फर्म एउटाको, कारोबार अर्कैको

भूषण यादव

वीरगन्ज — आन्तरिक राजस्व कार्यालय वीरगन्जको विवरण अनुसार मोहनी इन्टरप्राइजेज बबिता कुमारी साहको नाममा दर्ता छ । उक्त फर्मको नाममा १६ करोड रुपैयाँ कर बक्यौता छ । राजस्व कार्यालयले पटक–पटक पत्राचार गरे पनि बबिता सम्पर्कमा आएकी छैनन् ।

०५६ भदौ २ मा दर्ता भएको मोहनी इन्टरप्राइजेजको नाममा भारतबाट ठूलो परिमाणमा कोइला आयात भएको छ । सम्बद्ध स्रोतका अनुसार बबिताका देवर मुकेश गुप्ताले उक्त आयात गरेका हुन् । सीमावर्ती विहारको रक्सौल निवासी गुप्ताले भारतको आसाम, गुहाटी र झारखण्डबाट कोइला आयात गरी नेपालमा बिक्री गर्दै आएका थिए । जनकपुरबाट वंशज नागरिकता लिएकी बबिताको बिहे रक्सौल निवासी मुकेशका दाजु कृष्ण साहसँग भएको थियो ।

भारतीय नागरिकसँग बिहे गरेपनि बबिताले नेपालको नागरिकता त्यागिनन् । त्यही नागरिकताका आधारमा मुकेशले मोहनी इन्टरप्राइजेज दर्ता गरी कोइला कारोबार गरेका हुन् । आन्तरिक राजस्व कार्यालय प्रमुख गोपीकृष्ण कोइरालाले बबिता र मुकेशलाई पक्राउ गर्न विभागलाई पत्राचार गरिसकेको जनाए ।

कोइला व्यापारी गुप्ताले मोहनी इन्टरप्राइजेजसँगै आफ्नै नाममा दर्ता रहेको शुभ श्री इन्टरनेसनल नामक फर्मबाट पनि कोइला कारोबार गरेका छन् । आन्तरिक राजस्व कार्यालयका अनुसार यहाँको भारतीय महावाणिज्य दूतावासको सिफारिसमा भारतीय नागरिकको हैसियतमा राजस्व कार्यालय वीरगन्जमा ०६० वैशाख २ मा शुभ श्री इन्टरनेसनल फर्म दर्ता गरेका थिए । आफ्नो नामको फर्ममा गुप्ताले कर बाक्यौता राखेका छैनन् ।

फरार रहेका गुप्तालाई सम्पर्कमा ल्याउन सिफारिस गर्ने महावाणिज्य दूतावासलाई समेत पत्राचार गरिने कर्मचारीले जनाएका छन् । भारतीय नागरिकको हैसियतमा शुभ श्री इन्टरनेसनल दर्ता गराएका गुप्ताले ०६४ वैशाख १६ मा जिल्ला प्रशासन कार्यालय पर्साको टोली नम्बर तीनबाट जन्मको आधारमा नेपाली नागरिकता समेत प्राप्त गरेका छन् । नागरिकता लिएर नेपाली नागरिक बने पनि गुप्ताले भारत सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने परिचय पत्र भने त्यागेका छैनन् । रक्सौल नगरपालिका निर्वाचन नामावलीमा गुप्ताको तस्बिर सहितको विवरण अझै देखिन्छ । उनको भाउजु बबिताको नाम समेत निर्वाचन नामावलीमा उल्लेख छ ।

आन्तरिक खटपटले पुराना कर्मचारीले जागिर छाडेपछि गुप्ताले गरेको गैरकानुनी क्रियाकलापको खुलासा भएको हो । राजस्व कार्यालय र प्रशासनले निगरानी बढाएपछि उनले अहिले गणपति कोल सप्लायर्सको नाममा कोइला आयात गरिरहेका छन् । वीरगन्ज नेसनल ट्रेडिङ निवासी एक महिलाको नाममा उक्त फर्म दर्ता रहेको छ । सम्बद्ध स्रोतका अनुसार केही महिना पहिलेसम्म एक सहकारीमा काम गर्ने ती युवती मुकेशको सम्पर्कमा आएपछि फर्म दर्ता गरिएको हो । ‘मुकेशका बुवा रामेश्वर गुप्ता पनि कोइला व्यापारी नै थिए, उनले पनि वीरगन्ज भन्सार क्षेत्रकी एक महिलाको नाममा फर्म दर्ता गरी करोडौंको कारोबार गरे,’ स्रोत भन्छ, ‘कर दाखिला नगरेपछि आन्तरिक कर कार्यालयले ती महिलाको नाममा पटक–पटक पत्रचार गरेको थियो, अझै कर बक्यौता छ ।

आन्तरिक राजस्व कार्यालयको विवरणअनुसार सार्वजनिक संस्था र विभिन्न फर्मको ८२ करोड कर बक्यौता छ । आयकर तर्फ ३८ करोड र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ४४ करोड रुपैयाँ कर बक्यौता रहेको छ । आफ्नो नाममा फर्म दर्ता गरी अरूलाई कारोबार गर्न दिने प्रवृत्ति भयावह बन्दै गएको आन्तरिक राजस्व कार्यालय प्रमुख गोपीकृष्ण कोइराला बताउँछन् । ‘सोझासाझा, गरिब व्यक्तिको नाममा फर्म दर्ता गरी करोडौँको व्यापार गरी कर दाखिला नगर्ने प्रवृत्ति देखिएको छ,’ प्रमुख कोइराला भन्छन्, ‘यस्ता कारोबार गर्ने अधिकांश व्यापारी भारतीय हुन् ।’ कार्यालयका अनुसार भारतीय नागरिकले कारोबार गरेको गौरी निर्माण सेवाको पनि करिब १० करोड रुपैयाँ बक्यौता छ ।

फर्म दर्ताका लागि गाउँ–गाउँमा बिचौलिया घुमिरहेका हुन्छन् । ५ हजारदेखि १० हजार रुपैयाँको प्रलोभनामा फर्म दर्ता गरी अर्कैलाई कारोबार गर्न दिने गरेका छन् । यस्तो प्रवृत्ति बढ्दै गएपछि राजस्व कार्यालयले कडाई गरेको प्रमुख कोइरालाको दाबी छ । ‘कानुनी रूपले फर्म दर्ता रोक्न मिल्दैन,’ उनले भने, ‘तर, ठगिनबाट जोगाउन सचेत गछौँ, विभिन्न प्रश्न सोधेर मात्र दर्ता गर्छौं ।’

कार्यालयका अनुसार कुल फर्म दर्ताको मूल्य अभिवृद्धि तर्फ ३०.१५ प्रतिशत र आयकर तर्फ ५६ प्रतिशत ननफाइलर छन् । जसले कार्यालयमा कर विवरण दिँदैनन् । ‘नेपालमा व्यापार गर्न र कर छल्न सजिलो भएकाले सीमावर्ती क्षेत्रका कारोबारीले नेपाली नागरिकको नाममा दर्ता गरिएका फर्मबाट कारोबार गर्छन्,’ एक जानकार भन्छन्, ‘एउटा फर्मबाट ४/५ महिना कारोबार गरेपछि फेरि नयाँ फर्मको खोजी हुन्छ ।’

प्रकाशित : जेष्ठ २, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?