१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

खुला दिसामुक्त भएको एक वर्षपछि चर्पी

भरत जर्घामगर

सिरहा — धनगढीमाई नगरपालिका १३ को दलित विपन्न मुसहर बस्तीका अधुरा शौचालय प्रयोगविहीन भएपछि वडा कार्यालयले शौचालय निर्माण सुरु गरेको छ । दलित मुसहर समुदायका ४५ घरधुरी रहेको बस्तीमा शौचालय निर्माणका क्रममा डेढ वर्षअघि धनगढीमाई नगरफालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो ।

खुला दिसामुक्त भएको एक वर्षपछि चर्पी

खुला दिसामुत्त घोषणा भए पनि अधुरो र जीर्ण चर्पीका कारण बस्तीका महिला पुरुष बस्ती छेवैको बाबुराम खोलामा खुला शौच गर्न थालेपछि वडा कार्यालयले पक्की चर्पी निर्माण सुरु गरेको हो । गाउँ ब्लक जग्गामा बसोबास गर्दै आएका मुसहर परिवार मजदुरी गरी गुजारा चलाउँछन् । खोला नै दुर्गन्धित हुन थालेपछि वडा कार्यालयले लगानी गरी घरलौरी पक्की चर्पी निर्माण सुरु गरेको हो ।


चर्पी निर्माणका लागि वडा कार्यालयले ४ लाख रुपैयाँ र स्थानीय दलित जनकल्याण युवा क्लबको १ लाख २५ हजार रुपैयाँ सहयोग गरेको धनगढीमाई नगरपालिका १३ का वडाध्यक्ष सूर्यमान तामाङले जानकारी दिए । ‘क्लब र वडाको ५ लाख २५ हजार लागतमा बस्तीमा चर्पी निर्माण गरेका छौं,’ वडाध्यक्ष तामाङले भने, ‘दिनभरि अरूको मजदुरी गरी गुजारा चलाउँदै आएका दलित मुसहर परिवारले रकम जोहो गर्न नसकैका कारण चर्पी निर्माण गर्न नसकेपछि वडा कार्यालयबाट सहयोग गरेका हौं ।’


‘चर्पी अनिवार्य बनाउनै पर्ने भएपछि सुरुमा प्यान र बासको टाटीले बेरेको चर्पी बनाए पनि दुई महिनामै भत्किएर काम नलाग्ने भयो,’ दलित मुसहर बस्तीका फुदन सदायले भने, ‘त्यसपछि चर्पी बनाउने रुपैयाँ नभएपछि खुला ठाउँमा शौंच गर्न बाध्य थियौं, वडा कार्यालयले पक्की चर्पी निर्माण सुरु गरेपछि अब हामी निमुखा ढुक्क भएका छौं ।’


वडाले चर्पी निर्माण गरिदिने भएपछि बस्तीका फुदन, उजरा, हरिचन, धनेश्वर, लक्ष्मण लगायत प्रत्येक घरबाट निर्माणमा सक्रिय भए । ‘आफू बस्ने थलो टायल र टाटीको भए पनि चर्पी पक्कि पाएका छौं,’ पक्की चर्पी निर्माण भएपछि हौसिएका उनीहरूले भने । ८ हजार ९ सय ४६ घरधुरी रहेको धनगढीमाई नगरपालिका २०७४ मंसिर २८ मा खुल्ला दिसामुक्त नगर घोषणा गरिएको थियो ।


८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तह रहेको जिल्लामा १ लाख १८ हजार ५ सय ९८ घरधुरी छन । ती घरमा जनही शौचालय निर्माण गरिएको भन्दै ‘तामझाम’ का साथ २०७४ चैत ९ गते सिरहालाई प्रदेश २ मै पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरियो । जिल्लालाई घोषणा सभाकैं लागि त्यत्तिखेर ५० लाख रुपैयाँभन्दा बढी रकम खर्चिएको थियो ।


खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि दलित मुसहर बस्तीका अधिकांश घरमा चर्पी अधकल्चो अवस्थामा रहेको पाइएपछि वडा कार्यालयले रकम विनियोजन गरेपछि संस्थाले केही रकम सहयोग गरेर चर्पी निर्माण सुरु गरिएको दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद बिसुन्केले जानकारी दिए ।


स्वास्थ्य र सरसफाइका दृष्टिले महत्त्वपूर्ण मानिएकाले विपन्न दलित मुसहर बस्तीमा अधुरो चर्पी निर्माणमा आफूहरूले सहयोग गर्न सुरु गरेको उनले जानकारी दिए ।

प्रकाशित : वैशाख ३१, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?