प्रदेशसभा बैठक निजामती विधेयक टेबल

अजित तिवारी

जनकपुर — प्रदेश २ को सरकारले ल्याएको निजामती सेवा गठनसम्बन्धी विधेयक सोमबार प्रदेशसभाको बैठकमा टेबल गरिएको छ । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सरकारको तर्फबाट उक्त विधेयक पेस गरेपछि सर्वसम्मतिले टेबल भएको हो । 

निजामती सेवा गठन सम्बन्धमा बनेको विधेयक पास भए प्रदेश सरकारलाई आफैं कर्मचारी भर्ना गर्ने बाटो खुला हुनेछ । कर्मचारी अभाव झेलिरहेको प्रदेश सरकारले निजामती सेवासम्बन्धी विधेयक प्रदेशसभामा टेबल गराएको हो । प्रदेश २ को सरकारले प्रादेशिक लोकसेवा गठन सम्बन्धमा बनेको विधेयक पनि प्रदेशसभामा टेबल गराइसकेको छ । यी दुवै विधेयक एक-अर्कासँग जोडिएको हो ।


मुख्यमन्त्री राउतले निजामती कर्मचारीका नियुक्त, त्यसको खटनपटन र प्रदेश सरकारको काम अगाडि बढाउन विधेयक वाञ्छनीय रहेको दाबी गरेका छन् । निजामती सेवा गठनसम्बन्धी विधेयकमा अवकाश प्राप्त सरकारी कर्मचारीलाई पनि करारमा छोटो अवधिका लागि नियुक्त गर्न सकिने प्राबधान राखिएको छ । यस्तै, विधेयकमा प्रदेश २ मा रहेको जातजातिको संख्याकै आधारमा आरक्षण प्रतिशत तोकिएको छ ।

प्रदेश २ को सरकारले करारमा कर्मचारी भर्ना गर्न बनेको विधेयक प्रदेशसभाबाट पास गराइसकेको छ । तर, करार भर्ना फ्रक्रिया रोकेर सरकारले निजामती सेवा सम्बन्धमा बनेको विधेयक ल्याएर सिधै सरकारी कर्मचारी नियुत्तिको बाटो रोजेको हो ।


प्रदेश प्रहरी विधेयक पास भए पनि प्रादेशिक लोकसेवा गठन नभएकाले प्रहरी भर्नाको काम पनि रोकिएको छ । यस्तै, सोमबारको प्रदेशसभाको बैठकमा भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले प्रादेशिक सडक निर्माण, सम्भार र विस्तार गर्न बनेको विधेयक पेस गरेका छन् ।


यो विधेयक पनि सर्वसम्मतले टेबल भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश एफएम, रेडियो र टेलिभिजन सञ्चालन सम्बन्धमा बनेको विधेयक संसदीय समितिमा लैजाने प्रस्ताव गरेका छन् ।


विधेयकमाथि दफावार छलफल गर्नुपर्ने भएको भन्दै उनले समितिमा पठाउन प्रस्ताव गरेका हुन् । एफएम, रेडियो र टेलिभिजन सञ्चालन सम्बन्धमा बनेको विधेयकमाथि प्रदेशसभामा आइतबार समान्य छलफल भएको छ ।


छलफलमा सहभागी नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्मा, कांग्रेसका सांसद शिवचन्द्र चौधरी र समाजवादी पार्टीका सांसद रामआशिष यादवले सञ्चारसँग सम्बन्धित विधेयकमा प्रेस स्वतन्त्रताको ख्याल गर्न सरकारसँग आग्रह गरे ।


उनीहरूले लोकतान्त्रिक आन्दोलनमा पत्रकारको भूमिका पनि अग्रणी रहेकाले समाजलाई सूचित गर्ने र सरकारको गलतको कामको खबरदारी गर्ने सञ्चार क्षेत्रलाई दण्ड-जरिवानामा नबाँध्न सजग गराए ।

प्रकाशित : जेष्ठ ८, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?