाग्छ  ।

स्वदेशी अगरबत्ती उद्योग संकटमा

तर भारतबाट तयारी अगरबत्ती केबल १० प्रतिशत भन्सार शुल्कमा भित्रिने गरेकाले भारतीय अगरबत्तीसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएको उद्योगीहरू बताउँछन् ।


वीरगन्जस्थित हिमाल अगरबत्ती उद्योगका व्यवस्थापक तथा अगरबत्ती उत्पादक संघका उपाध्यक्ष जयप्रकाश खेतान पछिल्ला केही वर्षयता भारतीय अगरबत्तीसँग प्रतिस्पर्धा झनै बढेकाले टिक्नै गाह्रो भइसकेको बताउँछन् । नेपालमा ५ हजार अगरबत्ती उद्योग रहेको र तीनले झन्डै ५० हजार जनशक्तिलाई रोजगारी दिएको अवस्थामा यो उद्योग धराशायी भएमा थुप्रै परिवारको आम्दानीको स्रोत समाप्त हुने उनले बताए ।


हाल निम्बस समूह, सूर्य नेपाल जस्ता ठूला उद्योगले भारत तथा भियतनामबाट तयारी अगरबत्ती ल्याएर त्यसमा सेन्ट र कम्पाउन्ड हालेर आफ्नो ब्रान्डका रूपमा बजारमा बिक्री वितरण गरिरहेको खेतान बताउँछन् । ‘स्वदेशी उद्योगलाई सरकारले संरक्षण गर्नुपर्नेमा झनै बेवास्ता गरिएको छ,’ उनले भने, ‘केही वर्षयता भियतनाम र भारतबाट आयात भइरहेको अर्द्धतयारी अगरबत्तीले हामीलाई ठूलो चुनौती दिएको छ ।’

आफूहरूले भारतबाट कच्चा पदार्थ आयातको क्रममा कम्पाउन्डमा १५, प्लास्टिकमा ३५ र टेपमा १५ प्रतिशत भन्सार तिर्नुपरेको उनले बताए । पूर्णतयाः स्वदेशी कच्चा पदार्थ वनमाराको कोइला, बाँसको सिन्का र काउलो बोक्राको प्रयोगका साथै जडीबुटी संस्थानबाट कम्पाउन्ड समेत पाउने गरेको उनले बताए ।

आफूहरूले नेपालमा उपलब्ध नरहेका कच्चा पदार्थ मात्र भारतबाट आयात गरिरहेको हिमाली अगरबत्ती उद्योगका व्यवस्थापक मुरलीधर बर्णवाल बताउँछन् । छिकेमी मुलुक भारतमा कुटिर उद्योगका रूपमा अगरबत्ती उद्योगलाई प्रोत्साहित गरिएको तर नेपालमा भने मूल्यअभिवृद्धि करको भार थप्ने प्रयास गरेर झनै हतोत्साहित गरिएको उनले बताए ।

नेपालमा मासिक करिब १ लाख किलो अगरबत्तीको खपत रहेकोमा त्यसमध्ये करिब ३० प्रतिशत मात्र बजार स्वदेशी उद्योगका उत्पादनले लिएका छन् । हाल वीरगन्ज, सिर्सिया सुक्खा बन्दरगाह र विराटनगर नाकाबाट अर्द्धतयारी अगरबत्ती भारत र भियतनामबाट आयात हुने गरेको छ ।


अर्द्धतयारी अगरबत्तीको भन्सार मूल्यांकन बढाउने र एसेन्स लगायतका कच्चा पदार्थको मूल्यांकन घटाउने हो भने मात्र स्वदेशी अगरबत्ती उद्योग टिक्न सक्ने उनले बताए । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतोले भारत तथा तेस्रो मुलुकबाट आयात हुने अर्द्धतयारी अगरबत्तीमा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धिकर लाग्ने गरेको छ ।


कच्चा पदार्थमा १५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धिकर लाग्छ । भन्सार शुल्क थपघटको निर्णय केन्द्रले गर्ने र आफूहरूले भन्सार बिन्दुमा आयात निर्यातमा सहजीकरण मात्र गर्ने भएकाले स्वदेशी उद्योगले आफ्ना माग सम्बन्धित निकायहरूमा राख्दा फलदायी हुने उनले बताए ।

प्रकाशित : वैशाख १३, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?