कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दलित बस्तीमा ठेउलाको प्रकोप

सर्लाही — लालबन्दी नगरपालिका–३, भैरवपुरको दलित बस्तीमा चैतदेखि सुरु भएको ठेउला रोग अझै निको हुन सकेको छैन । रोग बताउँदा द्यौता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण रोग फैलिने क्रम जारी छ ।

ठेउलाबाट भैरवपुरस्थित राम र चमार बस्तीका ४० जना प्रभावित भएको वडाध्यक्ष रामनारायण चौधरीले बताए । स्थानीयले द्यौता रिसाएको भन्दै रोगबारे कहींकतै नभनेको र औषधि उपचारका लागि स्वास्थ्य संस्थामा समेत नगएकाले ढिलो गरी थाहा भएको वडाध्यक्ष चौधरीले बताए । ठेउला रोगबाट दलित बस्तीका महिला र बालबालिका बढी प्रभावित छन् ।


प्रकोपबारे जानकारी पाउनासाथ जनप्रतिनिधि सहित स्वास्थ्य शाखाका संयोजक र प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका चिकित्सकको टोलीले मंगलबार साँझ स्थलगत निरीक्षण गरेको थियो । त्यसक्रममा प्रभावितमध्ये ६ जनाको रगत परीक्षणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) जनकपुर कार्यालयमा पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर चन्दन चौधरीले बताए ।


बिरामीको शरीरका विभिन्न भागमा पानी भरिएको बिबिरा आउने, ज्वरो आउने, आँखा रातो हुनेजस्ता लक्षण देखा परेको चिकित्सकले बताए । नियमित खोप नलगाउँदा र औषधि उपचार नगर्दा ठेउलाको प्रकोप देखा परेको र स्थानीयमा चेतना अभिवृद्धि हुने खालको कार्यक्रम गर्ने तयारी गरिएको लालबन्दी नगरपालिकाले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?