फेरिँदै दुसाध गाउँ

हिजो चोरी–डकैती नै पेसा थियो । समाजले फड्को मार्‍यो, चोर सिपाही खेलबाट वाक्क भए, अनि गरे पेसा परिवर्तन
श्यामसुन्दर शशि

जनकपुर — राष्ट्रिय जनगणनामा कोही कृषि, कोही शिक्षण, कोही पत्रकारिता त कोही मजदुरीलगायत आफूले गर्दै आएको पेसा लेखाउँछन् तर पहिलो र दोस्रो राष्ट्रिय जनगणनामा धनुषाका अकौडा र झिझाका केही दुसाधहरू ‘पेसा’ का रूपमा ‘चोरी’ लेखाएको कुरा थोरैलाई थाहा होला । हो, पनि अढाई दशक अघिसम्म यी गाउँका अधिकांश दुसाधहरूको पेसा नै चोरी–डकैती थियो । 

फेरिँदै दुसाध गाउँ

घरमा सेन्ह (दुलो) खनेर चामल, दाल, भाडा, वर्तन, लत्ता, कपडा तथा यदाकदा गर–गहना समेत चोरी गर्ने दुसाध आफ्ना पेसाप्रति संवेदनशील थिए । धर्म कर्म र आचारसंहितालाई उच्च महत्त्व दिन्थे । हुने खानेको घरमामात्र चोरी गर्थे । महिलाहरूलाई सम्मान गर्थे अनि तत्कालीन राज्यसत्ता (पञ्चायत व्यवस्था) प्रति वफादार थिए ।


झिझाका कुञ्जा पासमान त गाउँका सर्वसाधारणको सुविधाका लागि आफ्नै खर्चमा पुलसमेत निर्माण गराएका थिए ।

धनुषा सदरमुकाम जनकपुरभन्दा सात किलोमिटर पूर्वमा अवस्थित साविक देवडीहा गाविस–३ , हाल नगराईन नगरपालिका–८ अकौडा गाउॅका पासमानहरू जनगणनामा पेसा महलमा चोरी लेखाएको पासमान जातिका अगुवा तथा पूर्व विज्ञान,प्रविधि तथा वातावरण मन्त्री विश्वेन्द्र पासमान कान्तिपुसंगको टेलीफोन सम्पर्कमा स्वीकार गरेका थिए ।


फोन सम्पर्कमा उनले भनेका थिए –‘ हो , झिझा अकौडाका दुसाधहरूले पेसाको रुपमा चोरी लेखाएका थिए तर गणकहरूले सिंगै मुलुकका दुसाधको पेसा चोरी लेखि दिएर हाम्रो जातिलाई अपमानित गरे । पछि हामीले आन्दोलन गरेर सच्याएका थियौं ।’


५६ वर्षीय गंगा पासमानका अनुसार २०४६ सालको राजनीतिक परिवर्तन पश्च्यात् अकौडाका दुसाधहरूमा नयाँ चेतना आएको हो । पञ्चायतकालमा स्थानीय प्रहरी प्रशासन अकौडा र झिझाका दुसाधहरूलाई प्रयोग गरेर बहुदल समर्थकहरूलाई दुख दिएको अनेकौ उदाहरण छन् ।


वरीष्ट पत्रकार राजेश्वर नेपाली पञ्चायतकालीन प्रहरी प्रशासकले सीमावर्ती मधुवनीमा बसी लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै गरेका काँग्रेस नेता शहीद सरोजप्रसाद कोईरालालाई हत्या गराउन झिझेली डाँकाहरूको प्रयोग गरेको सार्वजनिक रुपमै बताउदै आएका छन् ।


स्थानीयहरूका अनुसार तत्कालीन प्रशासनले डाकाहरूलाई बन्दूक र गोली समेत उपलब्ध गराउने गर्थे । उनिहरूलाई आफ्नो मुलुक भित्र चोरी डकैती गर्न भने निषेध थियो । ‘हाम्रो सरदार(प्रमुख)को तत्कालीन एसपी ,डीएसपी र अञ्चलाधीशहरूको बैठक कोठासम्म पहुच थियो । महिनावारी दिएर ‘लाईन’ लिईन्थ्यिो ।’ स्थानीय गंगा पासमानले भने ।


चोरी डकैतीमा संलग्न हुदा कमाई राम्रो हुने भए पनि अत्यधिक मानवीय क्षति भोग्नु परेको थियो भने सिंगै गाउँ आतंकको वातावरणमा बस्न वाध्य थिए । दुसाधहरू चोरी डकैतीमा लागेको बेला वर्षेणी एक दुई जनाको हत्या हुने गरेको स्मरण स्थानीय जोगी पासमानले सुनाए । चोरी डकैतीमा संलग्न भएकै कारण अकौडाका झण्डै २० जनाको हत्या भइसकेको छ भने अनेकौलाई जेल सजाय समेत भोग्नु परेको छ ।


अकौडाका डाॅकाहरूको त्रास नेपालको विराटनगरदेखि नेपालगंजसम्म र भारतको सीमावर्ती गाउॅ—नगरदेखि पटनासम्म थियो । चोरी डकैती र सुपारी लिएर हत्या गर्ने जस्ता आपराधिक गतिविधी गराउन यहाॅका पेसेवर डाॅकाहरूको प्रयोग नेपाल र भारतमा हुन्थे ।


२०४२ साल ताका भारतीय प्रहरीको सहयोगमा सीमावर्ती इटहर्वा गाउँमा अकौडाका दुई युवकलाई हत्या गरिएको थियो भने दुईलाई पक्राउ गरी जेल चलान गरिएको थियो । यस घटनाको प्रतिकारमा अकौडाका दुसाधहरूले चार भारतीयको टाउको काटेर सीमावर्ती हरलाखी थाना अगाडी फालेका थिए ।


देवडीहा गाउँपञ्चायतका तत्कालीन प्रधानपञ्च तथा हालको नगरनराईन नगर पालिकाका मेयर परमेश्वर यादव २०४२ सालको घटना स्मरण गर्दै भन्छन् –‘ घटना पश्च्यात् एक वर्षसम्म गाउँ आतंकित रह्यो । घरी नेपाली प्रहरीले रेड गर्ने हल्ला त घरी भारतीय प्रहरी र जनता गाउँमा आक्रमण गर्न आउँदै छ भने त्रास फैलाईन्थ्यिो ।’


अकौडा नेपाल भारत सीमामै अवस्थित गाउँ हो । अचेल अकौडावासी शिक्षालाई उच्च प्राथमिकता दिन थालेका छन् । दुसाध जातिका युवा युवतीहरू नियमित विद्यालय जान्छन् अनि सरकारी सेवामा पनि जान थालेका छन् । प्रहरी सेवा तथा वैदेशिक रोजगारीप्रति युवाहरूको आकर्षण बढि छ ।


करीव अढाई हजार जनसंख्या रहेको पासमानहरूमध्ये पचास भन्दा अधिक वैदेशिक रोजगारीमा छन् । झण्डै ३०जना प्रहरी सेवामा छन् । केही शिक्षक र अमिन पेसामा पनि छन् । बाँकी खेती पाती र बोनिबुत्तो गरेर जीवन यापन गर्दैछन् ।


साविक देवडीहा गाउँपालिकाका पूर्वउपाध्यक्ष केवल पासवान भन्छन्—‘ हाम्रा पुर्खाहरू वर्षौसम्म चोर—पुलिसको खेल खेले , अवका पुस्ता साधु बनेर समाजमा गुमेको प्रतिष्ठा आर्जन गर्न खोज्दैछन् । ’


शिक्षक प्रेमलाल पासवान नयाॅ पुस्ताका युवकहरू पढाई—लेखाईतर्फ आकर्षित भएको बताउॅछन् । पढाई पछि उनिहरूको पहिलो रोजाई प्रहरी सेवा हुने गरेको उनको कथन छ । धनुषाका तत्कालीन प्रहरी उपरीक्षक कल्याण तिम्लिसिना , विश्व जवरालगायतले झिझा र अकौडाका दुसाधहरूलाई प्रहरी सेवामा आउन प्रोत्साहन गरेको स्थानीयको कथन छ ।


केवल पासमान अढाई दशक यता अकौडाका पासमानहरूको जीवन शैली, सामाजिक प्रतिष्ठा तथा आर्थिक अवस्थामा उल्लेख्य सुधार आएको बताउॅछन् । ‘ पहिले चोरी डकैती गरेर थुप्रै कमाई हुन्थियो तर कसैको घरमा छाना थिएन । गाउँमा एउटै पनि पक्की घर थिएन अहिले मिहिनेत गर्न थालेपछि सबै मिठो मसिनो खान पाएका छन् । राति मस्त निनाउन पाएका छन् । पक्की छाना पनि बनाउन थालेका छन् ।’ उनले भने ।


पासमानहरू सुघ्रिएपछि गाउँको वातावरणमा उल्लेख्य सुधार आएको नगरप्रमुख परमेश्वर यादवको कथन छ –‘ सिमित व्यक्तिको कारण पहिले सिंगै गाउँ त्रसित हुन्थे । अचेल गाउँमा शान्तिपूर्ण वातावरण छ । सबै मिलेर बसेका छन् । उनिहरूको आर्थिक र शैक्षिक अवस्थामा पनि सुधार आएको छ ।’

प्रकाशित : वैशाख १५, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?