पंक्षीपालन सक्रिय महेश्वर

भरत जर्घामगर

सिरहा — गाउँघरमा व्यावसायिक खेतीपाती, पशुपक्षी पालन छाडेर रोजगारीका लागि युवाहरू विदेसिने क्रम बढिरहेका बेला सिरहा धनगढीमाई नगरपालिका १३ का ५९ वर्षीय महेश्वर श्रेष्ठ भने नयाँनयाँ प्रजातिको पक्षीपालनमा सक्रिय छन् ।

सिरहा धनगढीमाई नगरपालिका १३ का ५९ वर्षीय महेश्वर श्रेष्ठ आफूले पालेका टर्कीसँगै ।तस्बिर : भरत/कान्तिपुर

व्यावसायिक पक्षीपालनबाटै उनले आम्दानी लिन सफल भएका छन् । तीन वर्ष व्यावसायिक हाँस पालन सुरु गरेका महेश्वरको खोरमा अहिले डेढ सय हाँस छन् ।

हाँस पाल्न उनले दुई कट्ठा जग्गामा पोखरी खनाए । हाँससँगै उनले माछा पालन समेत सुरु गरेका छन् । उनीसँग अहिले २५ वटा टर्की, २३ जोडी परेवा र केही स्थानीय जातका कुखुरा पनि छन् । उनले प्रतिगोटा ५ सयका दरले टर्की चितवनबाट किनेर ल्याएका हुन् ।

हाँसले दैनिक २५ अण्डा दिने गर्छन् । उनी प्रतिगोटा २२ का दरले थोक व्यापारीलाई अण्डा बिक्री गर्छन । अण्डाका अलावा हाँसको चल्ला हुर्काउँछन् । चल्लासमेत बिक्री गर्छन । केही महिनापछि टर्कीले अण्डा उत्पादन सुरु गर्ने उनले बताए । टर्कीको अण्डा बजारमा महँगो मानिन्छ । १२ देखि १५ किलोग्रामसम्म तौल हुने टर्कीको मासु महँगोमा बिक्री हुनुका साथै स्वास्थ्यका लागि लाभप्रदक मानिन्छ ।

बिहान उठेदेखि नै हाँस, टर्की, परेवा र माछाको आहारा दिनेदेखि खोर सरसफाइमा सक्रिय रहने उनको दिनचर्या पक्षी र माछाको हेरचाहमा बित्ने गरेको छ । 'शरीर बुढ्यौली हुँदै गए पनि पक्षीको हेरचाहमा सक्रिय हुँदा दिन बितेको पत्तो नै पाइँदैन,' उनले भने, 'घर र खोर वरपरका पक्षी नै मेरो दिनचर्या भएको छ ।'

पंक्षी पालनका अलावा फुर्सद निकालेर समाज सेवामा समेत सक्रिय छन् उनी । समय समयमा पक्षीलाई आहारा दिइसकेपछि उनी गाउँघर निस्कन्छन् र आहारा दिनेबेला भएपछि फेरी घर पुग्छन् । त्यसो त उनको काममा दुई बुहारीले पनि सघाएका छन् । 'पत्नी गोमा २३ वर्षदेखि गाउँकै स्वास्थ्य केन्द्रमा अनमीमा कार्यरत छिन्,' महेश्वरले भने, 'छुट्टीका बेला पत्नी र अरुबेला दुई बुहारीले पंक्षी पालनमा सहयोग गर्छन् ।'

व्यावसायिक पक्षीपालनका अलावा फुर्सद निकालेर गाउँघरमा खानेपानी समितिदेखि विकास निर्माणको काममा समेत नेतृत्व लिन उनी सक्रिय हुने गरेको धनगढीमाई नगरपालिका १३ का वडाध्यक्ष सूर्यमान तामाङले सुनाए । व्यावसायिक पक्षीपालनमा वडामैं उदाहरणीय बनेका महेश्वर श्रेष्ठले गाउँघरमैं जाँगर चलाउन सके आम्दानी र रोजगारीका लागि भौंतारी हिँड्नुनपर्ने बताए । तर, त्यसका लागि आफूमा सीप र जागर जरुरी रहेको उनले सुझाए ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०९:०७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

खुला दिसामुक्त भएको एक वर्षपछि चर्पी

भरत जर्घामगर

सिरहा — धनगढीमाई नगरपालिका १३ को दलित विपन्न मुसहर बस्तीका अधुरा शौचालय प्रयोगविहीन भएपछि वडा कार्यालयले शौचालय निर्माण सुरु गरेको छ । दलित मुसहर समुदायका ४५ घरधुरी रहेको बस्तीमा शौचालय निर्माणका क्रममा डेढ वर्षअघि धनगढीमाई नगरफालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो ।

सिरहाको धनगढीमाई नगरपालिका १३ स्थित ४५ घर दलित सुकुम्बासी मुसहर बस्तीमा निर्माण सुरु गरिएको चर्पी देखाउँदै वडाध्यक्ष सूर्यमान तामाङ । तस्बिर : भरत/कान्तिपुर

खुला दिसामुत्त घोषणा भए पनि अधुरो र जीर्ण चर्पीका कारण बस्तीका महिला पुरुष बस्ती छेवैको बाबुराम खोलामा खुला शौच गर्न थालेपछि वडा कार्यालयले पक्की चर्पी निर्माण सुरु गरेको हो । गाउँ ब्लक जग्गामा बसोबास गर्दै आएका मुसहर परिवार मजदुरी गरी गुजारा चलाउँछन् । खोला नै दुर्गन्धित हुन थालेपछि वडा कार्यालयले लगानी गरी घरलौरी पक्की चर्पी निर्माण सुरु गरेको हो ।

चर्पी निर्माणका लागि वडा कार्यालयले ४ लाख रुपैयाँ र स्थानीय दलित जनकल्याण युवा क्लबको १ लाख २५ हजार रुपैयाँ सहयोग गरेको धनगढीमाई नगरपालिका १३ का वडाध्यक्ष सूर्यमान तामाङले जानकारी दिए । ‘क्लब र वडाको ५ लाख २५ हजार लागतमा बस्तीमा चर्पी निर्माण गरेका छौं,’ वडाध्यक्ष तामाङले भने, ‘दिनभरि अरूको मजदुरी गरी गुजारा चलाउँदै आएका दलित मुसहर परिवारले रकम जोहो गर्न नसकैका कारण चर्पी निर्माण गर्न नसकेपछि वडा कार्यालयबाट सहयोग गरेका हौं ।’

‘चर्पी अनिवार्य बनाउनै पर्ने भएपछि सुरुमा प्यान र बासको टाटीले बेरेको चर्पी बनाए पनि दुई महिनामै भत्किएर काम नलाग्ने भयो,’ दलित मुसहर बस्तीका फुदन सदायले भने, ‘त्यसपछि चर्पी बनाउने रुपैयाँ नभएपछि खुला ठाउँमा शौंच गर्न बाध्य थियौं, वडा कार्यालयले पक्की चर्पी निर्माण सुरु गरेपछि अब हामी निमुखा ढुक्कभएका छौं ।’

वडाले चर्पी निर्माण गरिदिने भएपछि बस्तीका फुदन, उजरा, हरिचन, धनेश्वर, लक्ष्मण लगायत प्रत्येक घरबाट निर्माणमा सक्रिय भए । ‘आफू बस्ने थलो टायल र टाटीको भए पनि चर्पी पक्कि पाएका छौं,’ पक्की चर्पी निर्माण भएपछि हौसिएका उनीहरूले भने । ८ हजार ९ सय ४६ घरधुरी रहेको धनगढीमाई नगरपालिका २०७४ मंसिर २८ मा खुल्ला दिसामुक्त नगर घोषणा गरिएको थियो ।

८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तह रहेको जिल्लामा १ लाख १८ हजार ५ सय ९८ घरधुरी छन । ती घरमा जनही शौचालय निर्माण गरिएको भन्दै ‘तामझाम’ का साथ २०७४ चैत ९ गते सिरहालाई प्रदेश २ मै पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरियो । जिल्लालाई घोषणा सभाकैं लागि त्यत्तिखेर ५० लाख रुपैयाँभन्दा बढी रकमखर्चिएको थियो ।

खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि दलित मुसहर बस्तीका अधिकांश घरमा चर्पी अधकल्चो अवस्थामा रहेको पाइएपछि वडा कार्यालयले रकम विनियोजन गरेपछि संस्थाले केही रकम सहयोग गरेर चर्पी निर्माण सुरु गरिएकोदलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद बिसुन्केले जानकारी दिए ।

स्वास्थ्य र सरसफाइका दृष्टिले महत्त्वपूर्ण मानिएकाले विपन्न दलित मुसहर बस्तीमा अधुरो चर्पी निर्माणमा आफूहरूले सहयोग गर्न सुरु गरेको उनले जानकारी दिए ।

प्रकाशित : वैशाख ३१, २०७६ १०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT