हावाहुरीले विद्युत् अवरुद्ध

महोत्तरी — हावाहुरीले जिल्लाको उत्तरी क्षेत्रमा ब्यापक क्षति गरेको छ  । उत्तर पश्चिम दिशाबाट सोमबार बिहानपख पानीसँगै आएको हुरीले कतै घरका छाना उडाएको छ भने उत्तरी क्षेत्रमा दिनभरजसो विद्यत् सेवा अवरुद्ध रह्यो  । आँप लिचिका चिचिला र तरकारी बालिमासमेत क्षति पुगेको छ ।

प्रहरीकाअनुसार हावाहुरीले भंगाहा सीतापुर ६ हतिसर्वामा लघुवित्त बैकसहित ३ परिवारको टिनको छाना उडाउँदा २ लाखभन्दा बढीको क्षति भएको छ । विपन्न परिवारको छाना उडाएकोले परिवारको बिचल्ली भएको पीडित विश्वेश्वर पासवान र नवलकिशोर साहले दुखेसो गरे ।

यता तीव्र गतिमा आएको हुरिले विधुत प्राधिकरण गौशाला शाखाका पोल र तारमा क्षति पुर्‍याउँदा ७ गाउमा १२ घंटाबढी विद्युत अवरुद्ध भयो । बिहान साढे २ बजेतिर आएको हुरीले विभिन्न स्थानमा पोल ढालेको र ढलक्वेर औरही ३३ केभी प्रसारण लाइनमा क्षति पुर्‍याएपछि सेवा अवरुद्ध भएको शाखाले जनाएको छ । हावाहुरीले ग्रामिण भेगको विधुत पोल र तारसमेत क्षतविक्षत पारेपछि
सेवा दिन विलंव भएको शाखाले जनाएको छ ।

विद्युत् अभावमा ग्रामिण भेगमा इन्टटरनेट सेवा ठप्प हुनुका साथै स्थानीय तहका वडा कार्यालयको सेवासमेत अवरुद्ध भऐको जनाईएको छ । गौशाला नपा वडा नं ९ का वडाध्यक्ष महेशप्रसाद सिंहकाअनुसार विद्युत् अवरोधले नेट र कंप्युटरमा आधारित सेवा अवरुद्ध भएको हो । जन्म , विवाह दर्तालगाएत सामाजिक घटना दर्ता रोक्नु परेको उनले जनाए । त्यस्तै कम्प्युटरमा आधारित सामाजिक सुरक्षा भत्ताको विवरण र हिसाब मिलानमा समेत कठिनाइ भएको नगरपालिकाका अन्य वडाले जनाएका छन् । विद्युत् आउने आसमा सेवाग्राही वडा कार्यालयमा प्रतिक्षारत देखिन्थे ।

दिनभरजसो नै विधुत सेवा नआउँदा स्थानीय बैंकहरूले पनि सहज सेवा दिन सकेनन् । इन्भरटरले लामो समय लोड थेग्न नसक्दा कतिपयले अत्यावश्यक सेवा मात्र दिएका थिए । यता हावाहरीले आप र लिचिका चिचिनामा ब्यापक क्षति पुगेको छ । यो वर्ष आपमा कम फल लागेकाले कृषक उसै पनि चिन्तामा छन् । उसमाथि भएका चिचिना पनि हुरीले झरेपछि अधिकांश आँपका बोट रित्ता भएका छन् । त्यस्तै हावाहुरिसंगै पानी पनि परेकाले खेत तयारी गर्न बाधा पुगेको छ ।

पानीले परवल , फल्न लागेको घिरौला , काँक्रा , लौका , करैला खेतिमा क्षति पुगेको तरकारी किसानले जनाएका छन् । यो वर्ष पटक पटक आएको हावाहुरी र वर्षका कारण मह संकलनमा कमि आएको मौरि पालकले जनाएका छन् । मौसम प्रतिकूल भएको कारण चितौनबाट मौरी लिएर आएका कतिपय किसान फिर्ता गएका छन् ।

ग्रामीण सडकसमेत वर्षाले हिलाम्मे भएको छ । कतिपय सडकमा पानी जमेकोले आवागमन असहज बनेको छ । स्थानिय तहले विकासको नाममा अधिकांश बजेट सडक निर्माण र स्तारोन्नतीमा खर्च देखाएका छन् । तर सामान्य वर्षाले समेत सडक अवरुद्ध भएपछि स्थानीयमा आक्रोश छ ।

प्रकाशित : वैशाख १७, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?