सिम्रौनगढ क्षेत्रमा खानेपानी हाहाकार

पवन यादव

सिमरा — बाराको सिम्रौनगढ नगरपालिका ७ झवानीकी ६० वर्षीया देवपतिदेवी रामले नुहाएको एक साता बढी भइसक्यो । मैलो कपडा सफा गर्न र गाईभैंसी, खसीबाख्रालाई पानी खुवाउन पनि निकै सास्ती भोग्नु परेको उनले बताइन् ।

बाराको सिम्रौनगढ नगरपालिका ७ झवानी टोलमा चापाकलबाट पानी निकाल्ने प्रयास गर्दै स्थानीय महिला ।  तस्बिर : पवन/कान्तिपुर  

खाना पकाउन र पिउनका लागि खेतमा सिँचाइ गर्न गाडिएको बोरिङको पानी ल्याएर काम
चलाउनुपरेको उनले सुनाइन् ।

शुद्ध पानी पिउनका लागि उनको घरको आँगनमा एक सय ५० फिट गहिरो चापाकलको पाइप गाडिएको छ । फागुनअघिसम्म चापाकलमा खुबै पानी आउथ्यो । एक पल्ट चापाकलको
ह्यान्डिल दबाउँदा लोटा भरिन्थ्यो । तर फागुन यता उक्त चापाकलबाट कम पानी आउँछ ।

चैतको दोस्रो सातादेखि त जति पेले पनि चापाकलमा पानी नै आउँदैन । एकैछिनमा लोटा भरिने चापाकललाई बेस्सरी पेल्दा ५/१० मिनेटमा पनि लोटा भरिँदैन । लेयर सुकेर चापाकलबाट अहिले पानी नै आउन छाडेको उनले जानकारी दिइन् ।

‘गाउँमा ३÷४ वटा चापाकलबाहेक सबै सुकेका छन्,’ उनले भनिन्, ‘जत्ति पेले पनि चापाकलबाट पानी आउँदैन ।’ उनले सुकेको चापाकल पेलेर देखाइन् । जति पेल्दा पनि पानी आएन । डेढ सय भन्दा बढी घर परिवारको बसोबास रहेको झवानी टोलको प्राय: सबै घरमा चापाकल गाडिएका छन् । राम्रो पानीका लागि डेढ सय फिटभन्दा बढी गहिरो गाडिएको प्राय: सबै चापाकलले पानी दिन छाडेका छन् । त्योभन्दा कम गाडिएको चापाकललेचाही पानी दिने गरेको स्थानीयले बताए ।
गाउँमा पानी खानका लागि सबै चापाकल डेढ सय वा सोभन्दा बढी गहिरो गाडिएको स्थानीय कोशिलादेवी रामले बताइन् । ‘पहिला यसरी चापाकल सुक्दैनथ्यो,’ उनले भनिन्, ‘विगत ३ वर्षदेखि नै गर्मीको बेलामा चापाकल सुक्ने क्रम सुरु भएको छ ।’

उमेरले ६० काटिसकेकी वृद्धा कोशिलाले चापाकल सुकेर यसपालि गाउँमै पानीको हाहाकार भएको बताइन् । चापाकलको पानी सुकेपछि सिँचाइका लागि ४०/५० फिटसम्म गहिरो गाडिएको बोरिङको अशुद्ध पानी खान बाध्य हुनुपरेको उनले बताइन् ।

गाउँभरिकै चापाकल सुकेपछि तत्कालै पानीको वैकल्पिक व्यवस्था गर्न स्थानीय बासिन्दाले सम्बन्धित सरोकारवाला निकाय र सरकारसँग माग गरेका छन् । घरबाटै कहिलै ननिस्कने बुहारीहरू पानीका लागि अहिले टाढाटाढा जानुपर्ने बाध्यता आइपरेको पीडितले बताए ।
घरबाट झन्डै एक÷डेढ किलोमिटरसम्म खेतमा चलेको मोटरबाट पानी भर्नु पर्ने अवस्था आएको स्थानीयले जनाए ।

चापाकलको पानी खाने चलन बढ्दै गएपछि गाउँमा खनिएका डेढ/दुई सय फिट गहिरो इनार प्रयोगविहीन भएका छन् । पानीको श्रोतका रूपमा रहेका इनार ठप्प भएका कारण स्थानीयलाई पानीको समस्या बढेको हो । यस क्षेत्रमा पानीको मुख्य श्रोतका रूपमा रहेको इनार र चापाकल दुबै ठप्प भएपछि गाउँमा पानीको हाहाकार भएको पीडितहरूले बताए ।

झवानी गाउँमा मात्र होइन । यस क्षेत्रका टेटा गाउँमा पनि ६० वटाभन्दा बढी चापाकल सुकेको सिम्रौनगढ नगरपालिका १० टेटाका अकलु दास तत्माले बताए । ‘एक साताअघिसम्म थोरै-थोरै पानी दिँदै आएको चापाकल अहिले पुरै सुकेको छ,’ उनले भने, ‘जति चलाए पनिचापाकलबाट पानी निस्कँदैन ।’

गाईगोरुलाई पानी खुवाउन गोठमा गाडिएको चापाकलको पानीबाट काम चलाउनुपरेको उनले जानकारी दिए । अझै बर्खा नभए अहिले सुक्न बाँकी रहेको चापाकलसमेत पानी दिन छाड्ने उनको ठम्याइ छ ।

पानी अभावको समस्यालाई समाधान गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा उनको जोड छ । सिम्रौनगढ नगरपालिकाको वडा नं. ८ र ९ कचोर्वा, वडा नं. १० टेटा, वडा नं. १ बैरिया, वडा नं. ७ झवानी गाउँमा अहिले खानेपानीको हाहाकार भएको सिम्रौनगढ नगरपालिकाका प्रमुख मेयरविजयशंकर यादवले बताए ।

‘नगर क्षेत्रको गाउँ टोलमा गाडिएको चापाकलले पानी दिन छाडेको खबर आएपछि त्यस क्षेत्रमा खाने पानी पु¥याउन नगरपालिकाले पहल कदमी थालेको छ,’ उनले भने, ‘सिम्रौनगढ बजारमा रहेको खानेपानी ट्यांकीको पानी गाउँसम्म पु¥याउन खानेपानीको पाइप बिछ्याउन तयारी सुरु गरिएको छ ।’

एक साता सम्ममा पाइप बिछ्याएर झवानीमा पानी पु¥याउने तयारी नगरपालिकाले थालेको उनले जानकारी दिए । चापाकल सुकेर नगर क्षेत्रको विभिन्न टोलका गरी १२ हजारभन्दा बढी परिवार प्रभावित भएको उनले जानकारी दिए ।

नगरवासीलाई शुद्ध पानीको व्यवस्थापन गर्न आफु तयारीमा जुटेको उनले बनाएकाछन् । सिम्रौनगढसँगै जिल्लाको बेल्दारी,पिपरपाती, बैनौली लगायत गाउमा पनिअहिले चापाकल सुक्ने क्रम बढेको स्थानीयले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चिनी मिलले लक्ष्य भेट्टाएन

यो सिजनमा १ सय १३ दिनसम्म सञ्चालन भएको चिनी मिलले २८ लाख ३६ हजार ४ सय ६० क्विन्टल उखु क्रसिङ 
पवन यादव

सिमरा — ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएर सञ्चालन भएको बाराको श्रीपुरस्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले यसपालि लक्ष्य भेटाएन । 

बाराको श्रीपुरस्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालि बन्द भएपछि शनिबार सुनसान रहेको चिनी मिल । तस्बिर : पवन/कान्तिपुर 

मिलले अनुमान गरिएको लक्ष्यभन्दा करिब साढे ६ लाख क्विन्टल कम उखु क्रसिङ गरेको छ । यसपालि सञ्चालन भएको १ सय १३ दिनमा चिनीमिलले २८ लाख ३६ हजार ४ सय ६० क्विन्टल २८ किलो उखु माक्र त्रसिङ गरेको रिलायन्स सुगर एन्ड केमिकल इन्डष्ट्रिज प्रालि श्रीपुर बाराका उखु महाशाखा निर्देशक ओमप्रकाश शुक्लाले जानकारी दिए ।

पछिलो सिजनमा १ सय २८ दिनसम्म सञ्चालन भएको चिनी मिलले २९ हजार १ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । गत वर्षभन्दा यसपालि झन्डै एक लाख क्विन्टल उखु कम क्रसिङ्ग भएको उनले जानकारी दिए । गत वर्ष तुलनामा यसपाली झन्डै १५ दिन अगाडी नै चिनी मिल बन्द भएको उनले जानकारी दिए ।

गत वर्ष १० हजार ८ सय २५ विगहा क्षेत्रफल जग्गामा उखु खेती गरिएको थियो । उखु खेती ३ हजार ६ सय २७ विगहा क्षेत्रफल बढेर १४ हजार ४ सय ५२ विगहा क्षेत्रफलमा पुगे पनि यसपाली उत्पादन घटेको उनले जानकारी दिए । ‘बर्खाको पानी र रोगको प्रकोपले यसपाली खुट्टी उखु बिग्रेको थियो,’ उनले भने, ‘क्षेत्रफल बढे पनि प्रकोपको कारण उखुको उत्पादन घटिन गएको हो ।’ त्यसैले उखुको उत्पादन बढाउन भेराइ चेन्ज गर्न थालिएको र पुरानो जातको उखु खेती छाडेन किसानलाई प्रोत्साहन गर्न थालिएको उनले बताए ।

यसपाली एभरेजमा २५ हजार क्विन्टल उखु क्रसिङ्ग भएको उनले जानकारी दिए । यो सिजनमा कुनै कुनै दिन चिनीमिलले ३३ हजार क्विन्टल उखु क्रसिङ्ग गरेको उनले दाबी गरे । चिनीमिलले संचालन भएको केही दिन पछि किसानलाई उखुको भुक्तानी सुरु भएको उनले जानकारी दिए । चाँडै नै किसानको बक्यौता भुक्तानी पूरा गरिने उनले जानकारी दिए । नर्मली १ सय २० दिन सम्म चिनीमिल संचालन गर्ने क्यालेन्डर तय गरिएको थियो । यो सिजनमा गरिएको उखु खेती अनुकूल मौसमले समेत साथ नदिएको उनको जिकिर छ ।

उखुको उत्पादन बढाउन उखु खेती गर्न नयाँ प्रविधी भित्र्याउन किसानलाई प्रोत्साहन गर्न २ दिने अवलोकन भ्रमण समेतको आयोजना चिनीमिलले गरेको थियो । यहाँका किसानले गर्दै आएको परम्परागत उखु खेतीलाई आधुनिकीकरण गर्न र उखु खेती गर्न लाग्ने लागत खर्च घटाउन भित्रिएको ‘केन हार्वेष्टर’ उपकरणबारे किसानलाई सचेत गराउन अवलोकन भ्रमणको आयोजना गरिएको चिनीमिलका एडवाइजर डि.एन. पण्डेले जानकारी दिए ।

‘केन हार्वेष्टर उपकरणले उखु खेतीमा हुदै आएको ४० प्रतिशत खर्च बचत गर्छ,’ उनले भने, ‘भित्रिएको यो प्रविधीको फाइदाबारे किसानलाई विश्वास दिलाउन भ्रमणको आयोजना गरेका हौं ।’ किसानले प्रविधीबाट कसरी फाईदा हुन्छ र यसबाट हुने फाईदाबारे भ्रमणको क्रममा प्रत्यक्ष जानकारी किसानले पाएको उनले दाबी गरे ।

उनका अनुसार किसानले प्रविधी भित्रियाउन ईच्छा राखुपछि सहकारी संस्था गठन गरेर संस्था मार्फत प्रविधी भित्रियाउन चिनीमिलले पहलकदमी थाल्छ । समुह समुहमो उक्त उपकरण खरीद गरी राखिन्छ । यो उपकरणले एक दिनमा एउटा गाउको उखु काट्ने, ताछ्ने र काटिएको उखु आफै ढुवानी साधनमा लोड गरीदिने काम गर्छ । किसानले उखु खेती गर्न यो उपकरणको मद्दतले बहुउपयोगी
फाईदा लिने उनले जानकारी दिए ।

खुट्टी (पुरानो उखु) र मोरहन (नयाँ उखु) खेती गरी साढे १४ हजार विगहा क्षेत्रफलमा बारा र पर्सामा उखु खेती गरिएको चिनीमिलको केन शाखाले जनाएको छ । आउने सिजनमा समेत नयाँ भेराईटीका उखु खेती गर्ने किसान र खेतीको क्षेत्रफल बढने केन शाखाले अनुमान गरेको छ ।

प्रकाशित : वैशाख ३०, २०७६ ०९:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT