महिलाको रहस्यमय मृत्यु
सर्लाही — सदरमुकाम मलंगवामा सोमबार एक महिलाको शव फेला परेको छ । घरमै जलेको अवस्थामा शव फेला परेकाले घटना रहस्यमय बनेको छ । मृतक मलंगवा नगरपालिका ८ का विनोद गुप्ताकी ४५ वर्षीया श्रीमती कामिनी देवी हुन् ।
कामिनीले आफैंले पेट्रोल छर्केर आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ । तर आवश्यक सोधपुछका लागि मृतकका श्रीमान् विनोदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आगोले कामिनीको शरीरका सम्पूर्ण भाग जलेको छ ।
घरमा श्रीमान् हुँदाहुँदै महिलाको जलेर मृत्यु हुनुमा घटना रहस्यमय रहेको महिला अधिकारकर्मीको भनाइ छ । दिनहुँ मदिरा सेवन गर्ने उनका श्रीमान् शव फेला परेको समय पनि मदिराले लठ्ठ थिए । गुप्ताका काठमाडौंमा पढ्दै गरेका छोराछोरी र माइती पक्षलाई खबर गरेको प्रहरीले जनाएको छ ।
तर उनीहरू सोमबार अबेरसम्म आइपुगेका छैनन् । प्रारम्भिक अनुषन्धानका क्रममा घटनामा कसैको संलग्नता नदेखिए पनि गम्भीर ढंगले अनुषन्धान भइरहेकोको प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले बताए । उनले प्रहरीमा कसैले उजुरी समेत नगरेको बताए ।
शव पोष्टमार्टमका लागि अस्पतालमा लगिएको छ । नगरपालिका कार्यालय छेउमै घर रहेको गुप्ता परिवार पछिल्लो समय निकै तनावमा रहेको उनका एक छिमेकीले जानकारी दिए ।
प्रकाशित : वैशाख ३१, २०७६ १०:४६