१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्रसर उद्योगलाई किसानको उखु

चिनी उद्योगहरुले भुक्तानीमा आलटाल गरेपछि किसानले विकल्पमा क्रसर उद्योगलाई उखु बेच्न थालेका छन्
ओमप्रकाश ठाकुर

सर्लाही — चिनी उद्योगले भुक्तानी गर्न आलटाल गरेपछि किसानले विकल्पमा उखु पेल्ने क्रसरलाई आफ्नो उखु बेच्न थालेका छन् । किसानले नगद पाउन थालेपछि ढिलै भए पनि क्रसर उद्योगमै उखु बिक्री गरिरहेका हुन । 

क्रसर उद्योगलाई किसानको उखु

जिल्लाका तीनवटा चिनी उद्योग क्रसिङ सकेर बन्द भइसकेका छन् । यहाँका किसान भने अझै पनि सख्खर बनाउने क्रसर उद्योगमा उखु बिक्री गरिरहेका छन् ।


चिनी उद्योग बन्द भएको करिब एक महिना बितिसक्दा समेत बरहथवा नगरपालिका-१५ पिपराभित्तास्थित सख्खर बनाउने क्रसर उद्योग चलिरहेकै छन् । क्रसर उद्योगमा किसानहरूको भीड छ । यहाँका चिनी उद्योग सञ्चालन भइरहँदा पनि कतिपय किसानले तत्कालै भुक्तानी पाइने आशमा क्रसर उद्योगलाई नै उखु बेचेका थिए ।


चिनी उद्योगमा उखु बिक्री गरेको भुक्तानी लिन वर्षौं कुर्नुभन्दा क्रसर उद्योगमा विक्री गरेको उखुको भुक्तानी तुरुन्त पाइने गरेको बरहथवा नगरपालिका-१४ का किसान लालबाबु रायले बताए । ‘चिनी उद्योगमा उखु बिक्री गरेको तीन वर्ष भइसक्दा समेत भुक्तानी पाइएको छैन, तर क्रसरमा उखु बिक्री गर्ने बित्तिकै रकम हात लाग्छ,’ रायले भने, ‘भुक्तानीको लागि चिनी उद्योगमा वर्षौ कुर्नुभन्दा थोरै मूल्य पाए पनि क्रसरमै उखु बेचेको फाइदा ।’


यहाँ सञ्चालित क्रसर उद्योगले किसानको खेतबाट उखु प्रतिकिलो ७ देखि १० हजार रुपैयाँसम्म खरिद गर्ने गरेका छन् । गत कात्तिकदेखि नै क्रसिङ सुरु गरेको पिपराभित्ताका क्रसर उद्योगले अहिलेसम्ममा ४० हजार क्विन्टल उखु क्रसिङ सकेको उद्योगका सञ्चालक रत्नेश महतोले बताए ।


‘यसवर्ष चिनी उद्योगबाट भुक्तानी नपाएर किसान पीडामा थिए, कतिपय किसानले बाँकी राखेको उद्योगमा उखु बिक्री गरेनन्, हामीलाई नै दिए,’ उनले भने, ‘हामीले नगदै किसानको उखु खरिद गरेका छौं ।’ क्रसर उद्योगमा उत्पादन भएको सख्खर जिल्लाको विभिन्न बजार र छिमेकी जिल्लामा समेत निर्यात हुँदै आएको छ ।


‘उत्पादित सख्खर बेच्न कुनै समस्या छैन, उत्पादन हुनेबित्तिकै बिक्री हुने गरेको छ,’ क्रसर सञ्चालक महतोले भने, ‘चिनी उद्योगले बेलैमा पैंसा नदिएपछि किसानले क्रसरमा उखु ल्याउने क्रम पनि बढेको छ ।’


जिल्लाको हरिवनस्थित इन्दुशंकर चिनी उद्योग, पश्चिमी क्षेत्र स्थित अन्नपूर्ण चिनी उद्योग र दक्षिणी क्षेत्रस्थित महालक्ष्मी चिनी उद्योग वैशाखमै बन्द भएका थिए । यीमध्ये इन्दुशंकरले उखु क्रसिङ सुरु गरेदेखि माघ महिनासम्मको भुक्तानी करिबव ४२ करोड भुक्तानी दिएको छ भने महालक्ष्मी र अन्नपूर्णले अहिले सम्म भुक्तानी नै गरेका छैनन् ।


आन्दोलन फिर्ता

सर्लाही- चिनी उद्योगबाट भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रेका सर्लाहीका दक्षिणी क्षेत्रका किसान र उद्योगका प्रतिनिधिबीच ५ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता लिएका छन् । यसअघि गतवर्षदेखि बाँकी रहेको उखुको भुक्तानीको माग गर्दै उनीहरू आन्दोलनमा उत्रेका थिए ।


सोमबार स्थानीय प्रशासन, मिल प्रतिनिधि र किसान प्रतिनिधिबीच भएको ५ बुँदे सहमतिपछि किसानले आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको छ ।


सहमति अनुसार अन्नपूर्ण चिनी उद्योग धनकौलमा मौज्दात रहेको चिनी र मोलासिस बिक्री गरेको रकममध्ये ८५ प्रतिशत रकम पहिले उखु बिक्री गर्ने किसानलाई दिनुपर्ने, विगत वर्षको भुक्तानी दिन बाँकी रहेको १२ करोड ५० लाख रकम असार मसान्तभित्र दिनुपर्ने, राज्यबाट प्रदान गरिने ६५ रुपैयाँ २८ पैसा अनुदान रकम जेठ मसान्तभित्र किसानको खातामा पठाउनु पर्ने, किसानको खातामा जम्मा गर्ने रकम र सो बमोजिमको विवरण तथा भर्पाइ १५÷१५ दिनमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा उपलब्ध गराउनुपर्ने उल्लेख छ ।


चिनी बिक्री वितरणमा सबैले सहयोग गर्ने र अवरोध गर्नेलाई कारबाही गर्ने, उद्योगले किसानलाई पैसा नदिए उद्योगका पदाधिकारीलाई पनि कारबाही गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए ।


पहिले बिक्री गरेको किसानलाई पहिले भुक्तानी र पछि बिक्री गर्नेलाई पछि भुक्तानी दिने र कसैको दबाब वा प्रभावबाट भुक्तानीमा तलमाथि गर्नेलाई पनि कानुन बमोजिम कारबाही गरिने सहमतिका साथ आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने सहमतिपत्रमा छ ।


आफूहरूको मागमा उद्योगीले सहमति जनाएपछि अनशन तोडिएको आन्दोलनको नेतृत्व गर्दै आएका राष्ट्रिय जनता पार्टी नेपालका सह महामन्त्री राकेश मिश्रले बताए । वार्तामा भएको सहमतिअनुसार किसानले भुक्तानी नपाए असोजपछि पुन: आन्दोलन गर्ने उनले बताए ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?