कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भर्नाका लागि घरघर पुग्छन् अकलु

शिव पुरी

डुमरिया (रौतहट) — चन्द्रपुर नगरपालिका १० बडेहरबाका अकलु मुसहर बिहान उठ्नासाथ मुसहर बस्ती पुग्छन् । सबैको घरघर पुगेर नमस्कार गर्छन् । छोराछोरीलाई विद्यालय भर्ना गर्न अनुरोध गर्छन् । उनी सम्झाउँछन् ।

दुई सातादेखि अकलुको दिनचर्या यसरी नै बितेको छ । मुसहर समुदायका बालबालीका निकै कम विद्यालय जान्छन् । अकलु बस्ती पुगेपछि धेरै मुसहर सम्मान गर्छन् । उनि गाउँमा अगुवाको रूपमा छन् । यो समुदायमा पढलेख गर्ने निकै कम भएकाले आफैं घरघर पुगेर भर्नाका लागि अनुरोध गरेको उनले सुनाए । ‘धेरैजसो हाँसेर टार्छन् । कसैले त पढेर के हुन्छ र भन्छन्,’ उनले भने, ‘आफ्ना छोराछोरीलाई शिक्षित बनाउनुपर्छ भन्ने मानसिकता नै छैन ।’


अधिकांशको अभिभावक नै अनपढ भएकाले समस्या आएको उनले बताए । मुसहरलगायत दलित समुदायका बालबालिकाहरू भर्ना गरेर पनि विद्यालय जाँदैनन् । अघिल्लो आथिर्क वर्षमा भर्ना गरेर पनि धेरैले विद्यालयको मुख देखेनन् । अभिभावकहरू अर्काको काम गर्न गएपछि बालबालीकालाई घर कुर्न लगाउने प्रवृत्ति यो समुदायमा छ ।


अहिले पनि धेरैजसोको छोराछोरी भर्ना गराएर विद्यालय पठाउँदैनन् । अकलु आफैं बुढ्यौली उमेरमा शिक्षाको खाँचो महसुस गरी पढ्न जाने गरेका थिए । उनले यसै वर्ष एसईई दिएका थिए । गाउँकै श्रीप्राविको कक्षामा १ मा भर्ना हुँदा उनको उमेर ४९ वर्षको थियो । त्यहाँको पढाइ सकेर डुमरियामा कक्षा ६ मा भर्ना भए ।


परीक्षामा पास हुँदै उनले एसईइसम्म भ्याए । मुसहर जातिमा यसरी पढ्ने कमै हुन्छन् । मुसहर बस्तीमा नागरिकता, जन्मदर्ता, मृत्यु दर्ता र शिक्षाको कमी छ । नयाँ शैक्षिक शत्र सुरु हुनासाथ सबै नगरपालिकाले भर्ना अभियान चलाएको छ । सरोकारवालाहरू यसैमा लागेका छन् । बर्सेनि भर्ना गराइएको बालबालिकाहरू विद्यालय जाने नजाने भन्ने अनुमगन नहुँदा समस्या भएको हो ।


शिक्षाको अभावले उनीहरूले कुनै पनि सरकारी सेवाबारे जानकारी पाउँदैनन् । अहिले जिल्लाभरि भर्ना अभियान चलिरहेको छ । सम्बन्धित निकायले पनि दलित बस्तीमा भर्ना अभियानलाई बढी चासो देखाएको छ । चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपेन्द्र मण्डलले दलित बस्तीहरूमा भर्ना गरे पनि बालबालिका पढ्न नजाने समस्या रहेको सुनाए ।


‘हामीले भर्ना अभियानलाई सार्थक बनाउन घरघर पुगेर अनुरोधसहित बालबालिका भर्ना गर्दै आएका छौं,’ उनले भने, ‘अरूभन्दा डोम, मुसहर र विपन्न बस्तीहरूमा बालबालिकाहरू भर्ना गरेर पनि विद्यालय जाँदैनन् । उनीहरूमा चेतनाको कमी छ ।’ धमौराको डोम बस्तीका बालबालिका पनि विद्यालय जाँदैनन् । उनीहरू सधैं घरमै बस्छन् । अघिल्लो वर्ष सबैले भर्ना गराए । तर विद्यालय पठाएनन् । यस बस्तीका धेरैजसो बालबालिकाको जन्मदर्ता छैन ।


सानै उमेरमा विवाह गरेकाले छोराछोरीको जन्मदर्ता प्रभावित भएको हो । डोम अगुवा विजय मल्ली (डोम) ले जिल्लाभरिका डोम सुमदायका बालबालिकालाई जसरी भए पनि विद्यालय पठाउने वातावरण मिलाउन लागिएको बताए ।

प्रकाशित : जेष्ठ ५, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?