१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

झञ्झावातपीडितका घर बनाउँदै सेना

बारा र पर्सामा गरी १ हजार ४ सय ५३ घर निर्माणको निर्णय भए पनि वास्ताविक प्रभावित कम देखिए
शंकर आचार्य

पर्सा — फेटा गाउँपालिका १ भलुही भरवलियाका ३४ वर्षीय राजेश दास साता यता खुसी छन् । २ महिना अघिको विनाशकारी हुरी बतासले घरबार उडाएर उनको जीवनमा बिपत्ति ल्याएपछि टेन्टको बसाई भए पनि उनी खुसी हुने कारण बनेको छ, उनको आँगनमा सेनाले धमाधम बनाउँदै गरेको घर ।

झञ्झावातपीडितका घर बनाउँदै सेना

एक महिनाभित्रै घर ठड्याउने लक्ष्यका साथ सेनाका जवानले पसिना चुहाई रहँदा उनी पनि होस्टेमा हैंसे गरिरहेका छन् । देशको सुरक्षामा खटिने जवानहरू दूरदराजबाट आएर हाम्रो घर बनाउन गर्मीको राप नभनी खटिएका छन्,’ उनले भने, ‘हामी पनि सेनासँग हातेमालो गरेर आफ्नो घर बनाउन लागि परेका छौं ।’


राजेशका छिमेकी ३० वर्षीय प्रेमचन्द्र दास पनि सरकारले आफूहरू जस्ता हावाहुरी पीडितलाई निःशुल्क घर बनाई दिन लागेकाले खुसी लागेको बताउँछन् । ‘सक्दो छिटो घर तयार भई दिए हुन्थ्यो,’ उनले भने, ‘५ जनाको परिवार गर्मीको सिजनमा एउटै टेन्टमा कोचिएर बस्नु पर्दा साह्रै सकस भइरहेको छ ।’


२ साताअघि पर्सा र बाराका हुरीबतास प्रभावित गाउँमा प्रभावितका लागि घरको शिलान्यास गरिएपछि अहिले सेनाले धमाधम घर बनाइरहेको छ । घर निर्माण गर्न पर्सा र बारामा गरी सेनाका २ वटा कार्यदल सक्रिय छन् । पर्सा कार्यदल प्रमुख एवम् वीरगन्जस्थित चण्डीप्रसाद गणका प्रमुख कर्नेल सृजनबहादुर मल्लले २ जिल्लामा एक दर्जन क्लस्टरमा गरी सेनाले आवास निर्माण गरिरहेको जानकारी दिए ।


पर्साको वीरगन्ज महानगरपालिकाको घुर्मी, जगरनाथपुर, बाराको चैनपुर, खुटवाजब्दी, भलुहीभरवलिया, पचरौता, तेलगाई, हर्दिया, रामपुर्वामा घर निर्माण भइरहेका छन् ।


अधिकांश क्लस्टरमा उत्साहजनक रूपमा काम भइरहेको कर्नेल मल्ल दाबी गर्छन् । ‘कतिपय क्लस्टरमा हामीले एउटा एउटा नमुना घर तयार नै पारिसकेका छौं,’ उनले भने, ‘सरकारले सेनालाई दिएको जिम्मेवारी सेनाले उच्च मनोबलका साथ पूरा गरिरहेको छ, हामी २ चरणमा घर निर्माण गरिरहेका छौं, पहिलो चरणको घर तयार पार्न करिब २६ दिन लाग्छ, समग्रमा वर्षा अघि पीडितहरू आआफ्नो घरमा बस्न पाउन भन्ने लक्ष्यका साथ निर्माण भइरहेको छ ।’ दुवै कार्यदलमा गरी २ हजार ८ सय हाराहारी सेनाका जवान निर्माणमा खटिएका छन् ।


दुवै जिल्लामा गरी सुरुमा १ हजार ४ सय ५३ हुरी प्रभावित घर निर्माणको निर्णय सहितको जिम्मेवारी सरकारले दिएकोमा हाल भने वास्तविक प्रभावितको घर त्योभन्दा कम देखिन आएको उनले बताए । कुनै समस्या तथा विवाद नरहेका प्रभावितहरूको घरको निर्माण जारी रहेको छ ।


समस्या तथा अन्य प्राविधिक कठिनाई रहेकाहरूको हकमा त्यस्ता प्रभावितलाई दाबी गर्न आउने समय शुक्रबारसम्म दिइएको छ । हुरी प्रभावितको पहिचान सहितको सिफारिसका लागि सम्बन्धित वडाका अध्यक्ष, प्रहरी र सेनाको क्याम्प कमान्डर सहितको समिति गठन गरिएको छ ।


ती समितिले दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, भवन निर्माण कार्यालयका प्रमुख, सेनाका बाहिनीपति, मालपोत र नापी कार्यालय प्रमुखसमेत रहेको प्रदेश मुख्य सचिव स्तरीय पुनःस्थापना तथा घर निर्माण सहयोग र समन्वय समितिलाई सिफारिस गर्नेछ ।


त्यसपछि घर निर्माणसम्बन्धी अन्तिम निर्णय जिल्ला विपद व्यवस्थापन समितिले गर्नेछ । निर्माण गरिने घरमा वातावरण मैत्री ब्लक प्रयोग गरिँदैछन् । ब्लक प्रयोग गरिएका घरमा जाडोमा न्यानो र गर्मीमा शितल हुनेछ । भवनको छानो इपिएस नन बर्न रुफ सिट प्रयोग गरिँदै छ । २ कोठे भवनमा बरन्डा, भान्सा र शौचालय समेत हुनेछ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?