१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

हुलाकी सडक निर्माणलाई तीव्रता दिन माग गर्दै मोटरसाइकल र्‍याली

श्यामसुन्दर शशि

(जनकपुर) — हुलाकी सडक तथा कमला पूल निर्माणलाई तीव्रता दिन माग राख्दै सार्वजनिक निर्माण सरोकार समाजले बिहीबार मोटरसायकल र्‍याली निकालेको छ । र्‍यालीमा जनकपुर उपमहानगरपालिका, कमला, शहीदनगर, हंसपुर, विदेह नगरपालिका तथा औरही र जनकनन्दनी गाउँपालिकाका उपभोक्ताहरुको उल्लेख्य सहभागिता थियो । 

हुलाकी सडक निर्माणलाई तीव्रता दिन माग गर्दै मोटरसाइकल र्‍याली

मध्य र पूर्वी धनुषाका सयौं सेवाग्राही जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रधानमन्त्रीलाई पाँच बुँदे ध्यानाकर्षण पत्र पनि बुझाएका छन् । उनीहरुले प्रदेश २ का मुख्यमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा हुलाकी सडक महानिर्देशनालयको समेत ध्यानाकर्षण गराएका छन् ।


ध्यानाकर्षण पत्रमा सार्वजनिक खरीद ऐनमा संशोधन, कमला पुलका निर्माण कम्पनी पप्पु कन्ट्रक्सनमाथि कार्यबाही तथा अधुरा कार्य तत्काल पूरा गर्नुपर्ने, हुलाकी सडक छेउको सर्वसाधारणको सहमतिबिना खनेकोले सम्बद्ध जग्गाधनीलाई क्षतिपूर्ति, सडक निर्माणको क्रममा विस्थापित नागरिकलाई मुआब्जा तथा विकास निर्माण कार्यालयहरुले लगत इस्टीमेट लगायतकागजात सार्वजनिक गर्नुपर्ने माग अघि सारिएको छ । गत फागुन १६ गते विदेह नगरपालिकास्थित तीनकौरिया चौकमा बसेको बृहत् बैठकले निर्माण कार्यलाई तीव्रता दिन तथा गुणस्तर निगरानी गर्न नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्री रामचन्द्र झाको अध्यक्षतामा दबाब समूह गठन गर्ने निर्णय गरेको थियो ।


सरोकार समाज हुलाकी सडक, शहीदपथ, वीरेन्द्रबाजार-महिनाथपुर सडक तथा कमला पूलको निर्माणमा हुँदै गरेको ढिलाई र गुणस्तरको निगरानी गर्नुका साथै सकारात्मक दबाब दिने अध्यक्ष झाले बताए । सिरहा र धनुषा जिल्लाको सीमामा रहेको कमला नदीमा पुल निर्माणको ठेक्का वन्दोवस्त २०६८ साल जेठ ३१ गते भएको थियो । सम्झौता अनुसार ४२ महिनामा निर्माण भइसक्नु पर्ने उक्त पुल अझै पनि बन्न सकेको छैन । स्थानीय नागेन्द्र साहका अनुसार प्रस्तावित २६ पिलरमध्ये हालसम्म १३ वटामात्र निर्माण भएको छ ।


हुलाकी राजमार्ग तराईका २२ वटै जिल्ला जोड्ने पुरानो राजमार्ग भए पनि यसको निर्माण हालसम्म हुन सकेको छैन । सडक निर्माणको थालनी २००५ सालमा राणा प्रधानमन्त्री पद्म शमशेरले गरेका थिए ।

प्रकाशित : वैशाख १९, २०७६ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?