कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कुण्ड संरक्षणमा सवा अर्ब 

५३ कुटी ७२ कुण्डको सहर भनेर चिनिने जनकपुरको सौन्दर्य बढाउन महत्वाकांक्षी योजना 
शाहीमान राई

जनकपुर — मन्दिर, कुटी, ताल र पोखरीको सहर भनेर परिचित जनकपुरधाम आसपासमा रहेका ऐतिहासिक तथा सांस्कृतिक ताल पोखरी संरक्षणका लागि सरकारले १ अर्ब १६ करोड रुपैयाँ लगानीमा आयोजना सुरु गरेको छ । 

कुण्ड संरक्षणमा सवा अर्ब 

प्रसिद्ध, ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेको जनकपुर सहरलाई स्वच्छ, सफा, सुन्दर, आकर्षक पर्यटक गन्तव्यका रूपमा विकास गर्न खानेपानी मन्त्रालयले यहाँका तालपोखरी संरक्षणका लागि प्रक्रिया सुरु गरेको छ ।


जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा रहेका ३१ वटा पोखरी संरक्षण, ढल निकास ड्रेन निर्माण, ह्युमपाइप विस्तार, बाह्रबिघा मैदान पार्क, सार्वजानिक शौचालय निर्माण र सरसफाइ गर्ने योजना बनाइएको जनकपुरस्थित सङ्घीय खानेपानी तथा ढल व्यावस्थापन आयोजना प्रमुख वरिष्ठ डिभिजन इन्जिनियर अरुणकुमार सिंखडाले बताए ।


उनले आयोजनाको पहिलो चरणमा ३१ वटा पोखरी संरक्षणका लागि विस्तृत सर्बेक्षण, डिजाइन स्टमेट गरी टेन्डर प्रक्रियामा रहेको बताए । पोखरी संरक्षण संवर्द्धन तथा सौन्दर्यकरणका लागि ७६ करोड रुपैयाँ बराबरको टेन्डर आहान गरिएको छ । यसका लागि चारवटा निर्माण व्यावसायी कम्पनीले प्रस्ताव पेस गरेका छन् । ‘कन्स्ट्रक्सन कम्पनीको प्रस्ताव अध्यायन मूल्याङ्कन भइरहेको छ,’ आयोजना प्रमुख सिंखडाले भने, ‘टेन्डर स्वीकृत भएपछि काम सुरु गर्छौं ।’


जताततै फोहर, मैला, धुलो, धुवाँ, खुला शौचालयलाई व्यवस्थित गर्न जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न सार्वजानिक ठाउँमा ३० वटा आरामदायी शौचालय निर्माण, बाक्लोवस्ती साँघुरो गल्ली सडकका बीचमा ढलनिकासका लागि ह्यूमपाइप विस्तार र बाह्रविघा मैदानलाई पार्कका रूपमा विकास गर्न ४० करोड रुपैयाँ बराबरको आयोजना सर्बेक्षण गरी डिजाइन स्टमेट तयार भइरहेको प्रमुख सिंखडाले बताए ।


सिंखडाले भने, ‘यो बहुवर्षीय योजनाको विस्तृत सर्बेक्षण प्रतिवेदन अन्तिम चरणमा पुगेको छ ।’ एसियाली विकास बैंकको सहयोगमा जनकपुर उपमहानगरपालिका एकीकृत सहरी विकास परियोजना अन्तर्गत ढलनिकासका लागि ड्रेन निर्माण ह्युमपाइप विस्तार, मूख्य सडक विस्तार, ग्राभेल र कालोपत्रे गरे पनि सहरको अधिकांश ठाउँमा ड्रेन निर्माण गर्न बाँकी छ । स्वच्छ सफा र सुन्दर सहरका रूपमा विकास गर्न जनकपुर सहरको हरेक वस्ती वस्तीबाट ढल निकासका लागि ड्रेन निर्माण र सडक कालोपत्रे गर्न सरकारले आयोजना सुरु गर्न लागेको हो ।


उहिले ‘५३ कुटी ७२ कुण्ड’ को शहरको रुपमा परिचित जनकपुरधामलाई चिनाउने तालपोखरीको सरसफाइ, पोखरीको किनारामा सिंढी घाट निर्माण र हरियाली पानीको फोहरा फाल्ने उपकरणयुक्त आकर्षक पोखरी बनाइने अर्का इन्जिनियर जानकीशरण भगतले बताए । आयोजनाका लागि अनुमानित लागत तयार गरे पनि चालूवर्षका लागि सरकारले १ करोड रुपैयाँ मात्र उपलब्ध गराएको छ ।


सरकारले यसवर्ष सङ्घीय खानेपानी तथा ढल व्यावस्थापन आयोजना अन्तर्गत जनकपुर उपमहानगरपालिका ढल तथा प्रशोधन केन्द्र स्थापनाका लागि २ करोड ३० लाख, जनकपुर सरसफाइ तथा पोखरी सम्बर्द्धन तथा ड्रेन निर्माणको लागि दुई करोड १६ लाख, सप्तरी फत्तेपुर खानेपानी आयोजना ५ लाख, राजविराजमा ढल निर्माण तथा प्रशोधन केन्द्र स्थापना र सर्बेक्षणका लागि १८ लाख, सिराहाको गोलबजार ढल तथा प्रशोधन केन्द्र २० लाख, महोत्तरी बर्दिबास खानेपानी योजनाको लागि २ करोड, जलेश्वरमा ढल निकास निर्माण तथा प्रशोधन केन्द्र २० लाख, धनुषामा क्षिरेश्वर ढल निकास तथा प्रशोधन केन्द्र १४ लाख, सर्लाहीको हरिओन खानेपानी तथा सरसफाइ आयोजना २ करोड ९६ लाख ८६ हजार, मलङ्वा ढल तथा प्रशोधन केन्द्र निर्माण ५० लाख र बारामा सिमरा तेश्रो खानेपानी आयोजना १५ लाख र कलैया ढल प्रशोधन केन्द्रका लागि १६ लाख रुपैयाँ गरी करिब दश करोड रुपैयाँको बजेट सिलिङ पठाएको छ । तर विस्तृत सर्बेक्षण भइनसकेकाले चालू योजना बाहेक अन्य योजना कार्यन्वयन गर्न कठिनाइ हुने सङ्घीय खानेपानी तथा ढल व्यावस्थापन कार्यालय जनकपुरले जनाएको छ ।


यो आयोजनाले जनकपुरमा पर्यटकीय आकर्षणको रूपमा रहेको धनुषसागर, गंगासागर, अंगराजसर पोखरी लगायत महत्त्वपूर्ण पोखरीलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाएको छ ।

प्रकाशित : वैशाख १४, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?