ठोरीवासीद्वारा भारतीय बजार बहिष्कार

शंकर आचार्य

पर्सा — पर्साको सुदूरपश्चिम ठोरी गाउँपालिका बासिन्दाले सोमबार देखि सीमावर्ती भारतीय बजार भिखनाठोरीमा किनमेल गर्न बन्द गरेका छन् ।

किनमेल गर्न भारतीय बजारमा गएका ठोरीबासीलाई विहीबार कुटपिट गर्ने भारतीय युवकलाईपारिका प्रहरीले हालसम्म पक्राउ नगरेको गुनासो गर्दै बजार बहिष्कार गरेका हुन् ।

नेपालीलाई कुटपिट गर्ने भारतीय युवकलाई पक्राउ गरी कारवाही नगरेसम्म ठोरीबासी आक्रोशित हुँदै सीमावर्ती बजारलाई बहिष्कार गरेको स्थानीय रामशरण लामिछानेले बताए । बिहीबार साँझ भिखनाठोरीमा छ जनाजति ठोरीबासीलाई भारतीयले कुटपिट गरेका थिए ।

ठोरी १ टाउनका विष्णु बिष्टलाई निर्घात कुटपिट गरी घाइते बनाएपछि उनलाई शुक्रबार उपचारार्थ नारायणघाट पठाइएको छ । भारतीयले ठोरी इच्छानगरका १२/१३ बर्ष उमेर समूहका ३ बालिका, सुन्दरवस्तीका अन्य २ जनालाई समेत कुटपिट गरेका थिए ।

‘नेपालतर्फ ठोरीको वनशक्ति मन्दिर नजिक झंैझगडा गरी भारत पसेका भारतीय युवक रवि साहले बदलाको भावना राखी अन्य भारतीय समेत भई जो नेपाली भेट्टायो कुटपिट गरी हाल्ने गरेका थिए,’ लामिछाने भने, ‘उक्त घटनालगत्तै ठोरीका भद्र भलादमी, नेपाल प्रहरी, सशस्त्र प्रहरी समेतका अधिकारीहरू भारत पुगेर त्यहाँका सुरक्षा अधिकारीलाई भेटेर लिखित उजुरी समेत दर्ता गरेका छन् । तर नेपाली कुट्ने भारतीय नागरिकलाई कुनै कारबाही नगरेपछि ठोरीबासीले भारतीय बजार नै बहिष्कार गर्नु परेको हो ।’

स्थानीय प्रकाश खनालले बिहीबार भारतीय बजार भिखना ठोरीमा हाट बजार लाग्ने गरेको र त्यसदिन धेरै नेपाली किनमेलका लागि त्यहा पुग्ने गरेकाले धेरै नेपाली कुटिएको बताए । ‘एक जना भारतीयले निजी झगडाको कारण सम्पूर्ण नेपालीमाथि नै कुटपिट गर्दासमेत भारतीय प्रहरीले उसलाई पक्राउ नगर्दा नेपालीको चित्त दुखेको हो,’ उनले भने ।

इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदार पन्तले बिहीबार भारतीय नागरिक रवि साहले ठोरीको वनशक्ति मन्दिर नजिक आएर स्थानीय एक वृद्धा महिलालाई अपशब्द प्रयोग गरी जबर्जस्ती उनको बारीको बाटो भएर केही भारतीयलाई नजिकको झोलु¨े पुलतर्फ पठाउन खोजेपछि विवाद भएको बताए ।

मादक पदार्थ सेवन गरेका रवीले जग्गा धनी ती वृद्धालाई तथानाम भनेर हप्कीदप्की गरिरहेको देखेका चितवन माडी बसन्तपुर-३ का युवा सूर्य भन्ने ३३ बर्षिय ओम बहादुर गुरुङले साहलाई दुई थप्पड हिर्काएका थिए ।

सुभद्रा थानाका सव इन्सपेक्टर धनन्जय कुमारले साहलाई अविलम्ब पक्राउ गरेर कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । सोमबार नेपालीले भारतीय बजार बहिष्कार गरेको कुरोको जानकारी आफूले सोमबार नै भिखना ठोरीका भारतीय सुरक्षा फौज एसएसबीका प्रमुख मनभिन्दर सिंहलाई समेत जानकारी गराइसकेको प्रनि पन्तले बताए ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

१८ बोरा मरिच बरामद

रवीन्द्र उप्रेती

महोत्तरी — भारतीय सीमावर्ती मटिहानी बजारबाट प्रहरीले ठूलो परिमाणमा मरिच बरामद गरेको छ । प्रहरीले मटिहानी नगरपालिका-७ स्थित महेशप्रसाद साहको किराना पसलबाट ४ सय ५० किलोग्राम मरिच नियन्त्रणमा लिएको हो । साह उद्योग वाणिज्य संघ मटिहानीका सदस्यसमेत हुन् ।

प्रदेश प्रहरी जनकपुर र जिल्ला प्रहरी कार्यालय जलेश्वरबाट आईतवार राति ८ बजे मटिहानी पुगेको टोलीले साहको गोदाममा खोजतलास गर्दा २५ किलोका १८ बोरा मरिच फेला पारेको हो ।

भारतीय बजारतर्फ तस्करी गरेर लैजादा विगतमा पनि मरिच बरामद हुने गरेको थियो । व्यापारी साहले मरिचको बिल विजकमा त्रुटि फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

उनले जनकपुर उपमहानगरपालिका-२ परिक्रमा सडकमा पर्ने जानकी स्टोर्सबाट वैशाख ५ मा कमल एण्ड सन्सको नाममा खरिद गरेको ४ सय ५० किलो मरिचको बिलमा क्रेताको करदाता दर्ता नं ३०१२३७५१३ उल्लेख छ ।

यसअघि जनकपुरकै नानेश इन्रटरप्राइजेजबाट ०७५ भदौ ६ मा कमल एण्ड सन्स कै नाममा खरिद गरेको १ सय ५० किलो मरिचको बिल लमा बिक्रेताको करदाता दर्ता नम्बरमा सामान्य फरक पारेर ३०१२३७५०३ लेखिएको छ । ‘एउटै क्रेताको करदाता नं (५०३ र ५१३) कसरी फरक हुन गयो ?’ एसपी कार्कीले प्रश्न गरे ’ यो त्रुटि नियतबस हो वा भूलचुक ? छानबिनका लागि दुवै बिल विजक सहित मरिचका बोरा नियन्त्रणमा लिएका हाैं ।’

मरिच सञ्चय गरी राखेको साहको गोदाम भारतीय बजार मधवापुरदेखि केवल ५ सयमिटरको दूरीमा रहेकोले पनि प्रहरीले तस्करीको आशंका गरेका छन् ।

मटिहानी नाकाबाट मौका पारेर ससाना परिमाणमा भारततर्फ मरिच तस्करी हुने गरेको सूचनाको आधारमा दश गजा क्षेत्रमा केही समय यता सुरक्षा निकायले निगरानी बढाउँदै आएको थियो । केही समय यता नेपाल र भारतका बजारमा मरिचको मूल्यमा प्रतिकेजी ४ सय रुपैयाँसम्म अन्तर छ । ‘नेपाली बजारमा अहिले मरिचको खुद्रा मूल्य प्रतिकिलो ५ सय ५० रुपैयाँ मात्र छ,’ स्थानीय एक किराना पसलेले बताए ।

‘तर भारतीय सीमा नजिकैको भिट्ठामोड लगायत भारतीय बजारमा भने यसको मूल्य प्रतिकेजी भारु ६ सय रुपैयाँ छ । पटना, मुजफ्फरपुर लगायत विभिन्न शहरमा पु¥याउँदा थप महँगो हुँदै जानाले लुकाई छिपाई मरिच तस्करी हुने गरेको हो ।’ जिल्ला प्रहरीले बरामद मरिच सोमवार जलेश्वर भन्सार बुझाएको छ ।

भन्सार प्रमुख केशव भण्डारीले प्रहरीले बुझाएको मरिचको भन्सार ऐनबमोजिम कारबाही अघि बढाएको जनाए ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT