कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

रोकियो बालविवाह

श्यामसुन्दर शशि

जनकपुर — सबैला नगरपालिका–७ लवटोलीमा एक जना अभिभावक आइतबारका लागि छोरीको विवाहको तयारीमा थिए । बेहुला पक्षतिर पनि जन्तीको तयारी भइरहेकै थियो । तर, एक दिनअगाडि विवाह रोकियो । कारण थियो, प्रहरी चौकीमा परेको बेनामी निवेदन ।

निवेदनमा ‘१७ वर्षीया किशोरीको विवाह हुन लागेकाले रोक्नुपर्ने’ माग गरिएको थियो । यो खबर किशोरीका परिवारसम्म पुग्यो । किशोरीका बुबालाई सामाजिक प्रतिष्ठाको चिन्ता, उता केटापक्षलाई आफ्नै खालको तनाव थियो ।


यसैबीच, सबैला नगरपालिकाका मेयर विजयशंकर साहलाई किशोरीका अभिभावकले आफ्नो सामाजिक प्रतिष्ठा बचाइदिन अनुरोध गरे । उनले मयेरलाई छोरीको उमेर बढाएर अर्को जन्म दर्ता बनाइदिन आग्रहसमेत गरे । तर मेयर साह गैरकानुनी कार्य गर्न मानेनन् । ‘कानुनले निषेध गरेको विवाह गर्न कसरी सहयोग गरूँ ? पढ्ने–लेख्ने उमेरका किशोर–किशोरीको विवाह गर्नुहुन्न भन्ने मेरो पनि मान्यता हो,’ उनले कान्तिपुरसँग भने, ‘गैरकानुनी कार्य गर्नकै लागि जन्म दर्ता सच्याउन नसक्ने जानकारी गराएँ ।’


गत साता जानकी नवमी मनाइरहेकै बेला रामजानकी विवाहमण्डपमा एक जोडी किशोरकिशोरीको विवाह हुँदै थियो । स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयलाई सूचनापछि प्रहरीले विवाह रोकि दिए । ती किशोरकिशोरीलाई उमेर नपुगेसम्म विवाह नगर्ने सर्तमा छाडेको प्रहरी उपरीक्षक शेखर खनालले बताए । उनका अनुसार धनुषामा तीन महिनाको अवधिमा दस जोडी किशोरकिशोरीको विवाह (बालविवाह) रोकिसकिएको छ ।


नेपालको संविधानको धारा ३९को उपधारा (५) ले कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने गरी बालबालिकाको हकको रूपमा स्थापित गरेको छ । यी कार्यलाई सङ्घीय कानुनबमोजिम दण्डनीय हुने गरी प्रतिबन्ध लगाएको छ ।


पछिल्लो समय केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७२ ले विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकेको छ । उक्त कानुनी व्यवस्थाको उल्लंघन गरेमा बालबालिकाको उमेरअनुसार बढीमा तीन वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।


तर कानुनी प्रावधानलाई छल्दै अभिभावकहरू किशोरकिशोरी छोराछोरीको विवाह सामाजिक रीतिरिवाज, परम्पराअनुसार बालविवाह रोक्न केही गाउँपालिका, नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीले सहयोग नगरेको एसपी खनालले गुनासो गरेका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?