दुर्घटना घटाउन ट्राफिक सचेतना

पवन यादव

सिमरा — बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले सरोकारवालाई सचेत गराउन थालेको छ  । कार्यालयले प्रदेश नं. २ का विद्यार्थी, शिक्षक, सर्वसाधारण, यात्रु, चालक लगायतलाई ट्राफिक कक्षामा सहभागी गराएर ट्राफिक नियमबारे जानकारी गराएको हो  ।

प्रदेश नं. २ प्रदेश ट्राफिक प्रहरीले ट्राफिक नियमसम्बन्धी पुस्तक, पम्प्लेट वितरण गर्दै सचेतना फैलाउन थालेको छ । ट्राफिक प्रहरीले पथलैया, सिमरा प्रभातफेरी गरिएको छ । मादक पदार्थ सेवन गरी सवारी नचलाऔं, रातको समयमा हेडलाईट, डिम बत्तीलाई आवश्यकता अनुसार प्रयोग गरौं, जथाभावी सडक नकाटौं लगायतका नारा अंकित प्ले कार्ड बोकेर र्‍यालीमा सहभागीले नगर परिक्रमा गरे । फिक्यु एन ग्लोबल रोड सेफ्टी सप्ताह २०१९ को अवसरमा नगर उद्योग वाणिज्य संघ जितपुर सिमरा र होटल तथा पर्यटन व्यवसायी संघ बाराको सहयोगमा प्रभातफेरी गरिएको हो ।

जितपुर सिमरा उपमहानगरपालिका प्रमुख डा.कृष्ण पौडेलको प्रमुख आतिथ्य तथा प्रदेश नं. २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक यज्ञ बहादुर पालको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला सचेत हुनुपर्ने जानकारी गराए । उक्त अवसरमा जितपुर सिमरा नगर क्षेत्रका ५ वटा विद्यालय तथा कलेजका गरी विद्यार्थीलाई एक सय थान सवारी चालक अनुमतिपत्र पुस्तक तथा ट्राफिक नियमबारे जानकारी दिने ब्रोसियर समेत वितरण गरिएको प्रदेश नं. २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रवक्ता ट्राफिक प्रहरी निरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए ।


ट्राफिक नियमबारे जानकारीको अभावमा जथाभावी बाटो काटिँदा, जथाभावी सडकमा सवारी साधन रोकिदा लगायतका कारण सवारी दुर्घटना भइरहेको बताए । ‘ट्राफिक नियम उल्लंघन गरेकै कारण धेरै दुर्घटना हुने गरेको देखिन्छ,’ उनले भने, ‘ट्राफिक नियम बुझेपछि धेरै दुर्घटना घट्छ ।’ सवारी दुर्घटनाबाट जोगिन र अरुलाई जोगाउन ट्राफिक सचेतना शिक्षा अति आवश्यक रहेको उनले जानकारी दिए । ट्राफिक सचेतनाबाटै धेरै मानिसको ज्यान जोगाउन सकिने र सवारी दुर्घटना घटाउन सकिने उनको जिकिर छ ।

ट्राफिक शिक्षाबारे जानकारी गराउन चालु आर्थिक वर्षको अहिले सम्ममा प्रदेश नं. २ भरीमा एक सय ८० वटा ट्राफिक शिक्षा कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए । कक्षामा सहभागी भई १७ हजार ६ सय ८७ जना विद्यार्थीले ट्राफिक नियमबारे जानकारी पाएका छन । सोही अवधिमै छुटाछुट्टै स्थानमा गरी २९ पटक सवारी चालकको सडकमै स्थानीय चिकित्सबाट स्वास्थ्य परीक्षण गरिएको छ । त्यस क्रममा २ हजार ६ सय ५८ जना चालकको कलर भिजन टेस्ट, आँखा जाच, ब्लड प्रेसर जाँचसमेत गरिएको उनले जानकारी दिए ।


उनका अनुसार सोही अवधीमै प्रदेश नं. २ भरीमा गरी ७१ हजार ७ सय ४० जना यात्रुलाई ट्राफिक नियम र दुर्घटनाबाट जोगिने उपाय बारे ट्राफिक प्रहरीले जानकारी गराएको छ ।

प्रकाशित : वैशाख २५, २०७६ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?