कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मनस्थिति बिग्रेकाको संख्या बढ्दो

शिव पुरी

रौतहट — पूर्वबाट आउँदै गरेको एउटा बस शुक्रबार बिहान चन्द्रनिगाहपुर चोकमा रोक्नै लागेका बेला मानसिक मनस्थिति बिग्रेका एक युवकले ढुंगा हाने । ढुंगा बसमा नलागेर सन्तपुरका वृद्ध रामेश्वर चौधरीको खुट्टामा बजारियो ।

उनी सामान्य घाइते भए । मनस्थिति बिग्रेका युवक टुलुटुलु हेरेर बसिरहे । यस्तो घट्ना यहाँ नौलो होइन । सडकमा बेबारिसे जीवन बिताईरहेकाहरूले सधैंजसो यस्तै हरकत गर्छन् ।


चन्द्रपुर ४ स्थित मुख्य चोकमा पछिल्लो समय मनस्थिति बिग्रिएकाहरूको संख्या बढ्दो छ । उनीहरूले सर्वसाधारणलाई आक्रमण गर्ने, सबारीमा ढुंगा हान्ने जस्ता हरकत गर्छन् । बेबारिसे जस्तै लामो समय सडकमै सुत्छन् । स्थानीयले फालेको फोहोर बस्तु खान्छन् ।


अधिकांश राम्ररी बोल्न सक्दैनन् । यहाँ यस्ता महिला र पुरुषको संख्या ६ जति छ । जिल्लाभरिीमा १५ जनाभन्दा बढी रहेको अनुमान छ । पूर्वपश्चिम राजमार्गस्थित जंगलमा भौतारिएर हिँडेकाहरूको संख्या पनि उस्तै छ । मनस्थिति बिग्रिएर हिँडेकाहरूलाई नगरपालीकाले अन्यत्र वा कुनै आश्रममा ब्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ ।


कुनै पनि बेला अप्रिय घटना गराउन सक्ने भन्दै कतै लगेर राख्न भनिएको हो । नगरपालीकाका उपप्रमुख रामरति चौधरीले सडकमा आफन्तबाट बिछडिएर भौतारेकाहरूलाई मानवसेवा आश्रममा ब्यवस्थापन गर्नुपर्ने बताइन् । ‘नगरभित्र यो पनि जटिल समस्या बनेको छ । यसलाई कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा बहस चलाउनु जरुरी छ,’उनले भनिन्, ‘सबैको साथ सहयोगले यस्ता समस्याको समाधान निकाल्नुपर्छ । यो एउटा मानविय धर्म पनि हो ।’


सडकमा एकोहोरो हिँडिरहेको अवस्थामा कतिपयको सबारीले ठक्कर दिएर मृत्यु समेत हुने गरेको छ । इलाका प्रहरी चन्द्रनिगाहपुरका अनुसार यसै आर्थिक वर्षमा सडकमा बेबारिसे अवस्थामा सबारीको ठक्करबाट ३ जनाको मृत्यु भइसकेको छ ।


प्रहरी नायब निरीक्षक ख्याली सिंहले पछिल्लो समय चन्द्रनिगाहपुर क्षेत्रमा मनस्थिति बिग्रेका महिला तथा पुरुषको संख्या बढेको स्वीकारे । ‘उनीहरूलाई कतै लगेर राख्न जरुरी छ,’ उनले भने, ‘सडकमा जथाभावी हिँड्ने गर्दा दुर्घटनामा पर्न सक्छन् ।’


प्राय जंगल क्षेत्रमा सवारीले ठक्कर दिएर भाग्ने गरेको पाइएको छ । अघिल्लो महिना लमाहा जंगलमा सडकमा हिँडिरहेको पुरुषलाई ठक्कर दिँदा घटनास्थलमा मृत्यु भयो । मनस्थिति बिग्रिएका उनको सनाखत हुन सकेन ।


रातीको समय भएकाले दुर्घटना गराउने सवारी समेत पत्ता लागेन । ठक्कर दिएर सबारी भगाउने गरेको प्रहरीको भनाइ छ । ६ महिना अघि मनस्थिति बिग्रेको एक महिलालाई अज्ञात व्यक्तिले गर्भवती बनाएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी मदन भुजेलले हेटांैडास्थित मानव सेवा केन्द्रमा लगेर राखेका थिए ।


नजिकमा मानवसेवा आश्रम नभएकाले पनि उनीहरूलाई व्यवस्थापन गर्न नसकिएको हो । हाल सदरमुकाम गौरमा नगरपालीकाका उपमेयर किरण ठाकुरको पहलमा मानवसेवा केन्द्रको निर्माण सुरु भएको छ ।


भवन निर्माणको काम सकिए पछि रौतहट लगायतका छिमेकी जिल्लाहरूमा सडकमा भौतारिने आमा, बुबा, दाजु, भाइ र बालबालिकालाई आश्रममा बस्न दिने योजना बनाइएको सेवाकेन्द्रको अध्यक्ष समेत रहेको ठाकुरले बताइन् ।

‘हाम्रो उद्देश्य भनेकै सडकमा कोही पनि टुहुरा बालबालिका, अभिभावकहरूले कष्टकर जीवन बिताउनु नपरोस भन्ने हो,’ उनले भनिन्, ‘सेवा केन्द्र सञ्चालनमा आएपछि सबै समस्याको समाधान निस्कन्छ ।’


एक वर्षअघि इलाका प्रहरीले ५ जनालाई मनस्थिति बिग्रेकाहरूलाई बसमा चढाएर राती अन्यत्र पठाइएको थियो । चन्द्रनिगाहपुरका समाजसेवी सपुतबहादुर कार्कीले सडकमा कस्टकर जीवन बिताइरहेकाहरूलाई सबै मिलेर सहयोग गर्नुपर्ने बताए ।


सडकमा हिँडिरहेका बेला उनीहरूले होटलमा बिक्रीका लागि राखिएको समान झिकेर खाइदिन्छन् । त्यस बेला होटल मालिकले उनीहरूमाथि दुब्र्यवहार समेत गरेको पाइन्छ । पानी छ्याप्ने र लखेट्ने गरेको प्रत्यक्ष देख्न सकिन्छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?