२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

महिलाको फेरि शंकास्पद मृत्यु

भरत जर्घामगर

सिरहा — आगो लगाई हत्या गरिएकी कञ्चन मण्डलको घटना सेलाउन नपाउँदै सिरहामा अर्को एक महिला घरमै मृत फेला परेकी छन् । घरमा सुतेको अवस्थामा सिरहा नगरपालिका १४ स्थित खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल बिहीबार राति मृत भेटिएकी हुन ।

उनलाई घाँटीले थिचेर हत्या गरिएको आशंका गरिएपनि सिरहा प्रहरीले यसबारेमा प्रष्ट खुलाउन सकेको छैन । हत्या भएलगत्तै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक जीवन श्रेष्ठले मनिषासम्बन्धि घटनाको अनुसन्धान शव

परीक्षण प्रतिवेदनपछि मात्रै गर्ने जनाए । मनिषाको मृत्युबारे सोधपुछ गर्न पति रमेश मण्डल र सासु तारा मण्डललाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको बताए ।


यता, मृतक मनिषाका बुवा रघुनाथ मण्डलले छोरीको बिहे भएलगत्तै सासु तारा मण्डलले थप दाइजो ल्याउन दबाब दिँदै आएको आरोप लगाए । गत फागुन १६ मा गोलबजारमा रमेश र मनिषाको विवाह भएको थियो ।


'विवाहको केही दिनपछि घरमा माइती पक्षबाट दिएको दाइजो कम भएको छोरीले फोनबाट भन्ने गर्थी' रघुनाथले भने 'पछिपछि त आफूलाई दाइजोको निहुँमा यातना समेत दिन थालेको गुनासो गर्थिन ।' उनले छोरीको मृत्युलाई अन्यत्रै मोड्न खोज्ने प्रयास भइरहेको गुनासो गर्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरे ।


कञ्चनको अनुसन्धान जारी

यसअघि कल्याणपुर नगरपालिका ८ की २१ वषर्ीया कञ्चनदेवी मण्डल खत्वेको शरीरमा उनकै पति बेचन मण्डल र सासू सूर्जीले गत वैशाख १२ मा आगो लगाएका थिए । आगोले शरीरको अधिकांश भाग जलेको कञ्चनको वैशाख १३ मा साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।


आफ्नै पति र सासूद्वारा जिउँदै जलाएर मृत्यु भएकी सिरहाको कल्याणपुर ८ की २१ वर्षीया कञ्चनदेवीको घटनाको अनुसन्धानलाई प्रहरीले तीब्र पारेको छ । प्रहरीले कञ्चनले आफूलाई पति र सासूले जलाएको भनेर मृत्युकालीन घोषणा गरिसकेकोले प्रहरीले त्यसैलाई आधार मानेर अनुसन्धान अगाडि बढाएको छ ।


जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले कञ्चनले आफूलाई पति र सासुले जलाएको भनेर मृत्युकालिन घोषणा गरिसकेकोले अनुसन्धान अहिलेलाई त्यतैतर्फ अगाडि बढेको बताए । उनले पीडित पक्षबाट जाहेरी समेत दिइसकिएको र पति बेचन मण्डलको खोजी भइरहेको जानकारी दिए ।


जलिरहेकी कञ्चनलाई प्रहरीले तत्कालै उद्धार गरी मिर्चैयास्थित मंगलम हेल्थ केयर सेन्टरमा पुर्‍याएको थियो । केही होस अवस्थामा रहेकी कञ्चनसँग त्यहाँ इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालसँग त्यो अवस्थामा घाइते कञ्चनले आफूलाई आफ्नो पति तथा सासुले आगो लगाएको बताएकी थिइन् ।

प्रकाशित : वैशाख २१, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?