कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किर्तेमा थप दुई पक्राउ

अवधेशकुमार झा

राजविराज — किर्ते गरि उपभोक्ता समिति निर्माण गरेको आरोपमा थप दुईजनालाई सप्तरी प्रहरीले सोमबार साझ नियन्त्रणमा लिएको छ  । रुपनी गाउँपालिका ६ वीरेन्द्रवजारका दिलिप दास र रमाकान्त ठाकुरलाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ  ।

पक्राउ परेकाहरूमध्ये ठाकुर किर्ते गरि गठन गरिएको उपभोक्ता समितिमा छन् भने दास किर्ते उपभोक्ता समितीको सडक निर्माण काम गराउने ब्यक्ति हुन् । दास राजपाका नेता समेत हुन् ।


दुबैजनालाई मंगलबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । किर्ते गरी उपभोक्ता समिति गठन प्रकरणमा प्रहरीले यो दुईजना समेत पाँचजनालाई अहिले सम्म नियन्त्रणमा लिएको हो । यस अघि पुर्व सासंद तथा राजपा नेपालका केन्दि्रय सदस्य विपी यादव भनिने बिश्वनाथप्रसाद यादव, राजपाका अर्का केन्दि्रय सदस्य हरिनारायण मण्डल र पुर्वाधार बिकास कार्यालय सिरहाका सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइतलाई नियन्त्रणमा लिएको थियो ।


उनीहरू तिनजनालाई थप पाँचदिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत सप्तरीले सोमवार म्याद दिएको छ । प्रदेश नम्बर २ को भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्तरगत संचालित योजनामा सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउपालिकाको वडा नम्बर २ र ३ जोडने सडक तथा छिन्नमस्ता गाउपालिकाको वडा नम्बर ५ स्थित लालु दासको घरदेखी पश्चिमको सडकसम्बन्धी योजनामा किर्ते गरि उपभोक्ता समिती गठन गरिएको आरोप छ ।


सो प्रकरणमा प्रहरीले ११ दिन अघि पूर्वसांसंद तथा राजपा नेपालका केन्दि्रय सदस्य विपी यादव भनिने बिश्वनाथप्रसाद यादव तथा राजपाकै अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डललाई नियन्त्रणमा लिएको थियो । सोही प्रकरणमा किर्ते उपभोक्ता समितीसित योजना सम्झौता गर्ने पुर्वाधार बिकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइतलाई प्रहरीले गत शनिवार सिरहाबाटै नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका तिनै आरोपीलाई उकसाथ सामेल गरि सोमबार पाचदिनको म्याद थप भएको हो । यस अघि यादव र मण्डललाई पहिलो पटक चारदिन तथा दोश्रो पटक सातदिन गरि दुईपटक म्याद थप भईसकेको थियो भने सिडिई गोइतलाई पहिलो पटक दुईदिनको म्याद थप भएको थियो । सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप भएको हो ।

सो प्रकरणमा प्रहरीले यादवर मण्डलको घरवाट बिभिन्न सरकारी कागजात र नागरिकता लगायतका सिफारिस पत्रहरू समेत बरामद गरेको थियो । पक्राउ गरिएका विपी र हरिको पक्षबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट उच्च अदालत जनकपुरको राजविराज इजलासले खारेज गरिइसकेको छ ।


मुद्दाका अनुसन्धान अधिकृत तथा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले अनुसन्धान कार्य जारी रहेको बताए । यसैबीच छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डल र छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ का स्थानिय अनिलकुमार मिश्रले जिल्ला प्रसासन कार्यालयमा उजुरी दिँदै आफुहरूको सिफारिसलाई किर्ते गरि अन्यत्र प्रयोग गर्ने उपर हदै सम्मको कारवाही माग गरेका छन् ।

छिन्नमस्ता ५ का अनिलकुमार मिश्रको निवेदनपछि गाउपालिका उपाध्यक्ष मण्डलले खानेपानी ट्याङ्कीका लागि खानेपानी तथा सरसफाइ १ नम्बर डिभिजन राजविराजका नाममा गत मंसिर २४ गते चलानी नम्बर ३१० को सिफारिस पत्र दिएको थियो ।

निवेदक अनिल मिश्रलाई दिइएको सो चलानी नम्बरको पज्ञ छिन्नमस्ता ५ को सडकको उपभोक्ता गठन प्रयोजनका लागि प्रयोग भएपछि उपाध्यक्ष मण्डलले जिल्ला प्रसासनमा उजुरी दिदै कुनै सडकको उपभोक्ता समितिका लागि ३१० नम्बर चलानीको पत्र नदिएको तर कसैले किर्ते गरी उक्त पत्र अन्यत्र प्रयोग गरेको जनाएकी छन् ।


उक्त सिफारिस लिने छिन्नमस्ता ५ का अनिल मिश्रले पनि सोमवार जिल्ला प्रशासन कार्यालय सप्तरीका उजुरी दिँदै आफ्नो गाउँमा योजना पारिदिने भन्दै पुर्व सासंद विपी यादवले आफुलाई बताएपछि खानेपानी ट्याङ्की प्रयोजनका लागि गाउँपालिकाबाट सिफारिस लिएको र सो सिफारिस पूर्वसासंद यादवलाई दिएकाले आफूले किर्ते नगरेको बताएका छन् ।

प्रकाशित : वैशाख १८, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?