२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

तरकारी संकलन केन्द्रमा भैंसी

शिव पुरी

रौतहट — यमुनामाई नगरपालिका ४ स्थित सरुअठाको तरकारी संकलन केन्द्र भैंसी राख्ने ठाउँ बनेको छ  । जिल्लाभरका किसानले उत्पादन गरेको तरकारी संकलन गरी बिक्रीका लागि बाहिर लैजाने उद्देश्यले डेढ दशकअघि बनाइएको भवन अहिले भैंसी ओसारपसार स्थलका रूपमा प्रयोग भएको छ  ।

तरकारी संकलन केन्द्रमा भैंसी

सरुअठाका मंगल सिंहले तरकारी संकलन केन्द्रका लागि १० कठ्ठा जग्गा दिएका थिए । नेपाल सरकारले त्यही बेला दुईवटा भवन र एउटा तरकारी राख्ने टहरा बनाएको थियो । अहिले भवन अलपत्र छ ।

टहरामा व्यापारीले भैंसी बाँध्ने गरेका छन । भारतबाट ल्याइने भैंसी त्यहीं राखेर राजधानी लगायतका सहरमा लैजाने गरिएको छ । कृषि ज्ञान केन्द्रका पूर्व प्रमुख राजनारायण यादवले किसानलाई सहज होस भन्ने उद्देश्यले भवन निर्माण गरिए पनि अहिले भैंसी राख्ने काम भएको बताए ।

‘कसले त्यसरी भैंसी राख्ने गरेको हो थाहा भएन,’ उनले भने, ‘यसलाई सही सदुपयोग गर्नुपर्छ ।’ नगरपालिकाले समेत भवनलाई के गर्ने भन्ने कुनै ठोस निर्णय लिन सकेको छैन । केही दिन अघि पूर्वमन्त्री एवम नेकपाका सांसद प्रभु साहले भवनलाई सदुपयोग गर्नुपर्ने भन्दै स्थलगत अवलोकन गरेका थिए । झण्डै १ करोडको लागतमा बनेको भवनमा भैसी व्यापारीको रजगज छ ।

यहाँको तरकारी राजधानी लगायतको सहरमा बिक्री हुन्छ । किसानले छुट्टाछुट्टै लैजाँदा मूल्य नआउने र एकरूपता नभएपछि तत्कालीन जिल्ला कृषि विकास कार्यालयको पहलमा संकलन केन्द्रको भवन निर्माण गरिएको हो । केही समय व्यापारीले तरकारी राखेर बाहिर जिल्ला पठाए । वरपरका गाउँबाट तरकारी ल्याएर यही राख्थे । संकलन गरी राजधानी लैजान्थे । पछि किसानले तरकारी ल्याउन छाडे पछि भवन अलपत्र परेको थियो ।

भैंसी व्यापारीले कसरी र कहिलेदेखि प्रयोग गरेको भन्ने कसैले बताउन चाहेनन् । सम्बन्धित वडाका अध्यक्ष चेतनारायण राय यादवले भवनलाई फुलफुल तथा कृषि बजारका रूपमा प्रयोग गर्ने बताए । ‘हामी भवनलाई चाँडै नै सदुपयोगमा ल्याउँछौं,’ उनले भने, ‘यसका लागि गाउँपालिकामा ब्यापक छलफल भइरहेको छ ।’

भवनको कम्पाउण्डभित्र भैंसी ल्याउने र लैजाने गरिए पछि फोहोर भएको छ । भैसी लोड गर्न ठुला सबारी त्यही लगीन्छ । त्यहा फोहोरको डंगुर लागेको छ । दुईवठा ठुला भवनमा भैसी ब्यापारी र उनका कर्मचारी सुत्ने गर्छन् । बाहिरबाट हेर्दा तरकारी संकलन केन्द्र जस्तो लागे पनि भित्र भैसीको गोठको रुपमा रहेको छ ।

अव्यवस्थित बजार
जिल्लाका अधिकांश बजारहरूमा तरकारी बाटोमै बेच्ने गरेको पाइन्छ । ठाउँको अभावले बाटोमा राख्न बाध्य भएको ब्यापारी बताउछन् । सडक पेटी र मानिसको आवागमन हुने स्थानमा तरकारीको व्यापार गर्दा आवागमनमा समस्या हुने गरेको छ । यो समस्या जिल्लाभरी रहेको उद्योण बाणिज्य संघ चन्द्रनिगाहपुरका अध्यक्ष सुनिल जैसवालले बताए ।

‘जिल्लाभरिका बजार ब्यवस्थित छैनन्,’ उनले भने, ‘जहाँ पायो त्यही तरकारी लगायतका खाद्यान्न राखेर बिक्री गर्छन् ।’ सबैभन्दा ठुलो समस्या तरकारी ब्यवसायीलाई परेको गुनासो छ ।

उनिहरू ठाउँको अभावमा कहिले बजारमा तरकारी लैजादैनन् । सरुअठाका तरकारी किशान शेख सकिलले तरकारी संकलन केन्द्र हुदा सजिलो भएको बताउँछन् ।

‘सबैले केन्द्रमा तरकारी लैजान्थे । त्यही मोलमोलाइ हुन्थ्यो,’ उनले भने, ‘अहिले समस्या परेको छ । मूल्य पनि आउँदैन । जतिमा मन लाग्यो त्यतिमा बिक्री हुन्छ ।’ उनले तरकारी संकलन केन्द्रलाई ब्यवस्थित गर्नुपर्ने सुनाए ।

प्रकाशित : जेष्ठ २, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?