बालविवाहविरुद्ध नाटक

श्यामसुन्दर शशि

जनकपुर — बालविवाहको दर उच्च रहेको प्रदेश २ मा बालविवाह अन्त्य गर्ने उद्देश्यले परिवार कल्याण संघले ‘बाल विवाह जिनगी तवाह’ नाटक लिएर गाउँ पुगेको छ । 

बालविवाहविरुद्ध नाटक

अभियानको तेस्रो शृंखला शनिबार पूर्वी धनुषाको सबैलामा मञ्चित नाटकमा महिला–पुरुष, किशोर–किशोरी तथा बालबालिका सहभागी भए । कलाकार बिएन पटेल र रीना यादवको समूहले मञ्चन गरेको नाटकले उनीहरू भावुक बने ।


अनि बालविवाहको कारण महिलाको जनस्वास्थ्यमा पर्ने असरबारे प्रसूति रोग विशेषज्ञ डा.रुवि सिंहको अभिव्यक्ति सुने । बालविवाहविरुद्ध नयाँ कानुनी प्राबधानबारे अधिवक्ता रेखा झाको जानकारीमूलक सन्देश र बालविवाह गर्ने किशोरकिशोरी र उनको परिवारलाई नगरपालिकाले सेवासुविधाबाट वञ्चित गर्ने सबैला नगरपालिकाका मेयर विजयशंकर साहको चेतावनी पनि सुने ।

नाटकमा ९ कक्षामा पढदै गरेकी छोरीलाई पढाई छोडाएर जर्बजस्ती बिहे गराइन्छ ।


बेहुला बेरोजगार भएकोले आफ्नो श्रीमतीको न्युनतम् आवश्यकता समेत पूरा गर्न सक्दैन । अल्पायुमै विवाह गरिएको कारण उच्च शिक्षा र शिपबाट वञ्चित भएका केटा राम्रो रोजगारी पनि पाउदैन । यता सासुससुराले गर्भवती बुहारीलाई कुटपिट गरी माइती पठाउँछन् । अल्पायुमै गर्भवती बनेकी किशोरीको अस्पतालमा मृत्यु हुन्छ । किशोरीको मृत्यु भएको दृश्यले दर्शकलाई रुन बाध्य पार्छ । नाटक हेर्दै गरेकी मनोरमा साहले भनिन्,‘ म आफ्नो छोरीको बिहे २० वर्ष पूरा भए पछिमात्र गर्नेछु ।’


राष्ट्रिय जनसंख्या कोषको अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्ने मध्ये ४३ प्रतिशत र सहरमा बस्ने २७ प्रतिशत महिलाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा १५ देखि १९ वर्षको उमेरमा बच्चा जन्माउनेहरू २७ प्रतिशत छन् ।


प्रसूतिरोग विशेषज्ञ डा.सिंहका अनुसार २० वर्षमुनि गर्भधारण गर्दा आमा र शिशु दुबैको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ । यसका अतिरिक्त बाल र मातृ शिशु मृत्यु दर बढ्ने, अल्पायु आमाको कोखबाट जन्मलिने बच्चामा कुपोषण, शारिरीक तथा मानसिक विकासमा कमी जस्ता लक्षणहरू पनि देखा पर्ने सम्भावना उच्च हुन्छ । ‘सानै उमेरदेखि गर्भधारण गर्ने भएकोले बालविवाह हुने महिलाहरूले धेरै बच्चा जन्माउने अनि असमयमै बच्चादानी झिक्नु पर्ने अवस्था पनि देखेकी छु,’ डा.सिंहले भनिन् ।


अधिवक्ता झाले मुलुकी अपराध(संहिता) ऐन, २०७४ भाग २ को परिच्छेद ११ अन्तर्गत विवाह सम्बन्धि कसुरको दफा १७३ले बालविवाह रोक्न कडा प्राबधान ल्याएको दावी गरेकी छन् । उनले भने, ‘अब बालविवाह गर्ने र गराउनेहरू कानूनी कठघरामा आउने पक्का छ ।’ बालविवाह गर्नेहरूलाई विवाह दर्ता, बालवालिकाको जन्मदर्ता लगायतका कानूनी सुविधाबाट समेत वञ्चित गरिएकोले बालविवाहमा कमि आउने उनको दावी छ ।

प्रकाशित : वैशाख ३०, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?