२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जंगली हात्तीको आक्रमणबाट बृद्धाको मृत्यु

भरत जर्घामगर

सिरहा — जंगली हात्तीको आक्रमणबाट सिरहाको उत्तरवर्ती चुरे क्षेत्र गैरीटोलकी एक वृद्धाको शुक्रबार राति मृत्यु भएको छ । स्थानीयका अनुसार जंगली हात्तीको आक्रमणबाट सिरहा गोलबजार नगरपालिका १० की ७० वर्षीया बुद्धिमाया थापामगरको मृत्यु भएको हो ।

गोलबजार नगरपालिका १० का वडाध्यक्ष देव नारायण महतोका अनुसार छिमेकी गोकुल थापाको घरबाट शुक्रबार राति साढे आठ बजे टिभी हेरेर र्फकँने क्रममा हात्तीले आक्रमण गरेको थियो । हात्तीले पछारे लगत्तै उनको मृत्यु भएको स्थानीयले जानकारी दिए । हात्तीले बुद्धिमायाको घर समेत भत्काएको छ । घरमा मृतक बुद्धिमाया, उनका पति विर्खबहादुर र माहिली बुहारी मञ्जु बस्दै आएकी थिइन् ।


चुरे जंगल फेदी घुर्मी खोला नदीको पूर्वी किनारमा १५ घरपरिवारको बसोबास छ । ऐलानी जग्गामा बस्दै आएका बस्तीका अधिकांश भूमिहीन सुकुम्बासी परिवारको रहेको वडाध्यक्ष महतोले जानकारी दिए ।


दुई महिना अघि उत्तरवर्ती चुरे क्षेत्रका गोला मुक्सार, मुसहरनीया, जमदह क्षेत्रमा जंगली हात्तीले ७ घरमा क्षति पुर्‍याएको थियो भने २ लाख रुपैयाँभन्दा बढीको अन्नबालीमा क्षति पुर्‍याएको थियो । बच्चासहित ५ वटा समूहमा आएका जंगली हात्तीले उत्तरवर्ती चुरे क्षेत्रमा बर्सेनी क्षति पुर्‍याउँदै आएको छ । कोशी टप्पुबाट उदयपुरको चुरे क्षेत्र हुँदै प्रवेश गर्ने जंगली हात्तीले बर्सेनी सिरहाको उत्तरवर्ती चुरे क्षेत्रका बस्तीहरुमा क्षति पुर्‍याउँदै आएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?