१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सिम्रौनगढ क्षेत्रमा खानेपानी हाहाकार

पवन यादव

सिमरा — बाराको सिम्रौनगढ नगरपालिका ७ झवानीकी ६० वर्षीया देवपतिदेवी रामले नुहाएको एक साता बढी भइसक्यो । मैलो कपडा सफा गर्न र गाईभैंसी, खसीबाख्रालाई पानी खुवाउन पनि निकै सास्ती भोग्नु परेको उनले बताइन् ।

सिम्रौनगढ क्षेत्रमा खानेपानी हाहाकार

खाना पकाउन र पिउनका लागि खेतमा सिँचाइ गर्न गाडिएको बोरिङको पानी ल्याएर काम

चलाउनुपरेको उनले सुनाइन् ।


शुद्ध पानी पिउनका लागि उनको घरको आँगनमा एक सय ५० फिट गहिरो चापाकलको पाइप गाडिएको छ । फागुनअघिसम्म चापाकलमा खुबै पानी आउथ्यो । एक पल्ट चापाकलको

ह्यान्डिल दबाउँदा लोटा भरिन्थ्यो । तर फागुन यता उक्त चापाकलबाट कम पानी आउँछ ।


चैतको दोस्रो सातादेखि त जति पेले पनि चापाकलमा पानी नै आउँदैन । एकैछिनमा लोटा भरिने चापाकललाई बेस्सरी पेल्दा ५/१० मिनेटमा पनि लोटा भरिँदैन । लेयर सुकेर चापाकलबाट अहिले पानी नै आउन छाडेको उनले जानकारी दिइन् ।


‘गाउँमा ३÷४ वटा चापाकलबाहेक सबै सुकेका छन्,’ उनले भनिन्, ‘जत्ति पेले पनि चापाकलबाट पानी आउँदैन ।’ उनले सुकेको चापाकल पेलेर देखाइन् । जति पेल्दा पनि पानी आएन । डेढ सय भन्दा बढी घर परिवारको बसोबास रहेको झवानी टोलको प्राय: सबै घरमा चापाकल गाडिएका छन् । राम्रो पानीका लागि डेढ सय फिटभन्दा बढी गहिरो गाडिएको प्राय: सबै चापाकलले पानी दिन छाडेका छन् । त्योभन्दा कम गाडिएको चापाकलले चाही पानी दिने गरेको स्थानीयले बताए ।

गाउँमा पानी खानका लागि सबै चापाकल डेढ सय वा सोभन्दा बढी गहिरो गाडिएको स्थानीय कोशिलादेवी रामले बताइन् । ‘पहिला यसरी चापाकल सुक्दैनथ्यो,’ उनले भनिन्, ‘विगत ३ वर्षदेखि नै गर्मीको बेलामा चापाकल सुक्ने क्रम सुरु भएको छ ।’


उमेरले ६० काटिसकेकी वृद्धा कोशिलाले चापाकल सुकेर यसपालि गाउँमै पानीको हाहाकार भएको बताइन् । चापाकलको पानी सुकेपछि सिँचाइका लागि ४०/५० फिटसम्म गहिरो गाडिएको बोरिङको अशुद्ध पानी खान बाध्य हुनुपरेको उनले बताइन् ।


गाउँभरिकै चापाकल सुकेपछि तत्कालै पानीको वैकल्पिक व्यवस्था गर्न स्थानीय बासिन्दाले सम्बन्धित सरोकारवाला निकाय र सरकारसँग माग गरेका छन् । घरबाटै कहिलै ननिस्कने बुहारीहरू पानीका लागि अहिले टाढाटाढा जानुपर्ने बाध्यता आइपरेको पीडितले बताए ।

घरबाट झन्डै एक÷डेढ किलोमिटरसम्म खेतमा चलेको मोटरबाट पानी भर्नु पर्ने अवस्था आएको स्थानीयले जनाए ।


चापाकलको पानी खाने चलन बढ्दै गएपछि गाउँमा खनिएका डेढ/दुई सय फिट गहिरो इनार प्रयोगविहीन भएका छन् । पानीको श्रोतका रूपमा रहेका इनार ठप्प भएका कारण स्थानीयलाई पानीको समस्या बढेको हो । यस क्षेत्रमा पानीको मुख्य श्रोतका रूपमा रहेको इनार र चापाकल दुबै ठप्प भएपछि गाउँमा पानीको हाहाकार भएको पीडितहरूले बताए ।


झवानी गाउँमा मात्र होइन । यस क्षेत्रका टेटा गाउँमा पनि ६० वटाभन्दा बढी चापाकल सुकेको सिम्रौनगढ नगरपालिका १० टेटाका अकलु दास तत्माले बताए । ‘एक साताअघिसम्म थोरै-थोरै पानी दिँदै आएको चापाकल अहिले पुरै सुकेको छ,’ उनले भने, ‘जति चलाए पनि चापाकलबाट पानी निस्कँदैन ।’


गाईगोरुलाई पानी खुवाउन गोठमा गाडिएको चापाकलको पानीबाट काम चलाउनुपरेको उनले जानकारी दिए । अझै बर्खा नभए अहिले सुक्न बाँकी रहेको चापाकलसमेत पानी दिन छाड्ने उनको ठम्याइ छ ।


पानी अभावको समस्यालाई समाधान गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा उनको जोड छ । सिम्रौनगढ नगरपालिकाको वडा नं. ८ र ९ कचोर्वा, वडा नं. १० टेटा, वडा नं. १ बैरिया, वडा नं. ७ झवानी गाउँमा अहिले खानेपानीको हाहाकार भएको सिम्रौनगढ नगरपालिकाका प्रमुख मेयर विजयशंकर यादवले बताए ।


‘नगर क्षेत्रको गाउँ टोलमा गाडिएको चापाकलले पानी दिन छाडेको खबर आएपछि त्यस क्षेत्रमा खाने पानी पु¥याउन नगरपालिकाले पहल कदमी थालेको छ,’ उनले भने, ‘सिम्रौनगढ बजारमा रहेको खानेपानी ट्यांकीको पानी गाउँसम्म पु¥याउन खानेपानीको पाइप बिछ्याउन तयारी सुरु गरिएको छ ।’


एक साता सम्ममा पाइप बिछ्याएर झवानीमा पानी पु¥याउने तयारी नगरपालिकाले थालेको उनले जानकारी दिए । चापाकल सुकेर नगर क्षेत्रको विभिन्न टोलका गरी १२ हजारभन्दा बढी परिवार प्रभावित भएको उनले जानकारी दिए ।


नगरवासीलाई शुद्ध पानीको व्यवस्थापन गर्न आफु तयारीमा जुटेको उनले बनाएका छन् । सिम्रौनगढसँगै जिल्लाको बेल्दारी, पिपरपाती, बैनौली लगायत गाउमा पनि अहिले चापाकल सुक्ने क्रम बढेको स्थानीयले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?