कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुर्ख्यौली पेसामा मोह

भरत जर्घामगर

सिरहा — पुखौंदेखि गर्दै आएको पेसा छाडेर नयाँ पुस्ता वैदेशिक रोजगारीमा भौंतारिएका छन्  । युवा पिढीले परम्परागत पेसालाई आधुनिकीकरणमा ढाल्न नसक्दा गाउँघरका रैथाने सीपहरू समेत लोप हुन थालेका छन्  ।

पुर्ख्यौली पेसामा मोह

गाउँघरमा फाट्टफुट्ट मात्र अचेल आरन देख्न पाइन्छ । त्यो पनि संकेतका रूपमा ‘पाका’ उमेरका वृद्धवृद्धाका भरमा । तर, पुर्ख्यौली पेसालाई आधुनिकीकरणमा ढालेर सिरहा कर्जन्हा २ बन्दीपुरका ३३ वर्षीय युवा खगेन्द्र लकान्द्री भने ‘बाबुबाजे’ को पेसातर्फ आकर्षित भएका छन् । २०६६ सालमा काठमाडौं मीनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट बिबिएस उतीर्ण गरेका खगेन्द्र बन्दीपुरमा पुर्ख्यौली फेसा ‘खुकुरी’ बनाएर बिक्री गर्न सत्रिय छन् ।

बन्दीपुरमैं बाजे प्रभुराम विश्वकर्माले पहिलो पटक आरन राखेर खुकुरी बनाउँथे । त्यही खुकुरी बिक्रीबाट प्रभुरामको गुजारा चलेको थियो । प्रभुरामको खुकुरी बनाउने पेसालाई उनका छोरा टेक बहादुरले अपनाए । टेक बहादुरले पुर्ख्यौली पेसालाई व्यवसायमा ढाले २०५८ सालमा घरेलु कार्यालयमा ‘मन्दिरा भोजपुरे खुकुरी उद्योग’ को रूपमा दर्ता गरे ।

उद्योगमा दरिएपछि त्यत्तिखेर गाउँघर र जिल्लाभरी खुकुरीको माग बढ्न थाल्यो । त्यसपछि भोजपुरे खुकुरीको रुपमा बन्दीपुरमा निर्मित खुकुरीले स्थान ओगट्यो । २०७२ सालपछि टेक बहादुरले पुर्ख्यौली पेसा छाडिदिए । ‘बुवाले पेसा छाडेपछि लेखापाल जागिर त्यागेर पुर्ख्यौली पेसा अपनाए’ खगेन्द्रले भने ‘अहिले बन्दीपुरे खुकुरीको माग मुलुकभरि होइन, विदेशमा समेत बढ्दो छ ।’

बाजे प्रभुरामको आरनलाई बुवा टेकबहादुरले उद्योगमा दराएको त्यही उद्योगमा कारखाना थपेर खगेन्द्रले ठूला दिगो व्यवसायको पमा उभ्याएका छन् । आरनबाट सुरु बन्दीपुरे खुकुरी विश्वबजारमा बिक्री गर्छन । आफूभने खुकुरी बनाउन नजान्ने खगेन्द्रको खुकुरी उद्योगमा ७ प्रकारको खुकुरी उत्पादन गरिन्छ । बासपाते, भोजपुरे, सिमपाते, चैनपुरे, कोशीमुडा, तिनचिरे, पानचिरे खुकुरी प्रख्यात छन् ।

तीनचिरे र पानचिरे खुकुरी अमेरिका र बेलारुसमा बिक्री हुन्छ । त्यहाँका व्यापारीले ती उत्पादन निर्यात गर्छन् । ती उत्पादनको बजार मूल्य ८ हजार रुपैयाँदेखि सुरु हुन्छ । त्यसैगरी कोशीमडा खुकुरी स्वदेश र विदेशमा समेत मन पराइएको उत्पादन हो । खुकुरी बिँडदेखि दाप (खोल) मा चाँदीमा कलात्मक बुट्टा बनाइएको हुन्छ ।

नेपालमा सबैभन्दा बढी सिमपाते बिक्रीको माग रहेको खगेन्द्र बताउँछन् । २५ सय रुपैयाँ मूल्यबाट सुरु हुने यो खुकुरी घरायसी प्रयोजन घाँस, दाउरादेखि मासु काट्नमा प्रयोग गरिने भएकाले यसको माग बढ्दो छ । आरनलाई सुधार गरी आधुनिकीकरणमा ढालेको उनको उद्योगमा ९ जना कार्यरत छन् ।

उद्योगमा खटिने कामदारलाई उनी मासिक २२ हजारदेखि ५४ हजार रुपैयाँसम्म तलब दिन्छन् । एकजना कामदारलाई खुकुरीको साइज हेरेर ६० वटा बनाउनुपर्ने लक्ष्य दिइएको हुन्छ । ‘कामदारको तलबमा मासिक ३ लाख २० हजार रुपैयाँ खर्च हुन्छ’ युवा व्यवसायी खगेन्द्रले भने ‘उद्योगमा २० लाख रुपैयाँमात्र लगानी गरेको छु ।’

खगेन्द्रको उद्योगबाट उत्पादित खुकुरी दोलखा, रामेछाप, सिन्धुली, उदयपुर, ओखलढुंगा, सर्लाहीको लालबन्दी, महोत्तरीको बर्दिबास लगायत स्थानका थोक व्यापारीले खरिद गरी लैजान्छन् । त्यसका अलावा ती क्षेक्रमा लाग्ने मेला महोत्सवमा स्टल राखी खुकुरी बित्री गर्छन् । हरेकजसो मेला, महोत्सवमा खगेन्द्रको खुकुरी आकर्षणमा पर्छन । ‘माग अनुसार खुकुरी उत्पादन गर्न सकिएको छैन’ उनले भने ‘कहिलेकाही कारखानामा खुकुरी नै हुँदैन ।’

त्यसो त २०६६ असारमा बीबीएस पास गरेलगत्तै फागुनबाट खगेन्द्रले कर्जन्हास्थित फूल कुमारी मेमोरियल अस्पतालमा लेखापालको जागिर पाए । १७ हजार रुपैयाँ तलबबाट जागिर थालेका उनले २०७२ सालमा जागिर छाडेर पुर्ख्यौली पेसा अंगालेका हुन । जागिर छाड्दा उनको तलब मासिक २३ हजार रुपैयाँ थियो ।

तर, उनै खगेन्द्र अहिले कामदारलाई मासिक ५४ हजार रुपैयाँसम्म तलब दिन्छन् । खगेन्द्रले पुर्ख्यौली पेसा ‘मोह’ रैथाने सीप संरक्षणका लागि र स्वदेशमैं पनि केही गर्न सकिन्छ भन्ने दृष्टान्तका लागि सुरु गरेको बताए । १० वर्षको उमेरमा बाया हात फुटबल खेल्नेक्रममा लडेपछि अग्रभाग काम नलाग्ने भएपनि साहस बटुलेर पुर्ख्यौली पेसाको मोहले यो व्यवसायलाई निरन्तरता दिएको उनले सुनाए ।

भन्छन् ‘देश विदेशमा रोजगारीका लागि भौतारिनुभन्दा रैथाने सीप, पेसालाई आधुनिकीकरणमा ढाल्न सकियो भने यही पर्याप्त रोजगारी सिर्जना हुन्छ ।’ रैथाने सीपलाई हेलाँ नगरी आधुनिकीकरणमा परिणत गरी सीप संरक्षण गर्न उनले युवा पुस्तालाई आग्रह गरे ।

प्रकाशित : वैशाख १७, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?