२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

‘धार्मिक पर्यटनको सम्भावना’

सर्लाही — उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदेश नं २ लगायत मुलुकको आर्थिक समृद्धिका लागि धार्मिक पर्यटनको सम्भाव्यता रहेको बताएका छन्  । सर्लाहीको हरिपुर नगरपालिका–४ हरैयामा श्रीकृष्ण मन्दिरको शिलन्यास गर्दै उपराष्ट्रपति पुनले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए  ।

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभियानलाई साझा रुप दिन धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै उपराष्ट्रपति पुनले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सकारात्मक भूमिका निर्बाह गर्नुपर्ने बताए ।

‘मुलुकको समृद्धिका लागि पर्यटन प्रवर्द्धन आवश्यक छ, यहाँ धार्मिक पर्यटनको सम्भावना बढी छ,’ उनले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार आवश्यक छ, यसका लागि संघीय सरकार र प्रदेश सरकारको लगानी जरुरी छ ।’


बहुजाति, बहुभाषिक, बहुधार्मिक मुलुकमा धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न छिट्टै सम्भव हुने उनको भनाइ थियो । धार्मिक पहिचान बोकेका विभिन्न मुलुकमा एकआपसमा सहिष्णुता, सम्मान गर्न जरुरी रहेको बताउँदै उनले धर्मको आधारमा कुनै किसिमको विभेद कायम राख्न नहुने बताए ।

उपराष्ट्रपति पुनले धर्मनिरपेक्ष मुलुकमा धार्मिक क्षेत्रको उन्नती र प्रगतिका लागि प्रतिवद्ध रहनुपर्ने धारणा राखे । उनले यदुवंशी समाजको पहलमा पहिलो पटक प्रदेश २ मा आएकोमा खुसी ब्यक्त गरे । पत्नीका साथ आएका उपराष्ट्रपति पुनलाई यदुवंशी समाजले नागरिक अभिन्न्दन गरेका थिए ।

उपराष्ट्रपति सामेल हुने कार्यक्रममा सुरक्षा ब्यवस्था कडा पारिएको थियो । कार्यक्रममा मन्दिरका लागि निःशुल्क जग्गादाता र सहयोगीलाई उपराष्ट्रपति पुनले सम्मान पत्र प्रदान गरेका थिए ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?