३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

निसानामा वन्यजन्तु

मानवीय अतिक्रमण, बिनाअध्ययन सुरू भएका राष्ट्रिय योजना र पातलिँदै गएको वन क्षेत्रले बासस्थान उजाडिँदा वन्यजन्तु संकटमा
रवीन्द्र उप्रेती

महोत्तरी — बर्दिवास नगरपालिका ९ पशुपतिनगरमा जंगली बँदेलको आक्रमणमा परी २ महिलासहित ४ जना घाइते भए  । गएको चैत २८ गते बिहान ९ बजेतिर आफ्नो खेतमा काम गर्न गएका बेला जंगली क्षेत्रबाट आएका बँदेलले ऊनीहरू माथि आक्रमण गरेका थिए  ।

निसानामा वन्यजन्तु

आक्रमणमा परेकामध्ये घुरनी देवीको धरानमा, कलावती देवीको बर्दिवासस्थित मोडल अस्पतालमा, शुभाष आलेको बीएनबी र श्रवण महतोको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ ।

सोही दिन गौशाला नगरपालिका १० स्थित बडेरवामा बिहान १० बजेतिर बस्ती पसेको बँदेलले सिकिन्दर यादवलाई आक्रमण गर्‍यो । यादवको घरभित्रै प्रवेश गरेको बँदेलबाट छोराछोरीलाई बचाउन खोज्दा बँदेलले यादवको दाहिने हातमा टोकेको छ ।
यसअघि पूर्वपश्चिम लोकमार्गस्थित टुटेश्वरको जंगलमा सडक पार गर्न लागेको बँदेलसँग मोटरसाइकल ठोकिँदा रौतहट चन्द्रपुर नपा ५ का ४२ वर्षीय रोशनकुमार काफले घाइते भएका थिए ।

उनको काठमाडौं माईतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । गौशाला नगरपालिका ३ स्थित पचाईन टोलमा नीलगाईको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । भावर क्षेत्रअर्न्तगतको चारकोशे झाडीबाट बस्ति पसेको नीलगाईको आक्रमणमा परी ७५ वर्षीय रामस्वरुप महतोको लालगढ अस्पतालमा उपचारका क्रममा मृत्य भएको थियो ।

पुस महिनामा सुदूर उत्तरवर्ती कालापानी प्रवेश गरेका ३ हात्तीले इन्द्रबहादुर भण्डारीको ४० मनभन्दा बढी धान नष्ट पार्‍यो । हात्तीले आधादर्जन गाउँलेका खेतमा लगाइएको हिउँदे मकै र तरकारी नष्ट गरिदियो । स्थानीय विद्यालयकी प्रअ सानी भण्डारीकाअनुसार छिमेकी गाउँ राजाबासमा सोही हात्तीले दुई परिवारको घर भत्कायो ।

हात्तीका डरले गाउँले साता दिनसम्म रातभर जाग्राम बसेको भण्डारीले बताइन । यसअगि बस्ती पसेको हात्तीले गौशाला १० साविक भरतपुर ९ पडरियाका रामकैलास राउतको छातिमा कुल्चँदा घटनास्थलमै मृत्यु भएको थियो । गर्मीका कारण घरको आँगनमा सुतिरहेका राउतलाई एकाबिहानै गाउँ पसेको हाक्तीले आत्रमण गरेको थियो ।

त्यसको केही समयपछि सिकारीले लखेटदै गएको आक्रोसित बँदेलले गौशाला नपा वडा नं १२ कान्तिवजारकी ६० वर्षीया जानकीदेवीलाई आफनै घरको आगनमा आक्रमण गरेको थियो । बँदेलले टोकेर जानकीको बायाँ हातको कान्छी औला झरेको थियो भने शरीरका अन्य भागमा गहिरो चोट लागेको थियो ।

विगत केही समययता जंगलबाट बस्ती पस्न थालेका दुर्लभ वन्यजन्तु र जिल्लाको उक्तरी क्षेत्रका स्थानीयबीच हुने गरेका संघर्षले दुवैथरि आत्रान्त छन् । बस्ती पसेका वन्यजन्तुलाई करेन्ट लगाएर, गोली हानेर र कतै घेराबन्दी गरी धारिलो हतियारले सिकार बनाउने गरेका घटना यहाँ सामान्य हुन थालेका छन् । पातलिँदै गएको जंगल, मानवीय हस्तक्षेप, पानी र चरिचरणको अभाव तथा चोरी सिकारीका कारण जोखिम बढेपछि वन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन् ।

जिल्ला वन अधिकृत (डीएफओ) वीरेन्द्र यादवकाअनुसार वन्यजन्तु मैत्री विकास संरचना न बनाइँदा पनि समस्या निम्तिएको छ । अहिले विद्युत टावर, सडक, रेल्वे ट्रयाक लगायत राष्ट्रिय महत्त्वका आयोजनाको नाममा वनजंगल फाँडिदै आएका छन् । वन्यजन्तुको सुविधालाई प्राथमिकतामा नराखी निर्माण गरिएका संरचनाले जोखिम बढाएको छ भने सहज आवागमनसमेत अवरुद्ध भएको डीएफओ यादवले बताए । ‘मानव र वन्यजन्तुबीच पछिल्लो समय देखा परेको द्वन्द्वको कारण वन्यजन्तु मैत्री विकास निर्माण उपेक्षित हुनु पनि हो,’ यादवले भने ।

बाँच्नका लागि संघर्ष गर्ने क्रममा बस्ती पसेका वन्यजन्तु दिनहुँजसो सिकारीको निशानामा पर्दै आएका छन । तर वन्यजन्तुले आक्रमण गरेको घटनाले जति छिटो प्रचार पाउँछ मानव आक्रमणबाट सिकार हुने वन्यजन्तुका दुईचार घटना मात्र जानकारीमा आउँछन् ।

केही समयअघि गौशाला नगरपालिका ११ स्थित ढोलन खोलाआसपासको खर घारीमा कान्तिबजार प्रहरीले मरेको बँदेल फेला पार्‍यो । प्रहरीले लक्ष्मिनियास्थित सेक्टर वन कार्यालयको जिम्मा दिएको उक्त बँदेल सिकारीको गोली लागी भाग्दै गरेको अवस्थामा खरघारीमा पुगेर प्राण त्यागेको स्थानीयको अनुमान छ । सेक्टर वन कार्यालय लक्ष्मिनियाका अधिकृत कासीनारायण चौधरीकाअनुसार प्रहरीले बुझाउन ल्याएको बँदेलको कोखामा सानो घाउ थियो । ‘त्यो गोली लागेको डोव हुनुपर्छ’ उनले भने ।

केही दिनअगि बर्दिवास ८ हात्तीलेटको भवसी टोलमा नीलगाई मारेर खाए । उनीहरूले रमाइलोका लागि नीलगाई सिकार गरेको भिडियो फेसबुकमा अपलोडसमेत गरे । सोही आधारमा उनीहरू पक्राउ परे । स्थानीयकाअनुसार एकजना प्रभावशाली नेताको दबाबमा उनीहरू छुटे ।

लगत्तै सोही क्षेत्रमा नीलगाई काटेर मासु भाग लगाउँदै गरेको अवस्थामा बर्दिवास प्रहरीले हस्तक्षेप गरी वनकर्मीको सहयोगमा मासु नियन्त्रणमा लियो । त्यसपछि नपा १ रामनगरमा फेरी बँदेल मारियो । गौशाला प्रहरीले झलक भन्ने सूर्यबहादुर विकलाई बँदेलसहित पक्राउ गरी वन कार्यालयलाई बुझायो ।

माइस्थान सेक्टर वनकाअनुसार कारबाहीपछि विकलाई २४ हजार ४ सय धरौटमा छाडिएको छ । घटना यतिमै सीमित छैन । वन्यजन्तुसँगका अनेकौं रोमाञ्चक घटना केहीसमय यता चर्चामा छन् । जगलसंग जुटेका गहिरीटोल, सातनम्बर, रामनगर, गौशालानगरपालिकाअर्न्तगतको ढल्केवर, हात्तीलेटलगायत सार्लाहीका उत्तरी भेगमा वन्यजन्तुको सिकार गर्नु सामान्य मानिन्छ ।

प्रत्यक्षदर्शीकाअनुसार यहाँका सिकारीले वन्यजन्तु आउने गरेको एरिया एकिन गरी जाल हालेर घेराबन्दी गर्ने र मोटरसाईकलबाट लखेटदै जालमा फसाई सिकार गर्ने गरेको घटनाले पनि चर्चा पाएको छ । जालमा फसाईएका अधिकांश वन्यजन्तु सिकारीको भान्सामा पुगे पनि कतिपयले हरिण, बँदेल, मयुर र नीलगाई खोरमा थुनेर राख्ने गरेका छन् ।

वन्यजन्तु भारततर्फ
गत वर्ष नेपालबाट छिरेको हात्तीले भारतको सीतामढी र मधुवनीमा ४ जनाको ज्यान लिएको घटना सेलाउन नपाउँदै नेपाली जंगलबाट भौतारिएको एक हरिण सीमावर्ति भारतको कन्मा गाउँमा फेला पर्‍यो । स्थानीयले शिव मन्दिरमा घेरेर राखेको हरिणलाई त्यहाँको वन विभागले लिएर गयो ।

भारतीय सीमामा नेपाली वन्यजन्तु पुगेको घटना यसपटक मात्रै होइन । ७० सालतिर गर्मियाममा नेपालबाट भारतको सुरसन्ड छिरेको एक चितुवालाई पटनास्थित संजय गान्धी राष्ट्रिय उद्यानका कर्मचारीले समाएर लगेका थिए । स्थानीयकाअनुसार अहिले पनि सीमावर्ति मलिवारा, भिट्ठामोड, नैनही, वथनाहालगायतका सीमा क्षेत्रमा चित्तल र हरिण देखा पर्ने गरेका छन ।

मलिवाराका विरेन्द्र पाण्डेकाअनुसार रातुको किनारामा आफूले चित्तल र बँदेल देखेको बताए । लगत्तै जंगलबाट भौंतारिएको एक नीलगाई लक्ष्मिनियानजिकको उखु घारीमा बच्चा पाएको घटना स्थानीयको लागि चर्चा बनेको थियो ।

जंगली क्षेत्रका बासिन्दाकाअनुसार यसअगि जंगलमा पानीको अभाव र असुरक्षा भएपछि वन्यजन्तु ओरालो लाग्ने गर्थे । जिवित वन्यजन्तु वर्षा लागेपछि फेरि जंगल फर्कन्थे । पछिल्लो समय विकासको नाममा जंगल नै मासिन थालेपछि वन्यजन्तु पलाएन हुँदै गएको उनीहरूको भनाइ छ ।

दिनहुँजसो भइरहको वन्यजन्तुको चोरी सिकार र दक्षिण पलाएन रोक्न तथा संरक्षण गर्न जिल्ला वनलगायत जिम्मेवार निकाय गम्भीर देखिएको पाइँदैन । वन्युजन्तुको सुरक्षामा देखिएको चुनौतीलाई चर्चा र छलफलमासमेत ल्याउने गरेको छैन । वन्यन्तु सुरक्षामा जिल्ला वनले आफ्नो दायित्व निर्वाह गर्दै आएको दाबी गरेको छ । तर दिनहुँजसो सिकारीको निशानामा परेका वन्यजन्तुका घटनाले त्यसता दाबीको उपहास गरेको छ ।

डिएफओ यादवकाअनुसार प्रदेश मातहतमा आएपछि वनजंगलसम्बन्धी ऐन कानुन निर्माणाधीन अवस्थामा छन् । यसअगि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अर्न्तगत बनेका नियमावलीहरू र प्रचलित नेपाल कानुन अस्तित्वमा थिए । सेक्टर वन कार्यालयका एक कर्मचारिकाअनुसार वन्यजन्तु जंगलका गहना हुन र जैविक विविधताका अभिन्न अंग ।

पुनःसंरचनापछि यिनको सुरक्षामा अहिले कानुनी अडचन छ । ‘प्रदेश सरकार वन्यजन्तु संरक्षणप्रति संवेदनशील देखिएको छैन,’ उनले अनुभव सुनाए, ‘यसको मूल्य निर्दोष वन्यजन्तुले ज्यान गुमाएर चुकाउँदै आएका छन् ।’ गाउँदेखि वन क्षेत्रसम्म हाबी हुँदै गएको ‘सिकारीतन्त्र’ लाई कसरी नियन्त्रणमा लिने नीतिगत निर्णयसमेत हुन नसकेका ती कर्मचारीले जनाए ।

तर जिल्ला वन अधिकृत यादव बढदै गएको चोरी सिकार निरुत्साहित गर्न प्रयास हुँदै आएको दाबी गर्छन । विविध कार्यक्रमसाथ सुरक्षा निकायसँगको सहभागितामा गस्ति निगरानीलाई समेत प्रभावकारीढंगमा अगि बढाएको उनको दाबी छ । तर कानुन अभावले विगतका कतिपय मुद्दा पनि अगि बढन नसकेको समस्यासमेत उनले सुनाए ।

प्रकाशित : वैशाख १७, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?