कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

धनुषामा तस्करी मौलायो

श्यामसुन्दर शशि

जनकपुर — अवैध मालसामान निकासी–पैठारी नियन्त्रण गर्न खडा गरिएको सशस्त्र प्रहरी क्याप्प अगाडि नै तस्करको गोदाम रहेको सुन्दा आश्चर्य लाग्न सक्छ तर महिनाथपुर सशस्त्र प्रहरी कार्यालय अगाडि नै तस्करको गोदाम रहेको खुलासा भएको छ । 

जनकपुर भन्सार कार्यालयबाट खटि गएको टोलीले महिनापुरस्थित सशस्त्र प्रहरी कार्यालय अगाडिकै घरमा छापामारी गरी १९ लाख २९ हजार मूल्य बरावरको अवैध कपडा, दाल, भाडा तथा सूर्तिजन्य राजनिवास नियन्त्रणमा लिएपछि रहस्य खुलेको हो ।


भन्सार प्रमुख रामेश्वर मिश्रका अनुसार छापामारीमा ३२ पोका कपडा, १७ बोरा दाल, ४ बोरा भाडा तथा एक बोरा राजनिवास नियन्त्रणमा लिइएको हो । ती सामानको मूल्य १९ लाख २९ हजार रहेको अनुमान गरिएको छ ।


महिनाथपुरस्थित सशस्त्र प्रहरी कार्यालय र तस्करको गोदामको बीचमा सडकमात्र छ । एक स्थानीयले भने, ‘सशस्त्र प्रहरीको अगाडि तस्करको गोदाम हुनुको अर्थ यो धन्धा प्रहरीको मिलिमतोमा सञ्चालित हुन्छ । प्रहरीको मिलिमतो बिना यति ठूलो मात्रामा अवैध सामान भित्रिनै सक्दैन ।


यता सशस्त्र प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी उपरीक्षक राजू पाण्डेले माल सामान पक्राउ परेको घर पहिलाको भन्सार कार्यालय रहेकाले अवैध सामान हो कि होइन भन्ने थाहा नभएको प्रतिक्रिया दिए । यहाँ अवैध व्यापार नियन्त्रण गर्ने उद्देश्यले धनुषाका ६ नाकामा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ भने सशस्त्र प्रहरी राजस्व संकलन टोली र नेपाल प्रहरीको एक दर्जन अधिक पोस्ट स्थापना गरिएको छ ।


जनकपुर भन्सार कार्यालय चालु आर्थिक वर्षमा ३ करोड १३ लाख मूल्य बरावरको अवैध सामान पक्राउ गरेको छ भने नेपाल प्रहरीले २ करोड ९३ लाखको तथा सशस्त्र प्रहरीले ७८ लाखको अवैध सामान पक्राउ गरी भंसार बुझाएको छ ।


सुरक्षा निकायको सञ्जाल रहे पनि पछिल्ला केही दिनदेखि धनुषामा तस्करी निकै बढेको छ । तस्करहरू पहिला राति राति माल सामान जनकपुर भित्र्याउथे अचेल भारतीय नम्बर प्लेटका मोटरसायकलमा दिनभरि अवैध मालसामान जनकपुर ल्याउदै गरेको दृश्य हेर्न सकिन्छ ।

प्रकाशित : वैशाख १४, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?