३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नगरका विकास योजना प्रभावित

जनप्रतिनिधि विवाद
ओमप्रकाश ठाकुर

सर्लाही — जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा पर्ने हरिपूर्वा नगरपालिकामा चालू आर्थिक वर्षको विकास निर्माण योजना प्रभावित भएको छ  । निर्वाचित जनप्रतिनिधिको विवादका कारण योजना प्रभावित भएको हो  ।

हरिपूर्वा नगरपालिकाका मेयर सियाराम राय अढाई महिनादेखि कार्यालय गएका छैनन् । कार्यवाहक प्रमुखको जिम्मा पाएकी उपप्रमूख चन्द्रकला देवीले काम गराउन सकिरहेकी छैनन् । नगरपालिकामा कार्यपालिका सदस्यमा रहेका वडाध्यक्ष सदस्य जनप्रतिनिधिबीच दैनिकजसो विवाद बढदै गएको छ ।

नगर प्रमुख सियाराम राय विवाद सम्हाल्न नसकेपछि कार्यालय आउन छाडेका हुन् । उनले भने आफू अस्वस्थ्य रहेकाले कार्यालय नआएको बताएका छन् । नगर उपप्रमुख चन्द्रकला देवीले योजना कार्यान्वयनका लागि सहमति जुटाउन सकेकी छैनन् । जनप्रतिनिधि र नेताको खिचातानीका कारण विकास निर्माण योजना रोकिएकोमा उपभोक्ता चिन्तित छन् । अर्थिक वर्ष अन्त्य हुन लाग्दासम्म हरिपूर्वा नगरपालिकाको अधिकांश योजना सम्झौता र कार्यान्वयन हुन सकेको छैन ।


जनप्रतिनिधि आफै विवाद गर्दै समय खेर फालेको भन्दै स्थानीयबासी आक्रोसित छन् । जनप्रतिनिधिमार्फत गाउँ, टोलको विकास हुने सर्वसाधारणको आशा निराशामा परिणत भएको उपमेयर देवीले बताइन् । ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि नागरिकले धेरै आशा गरेका थिए, तर अनावश्यक विवादले निराश तुल्याएको छ,’ उपप्रमुख देवीले भनिन्, ‘विकास निर्माण योजना कार्यान्वयन गर्न नसक्दा नागरिकले स्थानीय सरकारको अनुभूति गर्न पाएका छैनन् ।’


जनप्रतिनिधिबीच विवादका कारण नगरप्रमूख राय कार्यालय आउन छाडेको उपप्रमुख चन्द्रकलाले बताइन् । नगर प्रमुख कार्यालय नआउँदा सेवाग्रहीको काम गर्न विलम्ब भइरहेको स्थानीय जय प्रकाश यादवले बताए । नगरपालिकाले चालू वर्षको पुँजीगत रकम खर्च गर्न सकेको छैन । गत वर्षको ५ करोड रुपैयाँ समेत काम नगरेपछि खर्च हुन सकेको छैन । नगरप्रमुख कार्यालयमा उपस्थित भएर विकास योजनको निर्माण कार्य तिव्रता दिनुपर्ने, न्यायिक समितिलाई सक्रिय बनाउनुपर्ने, नगरपालिकाका नाममा रहेका जिन्सी सामानको विवरण सार्वजनिक गर्नुपर्ने, नगरको सवारी साधनको दुरुपयोग रोक्नुपर्ने लगायत सरोकारवाला स्थानीयबासीले माग गर्दै आएका छन् ।


हरिपूर्वा नगरमा गत वर्ष पनि विवादकै कारण ५ करोड रुपैयाँ बराबरको काम हुन नसकेपछि रकम खर्च भएको थिएन । नगरपालिकाको बहुमत कार्यपालिका सदस्यले गतवर्षको रकम खर्चेर मात्र यसवर्षको योजनाको रकम खर्च गर्ने भन्दै आएका छन् । तर नगर प्रमूख र उपप्रमूखले दुई आर्थिक वर्षको योजना यसैवर्ष कार्यन्वयन गर्ने बताएका थिए ।


तर यही विषयमा प्रमूख, उपप्रमूख र कार्यपालिका सदस्यबीच विवाद छ । विवादपछि उपप्रमूखलाई कार्यवाहक दिएर कार्यार्लय आउन छोडेका छन् । नगरपालिकाको कार्यपालिका सदस्यमा राष्ट्रिय जनता पार्टी राजपाको बहुमत छ । नगर प्रमुख र उपप्रमुखसहित केही वडा कांग्रेसबाट निर्वाचित छन् ।


नगरपालिकाले अस्ती चैत २७ गते कार्यपालिका बैठक बोलाएको थियो । बैठकमा तीन वटा प्रस्तावमा हस्ताक्षर गराए पनि वडाध्यक्षलाई जानकारी नदिइ १६ वटा योजनाको प्रस्ताव ल्याएपछि प्रमुखले हस्ताक्षर गर्न नमान्दा विवाद बढेको बताए । ‘बैठकमा तीनवटा प्रस्ताव आयो, तीनवटै प्रस्ताव सर्वसम्मतले पारित गर्ने भनेर म आफ्नो कार्यकक्षमा गएँ, पछि उनीहरूले १६ वटा प्रस्ताव लेखेर ल्याए,’ कार्यवाहकको जिम्मा पाएकी उपमेयरले भनिन्, ‘मलाई जानकारी नै नभएको प्रस्ताव लिएर आउँदा मैले हस्ताक्षर गर्न मानिन, हस्ताक्षर नगर्दा उनीहरू विवाद गर्दैछन् ।’


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङले जनप्रतिनिधिबीच विवादका कारण विकास निर्माणका काम हुन नसकेको बताए । ‘संसदीय विकास कोषको रकमबाट हरिपूर्वालाई विद्युतीकरण गर्ने योजना छ, तर त्यो काम नगरमार्फत गर्ने कि विद्युत प्राधिकरणमार्फत गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद छ,’ उनले भने, ‘दुई पक्षबीचको विवादले नगरपालिकाको विकास निर्माणमा बाधा भएको छ ।’

प्रकाशित : वैशाख २५, २०७६ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?