१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बालबालिकाको त्रास हटाउन कक्षा

हुरी प्रभावित १६ वटा गाउँमध्ये १० गाउँमा बालमैत्री स्थल बनाएर उनीहरुलाई मनोपरामर्श दिनुको साथै खेलकुद र मनोरञ्जनको माध्यमले त्रास भुलाउने प्रयास
लक्ष्मी साह

बारा — हुरीको चपेटामा परेका बालबालिकाको त्रास हटाउन हुरी प्रभावित क्षेत्रमा १० वटा बालमैत्री स्थल सञ्चालन गरिएको छ । एक दातृ निकायको सहयोगमा हुरी प्रभावित १६ वटा गाउँमध्ये १० गाउँमा १० वटा बालमैत्री स्थल बनाएर उनीहरूलाई मनोपरामर्श दिनुको साथै खेलकुद र मनोरञ्जनको माध्यमले विपद् भुलाउने कक्षा सञ्चालन भइरहेको छ । 

बालबालिकाको त्रास हटाउन कक्षा

कक्षामा प्रोजेक्टरमार्फत कार्टुन, भिडियो तथा कथा सुनाउँदै उनीहरूलाई भुलाउने काम गरिएको छ । परवानीपुर, प्रसौनी, भलुही, भरबलीया, मनगढवा, पुरैनियामा कक्षा सञ्चालन गरिएको छ । प्रत्येक बालमैत्री स्थल (कक्षा) मा ५ वर्षमाथि र १४ बर्ष मुनिका १ सयदेखि १ सय ५० बालबालिका छन् ।

कक्षा संचालन गर्न २० जना महिला र पुरुष सहजकर्ता परिचालन गरी परिवारिक वातावरणमा कक्षा सञ्चालन गरिँदैछ । ‘विपद्पछि बालबालिकामा दीर्घकालीन मानसिक असर पर्न नदिन कक्षा संचालन गरिएको छ, यसले विपद्को त्रास हटेर परिवारिक बातावरणमा घुलमिल हुन सघाउ पुग्छ,’ बालमैत्री कक्षा सञ्चालन गर्ने सामाजिक संस्था ‘संरक्षण नेपाल’ का अध्यक्ष बृजमोहन कुसवाहाले भने, ‘बालबालिकालाई टेन्टमा राखेर ३ महिनासम्म कक्षा सञ्चालन गरिनेछ ।’

भीषण हुरीको चपेटामा २९ जनाको ज्यान गएको थियो, जसमध्ये ६ बालबालिकाले ज्यान गुमाएका थिए । पचासौं बालबालिका घाइते भएका थिए । कतिपयले अभिभावक गुमाएका थिए । ‘विपद्ले बालबालिकालाई जोखिममा पारेपछि बालमैत्री कक्षा संचालन गरी खेलकुद र मनोरञ्जन दिएका छौं,’ कुसवाहाले भने, ‘यसले उनीहरूको मानसिक अवस्था सन्तुलित रहन सहयोग मिल्छ ।’

प्रत्येक दिन कम्तीमा ३ घण्टा बालमैत्री स्थलमा राखेर कक्षा सञ्चालन गरिएको छ । हुरीले झन्डै दुई हजार घर भत्किएकाले सयौं बालबालिकाहरूको कापी, किताब, कलम, खेलकुदलगायतको सामाग्री हराएपछि उनीहरूलाई मानसिक विचलन आएको थियो । ‘दातृ निकायको सहयोगमा कक्षा संचालन गरी बालबालिकाको पीडा भुलाउँदै छौ,’ उनले भने, ‘विस्तारै विपद् भुल्दै छन् ।’

उनका अनुसार कतिपय बालबालिकाले अभिभावक गुमाउँदा अहिले पनि मानसिक पीडामा छन् । ‘बालबालिकाहरूले बास गुमाएपछि समस्यामा परेका छन्,’ उनले भने, ‘सबैलाई एकता गरी कक्षा सञ्चालन गरेका छौं ।’

प्रकाशित : वैशाख १६, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?