१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अपहरित बालक भारतबाट उद्धार

अवधेशकुमार झा

राजविराज — ५ दिनअघि अपहरित १२ वर्षीय बालकलाई सप्तरी प्रहरीले सोमबार मध्यराती भारतीय भूमिबाट बेहोस अवस्थामा उद्धार गरेको छ  । सप्तरीको राजगढ गाउपालिका ३ का जागेश्वर यादवका १२ वषर्ीय छोरा लक्ष्मणकुमार यादवलाई सप्तरी प्रहरीले सोमवार मध्यराती भारत बिहारको सितामढी जिल्ला अन्तर्गत शिबहरवाट बेहोस अवस्थामा उद्धार गरिएको हो  ।

सप्तरी प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी उद्धार गरिएका बालकलाई उनको परिवारको जिम्मा लगाए ।
आफ्नै मामाको बिहेमा जन्ती गएका बालक लक्ष्मणलाई गत वैशाख १३ गते राती अपरिचित समुहले अपहरण गरि भारतीय भूमिमा पुरर्‍याएको पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले जानकारी दिए ।


बालकको मामाको बिहे रहेको घरमा दुईवटा बिहे सोही दिन रहेकोले अर्के जन्तीको गाडीमा चढेर अरू ठाउँ गएको हुन सक्ने आशंकामा परिवारले खोजतलास सुरु गरेको थियो । तर खोजतलासका क्रममा बालक कही पनि फेला नपरेपछि बालकका मामा भोलेन्द्र यादबले जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिदै आफ्ना भान्जा हराएकोले खोजतलास गरिदिन अनुरोध गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा सप्तरी प्रहरीले बालक हराएको नभई अपहरणमा परेको खुलेपछि सिमा क्षेत्र र भारतीय भूमिमा खोजतलास सुरु गरेको थियो ।


एसपी बिष्टको नेतृत्वमा २३ जना प्रहरी सादा पोसाकमा अपहरित वालकलाई खोज्न भारतीय भुमीमा परिचालित भएका थिए । प्रहरीसंगै परिवारका पनि सदस्य खोजतलासमा जुटीरहेका बेला अपहरित बालकका काका वीरेन्द्रलाई अपहरणकारीले ५० लाख रुपैयाँ फिरौती माग गरेका थिए भने मुम्बईमा रोजगार गरिइरहेका उनका बुवा जागेश्वरलाई पनि फोन गरी रकम मागेका थिए ।


फिरौती मागिएको मोबाइल नम्बर पछ्याउँदै एसपी बिष्ट सहितको सादा पोसाकको प्रहरी टोली भारत बिहारको दरभंगादेखि सितामढी सम्म खोजतलासको कार्य तिब्र पारेको थियो । 'भारतीय प्रहरीलाई जानकारी दिइए बालकको ज्यान जोखिममा पर्न सक्ने खतरा रहेकाले हामीले उनीहरूलाई थाहा नदिईकनै खोजतलासमा लाग्यौं,' एसपी बिष्टले भने, 'अपहरणकारीले बालकको परिवारले रकम दिन नसक्ने तथा प्रहरीले खोजी तिब्र पारेको थाहा पाएपछि बिहारको सितामढी जिल्ला अन्तरगत शिबहर स्थित एउटा होटेलमा ल्याएर बेवारिसे अबस्थामा छोडेर भागे ।'


'शिवहर स्थित होटेलमा बालकलाई फेला पार्ने मसहितको टोलीमा वालकको परिवारका कोही सदस्य थिएनन्, जसका कारण बालकलाई ल्याउन निक्कै कठिन भयो', एसपी बिष्टले भने, 'बालकलाई नशालु पदार्थ खुवाएर लठ्ठ पारिएको थियो, स्थानिय वासिन्दाले उल्टै हामीमाथि नै आक्रमणको प्रयास गर्ने स्थिती थियो ।'

बालक लक्ष्मण ब्युझिँदा एसपी बिष्ट सहितको नेपाल प्रहरीको सादा पोसाकको टोलीले नेपालीमा उनीसित कुरा गरेपछि उनले पनि जवाफ फर्काएपछि मात्र स्थानीयले प्रहरीलाई बालक ल्याउन दिएका थिए । मंगलबार बिहान राजविराज ल्याईएपछि वालकको स्वास्थ्य जाँच गराइएको छ । मंगलबार दिउँसोसम्म बालक लठि्ठएकै अबस्थामा रहेको तर बिस्तारै सामान्य हुँदै गएका छन् । पत्रकार सम्मेलनमा वालक लक्ष्मणले आफुलाई मोटरसाइकलमा दुईजना ब्यक्तीले राती मुखमा टेप टाँसेर हात बाँधी लगेको बताए ।


'प्रारम्भमा बालकलाई सकुशल उद्धार गर्नु हाम्रो जिम्मेवारी थियो' एसपी बिष्टले भने,'अब अपहरणमा संलग्न भएकाहरूको खोजी कार्य सुरु गरेका छौ ।×' उनले नेपाली भुमीवाट उठाउने ब्यक्तिले भारतीय कुनै समूहलाई उनलाई सुम्पेको र त्यो समूहले पनि अर्को समूहलाई सुम्पदै सेल्टर बनाई बालकलाई राखेको अनुसन्धानबाट देखिएको बताए । प्रहरीले बालक लक्ष्मणको अपहरणमा संल्गन भएको आशंकामा तीनजना नेपाली नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिइरहेको जनाएको छ ।

प्रकाशित : वैशाख १८, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?