कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

नयाँ जीवनको सफलता

सुनिता बराल

बर्दिवास, महोत्तरी — दुवै मिर्गौलाले काम गर्न छाडेपछि बाँचुला भन्ने आश मारेका मनोज सफल व्यवसायी बनेका छन् । डाक्टरले समेत बचाउन सकिँदैन भनेको मानिसको  प्रगति देखेर घरपरिवार, आफन्त र समाज दङ्ग छन् । 

नयाँ जीवनको सफलता

महोत्तरीको बर्दिवास १ मा बस्दै आएका मनोज परियारलाई १० महिनासम्म डाइलोसिस गरेर बचाएकी श्रीमती रेणु परियारले अन्ततः आफ्नै मिर्गौला दिएर बचाइन् । उनलाई ३ वर्षअघि डाक्टरले दुवै मिर्गौला काम नलाग्ने भएर अन्तिम अवस्थामा पुगेको बताएका थिए ।


पत्नी रेणु परियारले पतिलाई बचाउने प्रण गर्दै विराटनगर र भारतको लखनउ लगी ३ महिनासम्म हस्पिटलकै बाँस बसिन् । रेणु ती दिन सम्झिदै भन्छिन्, ‘मुढो जस्तै भएर सुतेका पतिलाई बेला–बेला घचघच्याइरहन्थें, कुन बेला के होला भन्ने डर लागिरहन्थ्यो ।’


काखका दुई सन्तानलाई अरुको भरमा छोडेर उपचारमा भौंतारिएका दम्पतीलाई छोराछोरीको चिन्ताले अर्को रोग पनि थपिएजस्तो हुन्थ्यो । रेणु भन्छिन्, ‘मिर्गौला प्रत्यारोपण गरी उहाँलाई बचाउन सकिन्छ भन्ने भएपछि १० महिनासम्म डाइलोसिस गरेर राखियो, खर्चले धान्न पनि गाह्रो थियो, ती दिन सम्झँदा आँसु अझै थामिँदैन ।


कानुनी प्रक्रियाअनुसार कागजपत्र मिलाएर मैले एउटा मृर्गौला उहाँलाई दिएँ, अहिले हामी दुवै स्वस्थ छौँ, खुसी छौँ ।’ ‘२०७४ साउन २२ गते मेरो पुनर्जन्म भएको हो जस्तो लाग्छ,’ मनोजले भने, ‘बाँच्छु भन्ने आशा थिएन, मेरो त्यो अवस्थाले छोरा–छोरी र श्रीमतीको मलाई धेरै चिन्ता लागि रहन्थ्यो, श्रीमतीले मलाई बचाएरै छोडिन्, जीवनमा अब धेरै प्रगति गर्छु भन्ने आँट र हिम्मत आएको छ ।’


श्रीमतीको मिर्गौला पाएपछि नयाँ जीवन पाएका मनोजले अहिले बर्दिवास बजारको मुख्य राजमार्ग छेउमा बर्दिवास सिट रिपेयरिङ सेन्टर सञ्चालन गरेका छन् । उनले अहिले महिनाको ५० हजारदेखि १ लाखसम्म आम्दानी गर्छन् ।

आर्थिक अवस्था कमजोर भएको मनोजको परिवारको चिन्ता बर्दिवासका धेरै मानिसलाई परेको थियो ।


मनोजको पहिलेको अवस्था सम्झदा अझै दुःख लाग्ने बताउँदै अहिलेकोप्रगति देखेर खुसी लागेको समाजसेवी सारदा दाहालले बताइन् । महिला केन्द्र बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष दाहालले आफ्नो संस्थाको युवा स्वरोजगार कोषबाट सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराएर व्यवसाय गर्न प्रोत्साहन गरेपछि मनोजको जीवन फेरिएको बताइन् ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?