२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

किर्ते उपभोक्ता समिति : आरोपीको बयान सुरु

अवधेशकुमार झा

राजविराज — किर्ते गरी उपभोक्ता समिति गठन गरेको तथा सरकारी कागजात किर्ते गरेको मुद्दामा पक्राउ गरिएका आरोपीलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा जिल्ला अदालत सप्तरीमा पेश गरिएको छ  ।

सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका तथा छिन्नमस्ता गाउपालिकामा प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालयद्वारा सञ्चालित सडक निर्माण योजनाका लागि किर्ते गरी उपभोक्ता समिति बनाएको तथा सरकारी कार्यालयको कागजात किर्ते गरेको अभियोगमा एक महिनाअघि सप्तरी प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

सो प्रकरणमा पक्राउ गरिएका पूर्व सांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य बिपी यादव भनिने विश्वनाथप्रसाद यादब,राजपा नेपालका अर्का केन्द्रिय सदस्य हरिनारायण मण्डल, पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइत, सप्तरीको रुपनी गाउँपालिका वीरेन्द्रवजारका दिलिपकुमार दास र रमाकान्त ठाकुरलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा पेश गरिएको हो ।

जिल्ला अदालत सप्तरीका न्यायाधीश उमेश कोइरालाको इजलासमा आरोपीहरूको बयान लिने कार्य मंगलबारबवाट सुरु भएको छ । मंगलबार पूर्व सांसद बिपी यादवको बयान सकिएको थियो भने बुधबार दिलिपकुमार दासको बयान सकिएको छ ।

पाँचैजना प्रतिवादीको वयान सकिएपछि थुनछेकको बहस सुरु हुने जिल्ला अदालत सप्तरीले जनाएको छ । सप्तरी जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउपालिका वडा नम्बर २ र ३ जोडने सडकमा माटो र ग्राभेलको काम गर्न प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आएको २५ लाख रुपैयाँको योजना सञ्चालन गर्न पूर्व सांसद यादव र राजपा नेता मण्डलसहितकाले मिलेर किर्ते उपभोक्ता समिति गठन गरेको आरोप छ ।

प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रालयको २५ लाख रुपैयाँ बजेट फुत्काउनका लागि उनीहरू दुबै जनासहित अन्यले अग्नि गाउँपालिकाको लेटरप्याड र छाप किर्ते गरेको प्रहरीको दाबी छ ।

यस्तै उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादव तथा वडाध्यक्षहरूको पनि किर्ते हस्ताक्षर गरी उक्त वडामा हुँदै नभएका किर्ते ब्यक्ती खडा गरि उपभोक्ता समिती गठन गरेको आरोप पनि प्रतिवादीहरूमाथि छ । यसका अतिरिक्त उपभोक्ता समिती गठन गर्दा पेश गरिएका नागरिकताहरूमा पनि छेडछाड गरिएको प्रहरीले जनाएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सप्तरीका सञ्चालित छिन्नमस्ता गाउँपालिका ५ लालु दासको घरदेखि पश्चिमको सडकमा माटो तथा ग्राभेलको काम गर्न किर्ते उपभोक्ता समिती गठन गरिएको खुलेको हो ।

यस प्रकरणमा पनि पुर्व सासंद तथा राजपाका केन्द्रिय सदस्य बिपी यादव र राजपा केन्द्रिय सदस्य हरि मण्डलकै हात रहेको प्रहरीको दाबी छ ।

पछिल्लो पटक छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर ५ मा सञ्चालित लालु दासको घरदेखि पश्चिम तर्फको सडकमा माटो तथा ग्राभेलका लागि १५ लाख रुपैयाँ बराबरको योजनाका लागि पनि किर्ते उपभोक्ता समिती गठन गरिएको खुलेको हो ।

उक्त उपभोक्ता समिती छिन्नमस्ता गाउपालिकाका वडा नम्बर ५ का वडाअध्यक्ष रामानन्द पण्डितको अध्यक्षतामा भएको बैठकले गठन गरेको कागजात पूर्वाधार विकास कार्यालयमा रहेको योजनाको फाइलमा छ । जबकि रामानन्द पण्डित वडा नम्बर ५ का नभई वडा नम्बर ४ का वडाध्यक्ष हुन् ।

उक्त योजनाको फाइलमा छिन्नमस्ता गाउपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले गरेको सिफारिस समेत संलग्न छ । गत मंसिर २४ गतेको मितीमा चलानी नम्बर ३१० राखी गरिएको सिफारिस पत्र पनि किर्ते नै रहेको छ ।

छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द चौधरीले मंसिर २४ गते चलानी नम्बर ३१० को पत्र उपाध्यक्ष उषाकुमारी मण्डलको हस्ताक्षरमा खानेपानी तथा सरसफाइ १ नम्बर डिभिजन कार्यालयलाई पठाईएको पत्र भएको बताए ।

तर उक्त चलानी नम्बरको पत्र पूर्वाधार विकास कार्यालयको नाममा कसरी गयो भन्ने कुरा आफुलाई थाहा नभएको बताए । उपाध्यक्ष मण्डलले आफुले चलानी नम्बर ३१० को पत्र खानेपानी कार्यालयलाई गरिएको सिफारिसमा हस्ताक्षर गरेको र सो पत्र वडा नम्बर ५ का अनिल मिश्रलाई दिएको बताए ।

मिश्रले भने उक्त सिफारिस आफूले पूर्व सांसद बिपी यादबको भनाईमा गाउपालिकावाट लिएको र यादवलाई नै दिएको सुनाए । ‘मैले त खानेपानी डिभिजनको नामको सिफारिस दिएको थिए सोही चलानी नम्बरको सिफारिस पूर्वाधार बिकासमा कसरी गयो मलाई थाहा भएन्’, जिल्ला प्रहरमिा उजुरी दिँदै मिश्रले आफ्नो निवेदनपछि आएको सिफारिस किर्ते गर्ने उपर कारबाहीको माग गरेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?