वन्यजन्तुको सिकार बढ्यो

शिव पुरी

रौतहट — डिभिजन वन कार्यालयअन्तर्गतको नुनथर इलाका वन क्षेत्रबाट शनिबार साँझ सिकारीले दुई हरिणलाई घाइते बनाए । सिकारीले भरुवा बन्दुकले ती हरिणमाथि आक्रमण गरी घाइते बनाएका हुन् ।

वन्यजन्तुको सिकार बढ्यो

छर्राले लागेर घाइते हरिण छटपटिएको अवस्थामा चन्द्रपुर नगरपालिका- १ मंगलगाउँमा प्रवेश गरेको प्रत्यक्षदर्शीले बताए । स्थानीयले तत्कालै वन कार्यालयलाई खबर गर्‍यो । वनको उद्धार टोली पुग्नासाथ मरेको थियो । पछिल्लो समय शिकारीले हरिण, बादेल, निलगाई खोजी-खोजी मार्न थालेका छन् । अहिले दैनिकजसो वन्यजन्तु मार्ने गरेका छन् ।


साताअघि चन्द्रनिगाहपुर वन क्षेत्रको जंगलभित्र दुईवटा बादेल मारेको वन कार्यालयले थाहा पाएर अनुसन्धान शुरु गरेको थियो । तर सिकारी पत्ता लगाउन सकेन । यतिखेर सिकारीले वन्यजन्तुलाई घेरा हालेर मार्ने गरेका छन् । हरिणको सिकारी गर्नेको खोजी भइरहेको वनअधिकृत विनोद सिंहले बताए ।


'जंगलमा अवैध सिकार गरेको फेला पारे कुनै हालतमा छाड्ने छैनौं,' उनले भने, 'चारैतिर वन कार्यालयको टोली खटाइएको छ । सिकारी नियन्त्रण गर्ने प्रयास जारी छ ।' सिकारीको गोली लागेर मरेको हरिणलाई वनले स्थानीय सञ्चारकर्मी, वनकर्मचारीको रोहवरमा गाडेको थियो । वन्यजन्तु तथा जंगली पशुपंक्षीको शिकारलाई सरकारले दण्डनीय अपराध माने पनि जिल्लाको विभिन्न वनक्षेत्रमा अवैध सिकार हुँदै आएको छ ।


यस्ता सिकारीहरू पक्राउ पर्न नसक्दा राष्ट्रिय वन क्षेत्रमा पर्ने गाउँ नजिकको जंगलमा चोरी सिकारी बढेको छ । सिकारीले अवैध हतियार र जाल प्रयोग गरेर वन्यजन्तु मार्छन् । यहाँको जङ्गलमा ठुलो संख्यामा हरिण, बादेल, निलगाई लगायतका वन्यजन्तु छन् । चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन सहायक वार्डेन नुरेन्द्र अर्यालले रौतहटको वनक्षेत्र बन्यजन्तुको उचित बासस्थान भएको बताएका थिए । 'वन्यजन्तुको वासस्थान जोगाउनु छ भने सिकारीलाई निस्तेज पार्नुपर्छ,' उनले भने, 'यस क्षेत्रमा वन्यजन्तु बास बस्न रुचाउने हुनाले सिकारीबाट जोगाउन जरुरी छ ।'


केही महिनाअघि चितवन निकुञ्जबाट आएको एकसिङ्गे गैंडा यहाँस्थित गैंडाटार जंगलमा सिकारीले हानेको गोली लागेर घाइते भएको थियो । उपचारका क्रममा गैंडा मरेको थियो । निकुञ्जको टोलीले समेत रौतहटमा सिकारीको चलखेल बढेको भनेका थिए । अवैध हतियार बोकेर यहाँको राष्ट्रिय वनमा वन्यजन्तुको सिकार गर्छन् ।


जिल्लाको चोचा, चन्द्रपुर, गैंडाटार, रंगपुर, वलरी क्षेत्रमा प्रतिबन्धित हतियारको प्रयोग गरी वन्यजन्तु मार्ने गरेको स्थानीयले बताए । यहाा अझै पनि धेरैका घरमा अबैध हतियार राखिएको छ । यस्ता हतियारहरू शिकार गर्नमा प्रयोग हुने गरेको छ । जङ्गलबाट शिकार गरी मारेको वन्यजन्तुको मासु लुकाएर गाउाघरमा बिक्री हुने गरेको पाईएको छ । शिकारीका कारण जङ्गलमा रहेको हरिण, बादेल मृग जस्ता वन्यजन्तुको अवस्था संकटमा परेको छ ।


विगतमा रोकिएकेा बन्यजन्तुको सिकार पछिल्लो समय फेरी बढेको छ । वर्षको एक पटक शिकारीहरू सलबलाउछन् । उनीहरू डढेलोको आडमा शिकार गर्छन् । यस्तो समयमा वन कर्मचारी सजक हुनु पर्ने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । 'सिकारीको चलखेल बढेको मैले पनि सुनेको छु,' उनले भने, 'वनलाई २४ सै घण्टा गस्ती गर्न भनेको छु । यसले काठ तस्कर र शिकारी नियन्त्रणमा आउछ ।'

प्रकाशित : जेष्ठ ६, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?